कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भोटखोलाको यात्रा

केही समयअघिसम्म भरिया र खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ओसार्नुपर्थ्यो, अहिले हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन्, दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुँदा सस्तो पर्छ
दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिका–१ का नुर्बु भोटे केही वर्षअघिसम्म तिब्बतको चाँगा बजारको भर पर्थे । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा उतैबाट ल्याउनुपर्थ्यो । सदरमुकाम आउन पनि वर्षमा एक पटकजसो मौका जुर्थ्यो । 

भोटखोलाको यात्रा

‘किमाथांकाबाट सदरमुकाम खाँदबारी आउन कम्तीमा ७ दिन हिँड्नुपर्ने भएपछि भोटखोलावासीको आउजाउ धेरै कम थियो,’ उनले भने, ‘केही वर्षयता खाँदबारीबाट ८२ किलोमिटरसम्म कच्ची सडकमा साना सवारी गुड्न थालेपछि धेरै सहज छ ।’

भोटखोलावासीलाई यातायातको सुविधाले केही राहत दिएको छ । यहाँको हटिया गोलाबाट सदरमुकामसम्म हिउँदका बेला सवारीसाधन गुड्छन् । स्थानीय ८ घण्टामा गोलाबाट सदरमुकाम आइपुग्छन् । गोलाबाट भने हटिया, चेपुवा र किमाथांका हिँड्नैपर्छ । नुर्बुका अनुसार यातायातका साधन नचल्दा चाँगा बजारको भरमा किमाथांका, चेपुवा र हटियाका बासिन्दाले जीवन गुजारा गर्न परिरहेको थियो । सदरमुकामबाट १० दिन भारी बोकाएर नुन, तेल र चामल लगेको अझै उनको सम्झनामा छ ।

तीन वर्षअघि मात्रै हटिया गोलासम्म सडक सञ्जाल जोडिएको हो । खाँदबारी–किमाथांका सडकको लम्बाइ १ सय ६२ किमि हो । उनका अनुसार सडकले किमाथांका–खाँदबारी जोडिन १३ किमि मात्रै बाँकी छ । यो खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । भीर र चट्टान भएका कारण सडकको डोब खनिसके पनि यातायात चल्ने अवस्था छैन । ‘८२ किमि मात्रै सडकमा गाडी गुड्दा पनि स्थानीयलाई धेरै सजिलो भएको छ,’ उनले भने, ‘हाम्रो भोटखोला पनि समृद्धिको बाटोमा लम्कँदै छ ।’

उत्तरी नाका तीन वर्षदेखि बन्द भएपछि यतिबेला भोटखोलावासी खाद्यान लगायतका सामग्री सदरमुकामबाटै लैजान्छन् । हटियाका थुदोक भोटेको पनि हिजोआज दिनचर्या फेरिएको छ । पहिले हटियाबाट सदरमुकाम खाँदबारी आउनुपर्दा उनलाई तीन दिन मज्जाले हिँड्नुपर्थ्यो । कच्ची सडकको ट्र्याक खुलेपछि थुदोक मोटरसाइकलबाटै आउजाउ गर्छन् ।

हेदांनाका देउमान राई पनि कच्ची सडक घरसम्म पुगेपछि सदरमुकाम खाँदबारीसम्म आवागमन गर्न सहज भएको बताउँछन् । उत्तरी गाउँमा कच्ची सडक जोडिएपछि गाडी चल्न थालेका छन् । यो सडक खण्ड विराटनगरको रानीबाट सीमावर्ती किमाथांकासम्म जोड्ने कोसी राजमार्ग हो ।

ट्र्याक्टर, साना जिप र मोटरसाइकलले भोटखोलावासीको दिनचर्या बदलिएको छ । कच्ची सडक भए पनि हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन् । दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुन्छ । ‘केहीअघिसम्म खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो,’ थुदोकले भने, ‘ढुवानी भाडा एकदमै महँगो हुन्थ्यो, गाउँमा किनेर खाइसक्नु थिएन, गाडीबाट ढुवानी हुन थालेपछि सस्तो भएको छ ।’

गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म हिँउद र वर्षामा पनि साना जिपबाट सेवा दिएका छन् । खाँदबारी नुम हटिया सडकमा दैनिक ठूला–साना गरी दुई दर्जनभन्दा बढी सवारी गुड्ने पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा अधिकांश गाउँमा पुग्ने गरी सडक निर्माण गरेको छ ।

सदरमुकाम खाँदबारीबाट करिब १ सय ३३ किलोमिटर र किमाथांकाबाट १२ किलोमिटर कच्ची सडक निर्माण भइसकेको उत्तर दक्षिण कोसी योजनाले जनाएको छ । बाँकी सडक निर्माण भए किमाथांका जोडिनेछ ।

त्रिदेशीय लिंकका रूपमा रहेको यो सडकलाई सरकारले समेत विशेष महत्त्वका साथ हेरिरहेको प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले बताए । जसरी पनि किमाथांकासम्म सडक खोल्ने उनको भनाइ छ । यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक पनि हो । स्थानीय तहको पुनःसंरचनापछि यस क्षेत्रमा जनसंख्या बाक्लिँदो छ । शान्ति प्रक्रियापछि घर निर्माण क्रम वृद्धि भए पनि व्यवस्थित बसोबासको योजना भने छैन ।

भोटखोलाबाट बग्दै आएको अरुणको पानीबाट विद्युत् उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणले काम अघि बढाएपछि त्यहाँका बासिन्दामा धेरै खुसी छाएको छ । भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे पुस्तौंदेखि कष्टकर जीवन बिताइरहेका स्थानीयमा जलविद्युत् आयोजना निर्माणले थप आशा जगाएको बताए । भोटखोला क्षेत्रमा भएको माथिल्लो अरुण १ हजार ६१, तल्लो अरुण करिब ५ सय र किमाथांका अरुणबाट ४ सय मेगावाटभन्दा बढीको विद्युत् उत्पादन हुन्छ ।

संखुवासभाको उत्तरी भेगका जनता र चीनको सीमावर्ती गाउँवासीबीच व्यापारिक सम्बन्ध पनि दिनानुदिन विकसित हुँदै आएको छ । पहिलेपहिले हिमाली क्षेत्रका बासिन्दा आवश्यकताका वस्तु विनिमयका लागि आउनेजाने गरेको खाँदबारीका जीवनाथ खनाल बताउँछन् ।

‘अहिलेसम्म किमाथांका नाकाबाट जनस्तरमा सीमित परिमाणमा नुन, तेल, लत्ताकपडा आयात हुन्छ,’ उनले भने, ‘समयसँगै समाज र व्यक्तिका आवश्यकताअनुसार भोटखोला व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।’

प्रकाशित : आश्विन ८, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?