म्यादी प्रहरीमा युवाको आकर्षण

देवनारायण साह

मोरङ — ग्राममथान गाउँपालिका ७ की १८ वर्षीया अम्बिका माझीले कक्षा १२ उत्तीर्णपछि फुर्सदको समय उपयोग गर्न बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दर्ता गराइन् । उनले स्नातक तहमा भर्ना हुन केही समय लाग्ने भएकाले अहिले समय सदुपयोग गर्न आवेदन दर्ता गराएको बताइन् । 

म्यादी प्रहरीमा युवाको आकर्षण

यस्तै, सुनबर्षी नगरपालिका २ की १८ वर्षीया पार्वती राजवंशीले पनि कक्षा १२ उत्तीर्ण भएपछि फुर्सदलाई सदुपयोग गर्न म्यादी प्रहरीका लागि आवेदन दर्ता गराइन् । उनले सरकारी जागिरको अनुभूतिका साथै प्रहरीको अनुशासित जीवन अनुभव लिन म्यादी प्रहरीमा भर्ना हुन चाहेको बताइन् ।

माझी र राजवंशीजस्तै कक्षा १२ उत्तीर्ण गरेका जहदा २ का अनिल मण्डलले पनि म्यादी प्रहरीमा आवेदन दर्ता गराएका छन् । उनले भने,'म्यादी प्रहरीमा छनोट हुन सफल भएँ भने स्नातक तह अध्ययनका लागि आर्थिक सहयोग हुने उद्देश्यले आवेदन दर्ता गराएको हुँ ।'

उर्लाबारी बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत उर्लाबारी ९ का १९ वर्षीय उत्तम कार्की र पवन अधिकारीले सँगै म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दर्ता गराएका छन्। उनीहरुले पढाईका लागि आर्थिक सहयोग जुटाउनुका साथै शारीरिक सुगठनको तरिका सिक्ने उद्देश्यले आवेदन दर्ता गराएको बताए । बीबीएस द्वितीय वर्षमा अध्ययनरत सुनसरीको बर्जु गाउँपालिका २ का आनन्द रायले पढेपछि सरकारी जागिर हुने नहुने निश्चित नभएकाले सरकारी जागिरको अनुभव लिन म्यादी प्रहरीमा आवेदन दर्ता गराएको बताए ।

म्यादी प्रहरीमा ४० दिन काम गरेपछि ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, ७ हजार २ सय रासन खर्च, ६ हजारको पोसाक, तयारी खर्च १ हजार र मतदानको समयमा चार दिनको दैनिक ३ सयका दरले खाजा भत्ता पाउनुका साथै देशको सेवा पनि हुने भएकाले आवेदन दिएको उनले बताए । म्यादी प्रहरीका लागि आवेदन दिन किशोरकिशोरीको आकर्षण देखिएको छ । बिहीबार आवेदन दर्ताका लागि लाइन बसेकामध्ये झन्डै ८० प्रतिशत किशोरकिशोरी नै थिए ।

स्थानीय सामाजिक अभियन्ता सञ्जीव चापागाईंले अहिले समाज परिवर्तनसँगै म्यादी प्रहरीमा किशोरकिशोरीको संख्या उल्लेख्य रहेको बताए । ‘अहिलेका किशोरकिशोरीहरु समय खेर फाल्न चाहँदैनन्, उनीहरु समय उपयोग गर्न चाहेको उदाहरण म्यादी प्रहरीमा आवेदन दर्ता हो,’ उनले भने, ‘अहिलेका किशोर किशोरीहरुले पैसाबिना केही हुन नसक्ने बुझेकाले पैसामुखी बन्दै गएका छन् ।’ किशोर, किशोरीहरुमा ‘टाइम इज मनी’भन्ने चेत खुलिसकेकाले पढाईसँगै आयआर्जनमा लाग्ने गरेको विराटनगरमा अनेकौं उदाहरण रहेको चापागाईंको भनाइ छ ।

जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बुधबारसम्ममा म्यादी प्रहरीका लागि ७ हजारले आवेदन दर्ता गराएको बताए । उनका अनुसार म्यादीका आवेदकको अन्तिम तथ्यांक भने आउन बाँकी छ ।

उनले स्थानीय तह निर्वाचनदेखि म्यादी प्रहरीमा काम गर्नेलाई अन्तर्वार्ता लिएर छनोट गर्ने व्यवस्था गरिएको सुनाए । स्थानीय तह निर्वाचनमा मोरङमा ३ हजार ५ सय म्यादी प्रहरी भर्ना गरिएको तर प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कति म्यादी प्रहरी भर्ना गर्ने भन्ने एकीन भइनसकेको कोइरालाले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?