भोटखोलाको यात्रा- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोटखोलाको यात्रा

केही समयअघिसम्म भरिया र खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ओसार्नुपर्थ्यो, अहिले हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन्, दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुँदा सस्तो पर्छ
दीपेन्द्र शाक्य

संखुवासभा — भोटखोला गाउँपालिका–१ का नुर्बु भोटे केही वर्षअघिसम्म तिब्बतको चाँगा बजारको भर पर्थे । दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा उतैबाट ल्याउनुपर्थ्यो । सदरमुकाम आउन पनि वर्षमा एक पटकजसो मौका जुर्थ्यो । 

‘किमाथांकाबाट सदरमुकाम खाँदबारी आउन कम्तीमा ७ दिन हिँड्नुपर्ने भएपछि भोटखोलावासीको आउजाउ धेरै कम थियो,’ उनले भने, ‘केही वर्षयता खाँदबारीबाट ८२ किलोमिटरसम्म कच्ची सडकमा साना सवारी गुड्न थालेपछि धेरै सहज छ ।’

भोटखोलावासीलाई यातायातको सुविधाले केही राहत दिएको छ । यहाँको हटिया गोलाबाट सदरमुकामसम्म हिउँदका बेला सवारीसाधन गुड्छन् । स्थानीय ८ घण्टामा गोलाबाट सदरमुकाम आइपुग्छन् । गोलाबाट भने हटिया, चेपुवा र किमाथांका हिँड्नैपर्छ । नुर्बुका अनुसार यातायातका साधन नचल्दा चाँगा बजारको भरमा किमाथांका, चेपुवा र हटियाका बासिन्दाले जीवन गुजारा गर्न परिरहेको थियो । सदरमुकामबाट १० दिन भारी बोकाएर नुन, तेल र चामल लगेको अझै उनको सम्झनामा छ ।

तीन वर्षअघि मात्रै हटिया गोलासम्म सडक सञ्जाल जोडिएको हो । खाँदबारी–किमाथांका सडकको लम्बाइ १ सय ६२ किमि हो । उनका अनुसार सडकले किमाथांका–खाँदबारी जोडिन १३ किमि मात्रै बाँकी छ । यो खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । भीर र चट्टान भएका कारण सडकको डोब खनिसके पनि यातायात चल्ने अवस्था छैन । ‘८२ किमि मात्रै सडकमा गाडी गुड्दा पनि स्थानीयलाई धेरै सजिलो भएको छ,’ उनले भने, ‘हाम्रो भोटखोला पनि समृद्धिको बाटोमा लम्कँदै छ ।’

उत्तरी नाका तीन वर्षदेखि बन्द भएपछि यतिबेला भोटखोलावासी खाद्यान लगायतका सामग्री सदरमुकामबाटै लैजान्छन् । हटियाका थुदोक भोटेको पनि हिजोआज दिनचर्या फेरिएको छ । पहिले हटियाबाट सदरमुकाम खाँदबारी आउनुपर्दा उनलाई तीन दिन मज्जाले हिँड्नुपर्थ्यो । कच्ची सडकको ट्र्याक खुलेपछि थुदोक मोटरसाइकलबाटै आउजाउ गर्छन् ।

हेदांनाका देउमान राई पनि कच्ची सडक घरसम्म पुगेपछि सदरमुकाम खाँदबारीसम्म आवागमन गर्न सहज भएको बताउँछन् । उत्तरी गाउँमा कच्ची सडक जोडिएपछि गाडी चल्न थालेका छन् । यो सडक खण्ड विराटनगरको रानीबाट सीमावर्ती किमाथांकासम्म जोड्ने कोसी राजमार्ग हो ।

ट्र्याक्टर, साना जिप र मोटरसाइकलले भोटखोलावासीको दिनचर्या बदलिएको छ । कच्ची सडक भए पनि हिउँदका बेला साना सवारी र ट्र्याक्टर गुड्छन् । दैनिक उपभोग्य सामग्रीसमेत गाडीबाटै ढुवानी हुन्छ । ‘केहीअघिसम्म खच्चडको भरमा दैनिक उपभोग्य सामग्री ल्याउनुपरेको थियो,’ थुदोकले भने, ‘ढुवानी भाडा एकदमै महँगो हुन्थ्यो, गाउँमा किनेर खाइसक्नु थिएन, गाडीबाट ढुवानी हुन थालेपछि सस्तो भएको छ ।’

