१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संघीय सरकारले खारेज गरेका कृषि ज्ञान केन्द्र स्थापना गर्दै प्रदेश सरकार

संघीय सरकारले खारेज गरिसकेका जिल्ला र निर्देशनालय कार्यालयहरू प्रदेश सरकारले स्थापना गरी सञ्चालन गर्दै आएकोप्रति महालेखा परीक्षकको कार्यालयले वर्षेनि प्रश्न उठाउँदै
देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले किसानलाई विशेषज्ञ सेवा प्रदान गर्न यस प्रदेशस्थित १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरी सञ्चालन गर्न लागेको छ । संघीय सरकारले खारेज गरिसकेका जिल्ला र निर्देशनालय कार्यालयहरू प्रदेश सरकारले स्थापना गरी सञ्चालन गर्दै आएकोप्रति महालेखा परीक्षकको कार्यालयले वर्षेनि प्रश्न उठाउँदै आएको छ । 

संघीय सरकारले खारेज गरेका कृषि ज्ञान केन्द्र स्थापना गर्दै प्रदेश सरकार

प्रदेश सरकारले मोरङमा शुक्रबार कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना गरेको छ । कृषिमन्त्री झलकबहादुर मगरले एक कार्यक्रमबीच ज्ञान केन्द्रको उद्घाटन गरेका छन् । तेह्रथुममा असोज ९ गते र ताप्लेजुङ असोज १० गते ज्ञान केन्द्र स्थापना गरिने कृषि मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए । मन्त्रिपरिद्को २०७८ माघ २३ गतेको निर्णय बमोजिम चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएपछि ज्ञान केन्द्र स्थापना गरिएको उनले बताए ।

यसअघि सुनसरी र मोरङ दुई जिल्ला कार्यक्षेत्र रहने गरी कृषि ज्ञान केन्द्र सुनसरीको इनर्वामा स्थापना गरिएको थियो । ज्ञान केन्द्र सुनसरीमा स्थापना गरे पनि मोरङमा इकाई कार्यालय स्थापना गरेर कामकाज सञ्चालन गर्दै आएको थियो । कृषि ज्ञान केन्द्र मोरङका लागि ८ करोड ३ लाख बजेट चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

मन्त्री मगरले यस प्रदेशको प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापनाले किसानहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गरेका हुन् । उनले किसानलाई विशेषज्ञ सेवा प्रदान गर्न कुनै किसिमको त्रुटि नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

महालेखा परीक्षकको प्रतिवेदनमा वर्षेनि संघीय सरकारले खारेज गरिसकेको जिल्ला कार्यालय र निर्देशनालय प्रदेश सरकारले स्थापना गरी सञ्चालन गरेको प्रति प्रश्न उठाउँदै आएको छ । प्रतिवेदनमा स्थानीय तहले प्रवाह गर्ने सेवा प्रदेश सरकारले जिल्ला कार्यालय र निर्देशनालय स्थापना गरेर प्रवाह गर्नु संविधानको मर्म विपरीत भएको भन्दै महालेखाले प्रश्न उठाउँदै आएको हो ।

यसअघि लेखा र प्रशासनको कर्मचारी अभाव हुनुका साथै आर्थिक मितव्ययिताका लागि २ वटा कार्यालय खारेज र कृषिअन्तर्गतका फार्म क्षेत्रका ५ वटा कार्यालय गत माघ २३ गतेको मन्त्रिपरिषद्को निर्णयले प्रदेश सरकारले समायोजन गरेका थिए । आर्थिक मितव्ययिता कायम गर्न कार्यालय खारेज र समायोजन गरेका प्रदेश सरकारले चालु आबमा पुनः तीन वटा कार्यालय स्थापना गरेको हो ।

वागवानी केन्द्र जौवारीलाई कृषि ज्ञान केन्द्र इलाममा र वागवानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गालाई कृषि ज्ञान केन्द्र झापामा प्रदेश सरकारले समायोजन गरेको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?