अपांगता भएका व्यक्तिका लागि रोजगार मेला

देवनारायण साह

मोरङ — अपांगता भएका व्यक्तिहरूका लागि विराटनगरमा पहिलोपल्ट रोजगार मेला आयोजना गर्न लागिएको छ । यो मेलाले प्रदेश १ स्थित औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरूलाई अपांगमैत्री बनाउनुका साथै अपांगता भएका व्यक्तिहरूप्रतिको नकारात्मक दृष्टिकोण हटाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । 

अपांगता भएका व्यक्तिका लागि रोजगार मेला

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १, द लेप्रोसी मिसन नेपाल, राष्ट्रिय अपांग महासंघ प्रदेश १ र करुणा फाउन्डेसनको सहयोगमा कार्तिक १८ र १९ गते विराटनगरस्थित जैन भवनको प्रांगणमा मेला आयोजना गर्न लागिएको छ । मेलामा प्रदेश १ स्थित मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, पाँचथर, भोजपुर र संखुवासभाका अपांगता भएका ३ सय व्यक्तिहरूलाई यस प्रदेशस्थित औद्योगिक, व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, बैंकिङ तथा विकास क्षेत्रमा रोजगार दिने उद्देश्य रहेको द लेप्रोसी मिसन नेपालअन्तर्गतका फाउन्ड परियोजनाका अध्यक्ष विपिन दासले बताए ।

‘मेला सहभागिताका लागि यस प्रदेशका ती ७ जिल्लाबाट ७ सय २९ जनाको नाम सूचीकृत भएको भए पनि त्यसमध्ये योग्यता र क्षमताका आधारमा रोजगारीका लागि योग्य तीन सय जनाको बायोडेटा तयार पारेका छौं,’ उनले भने, ‘तीन सय जनालाई ९ वटा क्षेत्रमा रोजगारीका लागि सूचीकृत गरेका छौं ।’

रोजगार मेलामा सहभागी हुने अपांगता भएका व्यक्तिहरूलाई रोजगारी, काम गर्ने तरिका र रोजगारीको दिगोपनका लागि अभिमुखीकरण तालिमसमेत दिएको दासले बताए । रोजगारीमा जानका लागि अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्रीसमेत परियोजनाले प्रदान गरी काम गर्न योग्य बनाएर मात्रै मेलामा सहभागी गराउने उनको भनाइ थियो ।

उनले तेह्रथुम, उदयपुर, काठमाडौंलगायत जिल्लाबाट पनि अपांगता भएका व्यक्तिहरुले मेलामा सहभागी भएर रोजगारदाताहरुसँग रोजगारीका लागि प्रत्यक्ष रुपमा छलफल गर्न खुल्ला गरिएको बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?