गाउँपालिकाको आग्रहमा यातायात व्यवसायीले खाँदबारीबाट हटियाको गोलासम्म हिँउद र वर्षामा पनि साना जिपबाट सेवा दिएका छन् । खाँदबारी नुम हटिया सडकमा दैनिक ठूला–साना गरी दुई दर्जनभन्दा बढी सवारी गुड्ने पावाखोलाका शिक्षक जितबहादुर श्रेष्ठले बताए । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा अधिकांश गाउँमा पुग्ने गरी सडक निर्माण गरेको छ ।

सदरमुकाम खाँदबारीबाट करिब १ सय ३३ किलोमिटर र किमाथांकाबाट १२ किलोमिटर कच्ची सडक निर्माण भइसकेको उत्तर दक्षिण कोसी योजनाले जनाएको छ । बाँकी सडक निर्माण भए किमाथांका जोडिनेछ ।

त्रिदेशीय लिंकका रूपमा रहेको यो सडकलाई सरकारले समेत विशेष महत्त्वका साथ हेरिरहेको प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले बताए । जसरी पनि किमाथांकासम्म सडक खोल्ने उनको भनाइ छ । यो भारत, नेपाल हुँदै चीन जोड्ने सबैभन्दा छोटो सडक पनि हो । स्थानीय तहको पुनःसंरचनापछि यस क्षेत्रमा जनसंख्या बाक्लिँदो छ । शान्ति प्रक्रियापछि घर निर्माण क्रम वृद्धि भए पनि व्यवस्थित बसोबासको योजना भने छैन ।

भोटखोलाबाट बग्दै आएको अरुणको पानीबाट विद्युत् उत्पादन गर्न नेपाल विद्युत् प्राधिकरणले काम अघि बढाएपछि त्यहाँका बासिन्दामा धेरै खुसी छाएको छ । भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटे पुस्तौंदेखि कष्टकर जीवन बिताइरहेका स्थानीयमा जलविद्युत् आयोजना निर्माणले थप आशा जगाएको बताए । भोटखोला क्षेत्रमा भएको माथिल्लो अरुण १ हजार ६१, तल्लो अरुण करिब ५ सय र किमाथांका अरुणबाट ४ सय मेगावाटभन्दा बढीको विद्युत् उत्पादन हुन्छ ।

संखुवासभाको उत्तरी भेगका जनता र चीनको सीमावर्ती गाउँवासीबीच व्यापारिक सम्बन्ध पनि दिनानुदिन विकसित हुँदै आएको छ । पहिलेपहिले हिमाली क्षेत्रका बासिन्दा आवश्यकताका वस्तु विनिमयका लागि आउनेजाने गरेको खाँदबारीका जीवनाथ खनाल बताउँछन् ।

‘अहिलेसम्म किमाथांका नाकाबाट जनस्तरमा सीमित परिमाणमा नुन, तेल, लत्ताकपडा आयात हुन्छ,’ उनले भने, ‘समयसँगै समाज र व्यक्तिका आवश्यकताअनुसार भोटखोला व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।’

प्रकाशित : आश्विन ८, २०७९ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्

सुधारको बाटोमा उदयपुर सिमेन्ट

गोपीकृष्ण न्यौपाने

गैंडा सिमेन्ट । यति भनेपछि उत्पादन उदयपुर सिमेन्ट उद्योग हो भनिरहनु पर्दैन । स्थापनाको पाँच वर्षपछि २०४९ देखि यो उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको हो । जापान सरकारले निर्माण गरिदिएको यो उद्योग २०५१ मा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो ।

