आर्थिक शिथिलतालाई गतिशील बनाउन सक्छ : अध्यक्ष सिरोहिया- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
उज्यालो पूर्व सुरू

आर्थिक शिथिलतालाई गतिशील बनाउन सक्छ : अध्यक्ष सिरोहिया

कान्तिपुर संवाददाता

विराटनगर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रदेश १ ले भारत र चिनियाँ नाकालाई उपयोग गरेर आर्थिक उन्नति गर्न सक्ने बताएका छन् ।

शनिबार विराटनगरमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको उज्यालो पूर्व कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिरोहियाले छिमेकी भारत र चीन‍सँग जोडिएका नाकालाई गतिशिल बनाउँदै बगंलादेशसँगको व्यापारिक सम्बन्ध अझ मजबुत पार्न सके सार्थक हुने बताए ।

उनले भने, 'सबै जुटेर देश विकासमा लाग्न सकिए अहिलेको शिथिल अर्थतन्त्रमा सुधार आउने छ ।'

अहिलेको आर्थिक शिथिलतालाई सुल्झाउन यस्ता कार्यक्रमले स्थानीय सरकार र निजी क्षेत्रबीच पुलको काम गर्न सक्ने बताए ।

v

प्रकाशित : आश्विन ८, २०७९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्

गतिमान् पर्यटन

कोरोनाले शिथिल बनेको पर्यटकीय गतिविधिमा पछिल्लो समय उभार आएको छ, पर्यटक आउन थालेका छन् र हिमाली गन्तव्य पनि पर्यटकमय बन्दै छन् 
भानुभक्त निरौला

सोलुखुम्बु — विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना महामारीले शिथिल बनेको पर्यटन पछिल्लो समय भने व्यवसाय तंग्रिँदै गएको छ । पर्यटकको आवागमनसँगै यस नागरिकले राहत महसुस गरेका छन् । ‘अब त विदेशी आउन सुरु गरेका छन्, ३ वर्षदेखि बन्द होटल बल्ल सुरु हुँदै छ,’ नाम्चेका व्यवसायी छिमिकाल्देन शेर्पाले भने । 

खुम्बु क्षेत्रका ९० प्रतिशत सर्वसाधारण पर्यटनमा आश्रित छन् । अरूले कृषि र पशुपालन गर्छन् । यहाँ कर्मचारी नै राखेर व्यवस्थित रूपमा सञ्चालित सय हाराहारीका होटल छन् । परिवारले नै सञ्चालन गरेका होटलको संख्या ४ सयभन्दा बढी छ ।

कोरोनाका कारण होटल मात्रै नभएर पसल, हवाई क्षेत्र र पदयात्रा व्यवसायीहरूले पनि आर्थिक संकट बेहोर्नुपरेको थियो । ‘ताला लागेका होटल खोलेका छौं, यहाँको आम्दानीको एक मात्र स्रोत पर्यटन भएकाले यहाँका नागरिकको सम्पूर्ण क्रियाकलाप ठप्प थियो, अब भने केही राहत भएको छ,’ नाम्चेका व्यवसायी लामाकाजी शेर्पा भने ।

होटलका अतिरिक्त खुम्बु क्षेत्रमा पसल गर्नेहरू पनि पर्यटक नजाँदा भाडा तिर्नै नसक्ने अवस्थामा पुगेका छन् । नाम्चेमा पर्यटकीय सामानका पसल दर्जनौंको संख्यामा खुलेका छन् । आठ हजार मिटरभन्दा अग्ला ३ हिमाल रहेको खुम्बु क्षेत्रको एक मात्र प्रवेशद्वार लुक्ला विमानस्थल हो ।

हवाई मार्गबाट मात्रै पर्यटक आउने यस क्षेत्रमा वैकल्पिक मार्गका रूपमा रहेको सडक यातायातको विस्तारले भने गति लिन नसक्दा पनि पर्यटकको संख्यामा वृद्धि हुन नसकेको सरोकारवाला व्यवसायी बताउँछन् । सिजनको समयमा प्रतिदिन ६० भन्दा बढी उडान हुने लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा मौसम प्रतिकूलताकै कारण हप्तौंसम्म उडान ठप्प हुने गर्छ, जसकारण पर्यटकको तालिका नै प्रभावित हुने भएकाले पनि उल्लेख्य मात्रामा पर्यटकको संख्या बढ्न नसकेको हो ।