पुरानो उद्योग, पुराना मेसिन । दैनिक १६ हजार ८ सय बोरा उत्पादन गर्नुपर्नेमा उद्योग चल्नेभन्दा ब्रेकडाउनको समय बढी हुन्थ्यो । म महाप्रबन्धक भएर आइपुग्दा सिमेन्ट उत्पादन औसत दैनिक ३ हजार ५ सय बोरा मात्रै थियो ।

इन्धन र श्रमको लागत बढी उत्पादन थोरै थियो । मसँग उद्योगमा काम गरेको अनुभव भएकाले सबैभन्दा पहिला उत्पादन बढाउन भारतबाट कन्सल्ट्यान्ट बोलाएर मिल मेसिनरी मर्मत–सम्भार गराएँ । आर्थिक वर्ष २०७७/७८ को पछिल्लो ६ महिनामा उत्पादन सुधार भए पनि अघिल्लो ६ महिनामा उत्पादन हुन नसकेकाले ३० करोड नोक्सानी व्यहोर्नुपरेको थियो । तर, आव २०७८/७९ मा उद्योग ‘ब्रेक इभन’ भन्दा माथि अर्थात् मुनाफातर्फ उन्मुख भइसकेको स्थिति छ ।

सरकारी उद्योग भएकाले उत्पादित सिमेन्ट बिक्रीमा झन्झटिलो प्रक्रिया पाएँ । सीमितलाई मात्रै सिमेन्ट बिक्रीका लागि डिलर दिने, डिलरका लागि बैंक ग्यारेन्टीलाई मान्यता नदिने, निश्चित समयमा मात्रै डिलरका लागि आह्वान गर्ने, नवीकरणमा झन्झटिलो र रकम तिनुपर्ने जस्ता बिक्रीमा समस्या थिए ।

तर पछिल्लो समय निजी क्षेत्रका सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । सिमेन्ट बिक्रीमै सिन्डिकेट लगाउँदा प्रतिस्पर्धा गर्न सक्ने कुरै भएन । त्यसैले म आएपछि बिक्री नीतिमा परिमार्जन गरें । २०७७ को माघमा म उद्योगमा पुग्दा कोइला, जिप्सम आदि कच्चा पदार्थको भुक्तानी बराबरको सिमेन्ट दिने अर्थात् वस्तु विनिमय प्रथा लागू थियो । तत्काल बिक्री नीति २०७७ लागू गरी अधिकृत बिक्रेतालाई इन्सेन्टिभ दिने व्यवस्था मिलाएपछि अधिकृत बिक्रेता सक्रिय भए ।

बिक्री विभाग प्रमुखसहित हरेक अधिकृत बिक्रेताकहाँ पुगेर स्किमहरूको जानकारी गराएपछि हालसम्म प्रदेश १, मधेस प्रदेश तथा काठमाडौं उपत्यकामा गरी १ सय ५० अधिकृत बिक्रेतामार्फत गैंडाछाप सिमेन्टको बिक्रीवितरण हुँदै आइरहेको छ । आव २०७८/७९ मा २४ लाख बोरा बिक्री गर्ने लक्ष्य रहेकोमा २१ लाख ७२ हजार ४ सय १९ बोरा बिक्री भई लक्ष्यको ९०.२५ प्रतिशत उपलब्धि हासिल भएको छ । चालु आव २०७९/८० मा २५ लाख बोरा सिमेन्ट बिक्रीको लक्ष्य छ । गैंडाछाप सिमेन्टको मूल्यलाई हेरेर निजी क्षेत्रका सिमेन्ट उद्योगहरूले मूल्यवृद्धि गर्छन् । आम नागरिकले सस्तोमा सिमेन्ट पाऊन् भन्ने उद्देश्यले चालु आवमा समेत साबिककै बिक्री मूल्य कायम गर्ने योजना छ ।

उद्योगलाई नाफामा लैजाने उद्देश्यले खर्चमा नियन्त्रण तथा मितव्यियता अपनाइएको छ । उत्पादन वृद्धि गरी बिक्री बढाएर वा खर्च कटौती गरेर उद्योगलाई मुनाफामा लैजान सकिन्छ भनेर मैले बुझेकाले उत्पादन वृद्धि गर्नुको साथसाथै आव २०७७/७८ मा ३० करोड नोक्सानी रहेकोमा आव २०७९/८० मा अघिल्ला वर्षहरूको तुलनामा व्यापक रूपमा खर्च कटौती गरी उद्योगलाई ‘ब्रेक इभन प्वाइन्ट’ मा पुर्‍याउन सफल भएको छु ।

मूलतः कोइला र डिजेलको मूल्य दोब्बरभन्दा बढी वृद्धि भएकाले खर्च नियन्त्रण वृद्धि गर्नॅको अर्को विकल्प देखिँदैन । त्यसैले त्यसतर्फ पनि पहल भइरहेको छ ।

उद्योगलाई प्रभावकारी तरिकाले सञ्चालन गर्न सुशासनतर्फ जोड दिइएको छ । सार्वजनिक खरिद ऐन, नियम तथा उद्योगको आर्थिक प्रशासन विनियमावलीको पालना गर्दै गुणस्तरीय आपूर्ति व्यवस्थापन गर्ने सिस्टम बसेको छ । १५ वर्षदेखि उद्योगको साधारणसभा भएको रहेनछ । बाँकी साधारणसभाहरू सम्पन्न गरी स्थापनाकालदेखि आव २०७७/७८ सम्मको सम्पूर्ण अभिलेख कम्पनी रजिस्ट्रारको कार्यालयमा अभिलेखीकरण गरिएको छ, सेयर लगत प्रमाणित भएको छ ।

उद्योगको लिलाम भइसकेको २ कट्ठा १७ धुर जग्गा फिर्तासहित करिब १९ बिघा जग्गा फुकुवा भएको छ । संगठन तथा जनशक्ति सर्भे सम्पन्न गरी दरबन्दी कम भएको छ । सांगठानिक ढाँचा नयाँ कायम भएको छ । पत्रुहरू अत्यन्त पारदर्शी हिसाबले लिलाम बिक्री गरी ५ करोड ४९ लाख आयआर्जन भएको छ । सरकारी अनुदान रकम छुट्याएर छुट्टै बैंक खातामा राखिएको छ । मुद्दा मामिला फर्छ्योट गर्ने काम भइरहेको छ ।

शून्य रहेको कर्मचारी अवकाश कोषमा १५ करोड रुपैयाँ जम्मा गरी भुक्तानी गरिएको छ । कर्मचारी कल्याण कोषको सुरुवात भएको छ । भुक्तानी प्रक्रियालाई नियमित गरिएको छ । उद्योग परिसरमा वर्षौंदेखि गाडिएर राखिएका करिब ६ हजार २ सय टन कोइला उत्खनन गरी पुनः प्रयोगमा ल्याइएको छ । कोइलाको अभाव तथा भाउ वृद्धिको वर्तमान अवस्थामा यो निकै महत्त्वपूर्ण साधन र स्रोतको उपयोग भएको छ ।

उद्योगलाई अझ परिस्कृत गरी पूर्ण रूपमा सञ्चालन गर्न ५६ करोड थप लगानी गरी दैनिक २२ हजार ८ सय बोरा उत्पादन गर्न क्षमता विस्तार गर्ने योजना छ ।

साथै, ३० वर्षको अवधिमा ६ प्रतिशत मात्रै उत्खनन गरेको चुनढुंगा खानीको उपयोग गर्न अर्को क्लिंकर तथा सिमेन्ट उत्पादन गर्न उद्योग स्थापना गर्ने दीर्घकालीन लक्ष्य छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस उद्योगले वातावरणीय असर पर्न सक्ने यस क्षेत्रका नागरिकहरूलाई शिक्षा, स्वास्थ्य, विकास निर्माणमा सहयोग पुगोस् भन्ने हेतुले प्रतिबोरा २ रुपैयाँ ५० पैसाको दरले आव २०७८/७९ मा ५४ लाख ३१ हजार रकम प्रदान गरेको छ ।

-( उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपानेसँग कान्तिपुरकर्मी डिल्लीराम खतिवडासँगको संवादमा आधारित)

प्रकाशित : आश्विन ८, २०७९ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×