‘खुम्बु जानलाई विमानको विकल्प छैन, मौसम बिग्रिएकै कारण उडान नहुँदा विदेशीले खुम्बु क्षेत्र घुम्ने मन हुँदाहुँदै पनि यसलाई प्राथमिकतामा राख्दैनन्,’ ३५ वर्षदेखि पर्यटन पेसामा संलग्न टिप एन्ड टपटप ट्रेकिङका डाइरेक्टर निमा शेर्पाले भने । राज्यले पर्यटनबाट प्रशस्त लाभ लिए पनि गन्तव्यसम्म पुग्ने सडक मार्ग र पूर्वाधार निर्माणमा ध्यान नदिएको उनको गुनासो छ ।

‘नेपाल आउने पर्यटकहरूबाट मुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुगेको छ । तर विडम्बना, राज्यले विश्वको शिर सगरमाथा जान लुक्लासम्म मात्रै पनि बाटो बनाउन सकेको छैन,’ शेर्पाले भने । सबैभन्दा बढी विमानस्थल रहेको जिल्ला भनेर सोलुखुम्बुलाई चिनिए पनि यहाँको स्याङ्बोचे र काँगेलडाँडा विमानस्थल पूर्ण रूपमा बन्द छन् । फाप्लु विमानस्थल र लुक्लामा मात्रै उडान हुने गरेको छ ।

फाप्लुमा अवतरण गरेका पर्यटक खुम्बु पासाङल्हामु गाउँपालिका–१ थामडाँडासम्मको कच्ची बाटोमा दुःखसुख पुग्छन् । त्यहाँबाट लुक्ला पुग्न एक दिन नै लाग्छ । पर्यटकका लागि लुक्ला विमानस्थलको विकल्प फाप्लु नभई सडक मार्ग नै भएको पर्यटन व्यवसायीको तर्क छ । लुक्ला विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलको सूचीमा अग्रस्थानमा परेको र बारम्बार विमान दुर्घटना हुने गरेकाले पनि विदेशीहरू कम आकर्षित हुने पर्यटन व्यवसायी सोनाम शेर्पाले बताए ।

जिल्लामा पर्यटनसँग जोडिएर नै ट्रेकिङ, हवाई र एक्सपिडिसन जस्ता पेसामा हजारौंले रोजगारी पाएका छन् । सोलुखुम्बुको भ्रमण गर्न सामान्य समयमा वर्षको न्यूनतम ३५ हजार विदेशी पर्यटक आउँछन् । कोरोनाका बेला शून्यमा झरेको पर्यटक आवागमन अहिले भने बढेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानले जनाएको छ ।

‘सामान्य समयमा आउनेभन्दा अहिले बढी पर्यटक आउन थालेका छन्,’ टानका अध्यक्ष नीलहरि बास्तोलाले भने । सोलुखुम्बुलाई मात्रै आधार बनाएर ५ सय ट्रेकिङ कम्पनीले सेवा दिइरहेका छन् । यस क्षेत्रमा वर्षको ५० हजार पर्यटन मजदुरले प्रत्यक्ष रोजगारी पाउने उनको भनाइ छ ।

‘नेपालमा एउटा विदेशी झर्नासाथ ३ जनाले प्रत्यक्ष रोजगारी पाउँछन्,’ उनले भने । खुम्बु क्षेत्रमा बर्सेनि सयौं पर्वतारोही आउँछन् । ‘साहसिक र कीर्तिमानी पर्वतारोहणका लागि उच्च हिमशृंखला यहाँ रहेकाले पनि विदेशी पर्वतारोहीको आकर्षण बढ्ने गरेको हो,’ नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पाले भने । पर्वतारोहणमा आउने पर्यटकको पहिलो रोजाइ सोलुखुम्बु नै हुन्छ ।

यसबाहेक जिल्लाको तल्लो क्षेत्रमा पनि हिमदृश्यवालोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तल्लो क्षेत्र झाँझरे, पत्ताले, सेलगुडी, पिके, मेरा, दूधकुण्ड जस्ता पहाडका चुचुरामा पर्यटक आउने गरेका छन् । पर्यटकको आवागमनलाई हेरेर पालिकाहरूले आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएका छन् ।

‘स्थलमार्गमार्फत जिल्ला प्रवेश गर्ने प्रमुख नाका पत्ताले बजारमा पर्यटकीय पार्क निर्माणलाई गति दिएका छौं,’ सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले भने । थुलुङदूधकोसी गाउँपालिकाले पनि पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षणको कामलाई अगाडि बढाएको छ । ‘तल्लो क्षेत्रको पर्यटकीय क्षेत्र सुकेपोखरी संरक्षणको काम धेरै अघि बढिसकेको छ,’ गाउँपालिका अध्यक्ष असिम राईले भने ।

उच्च हिमाली क्षेत्रबाट बग्ने हिमनदीबाट बिजुली निकाल्न जलविद्युत् आयोजना बनाउने क्रम पनि बढेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताले यस क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका छन् ।

प्रकाशित : आश्विन ८, २०७९ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×