शिविरमार्फत भत्ता वितरण- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिविरमार्फत भत्ता वितरण

डम्बरसिं राई

खोटाङ — दसैं नजिकिँदै जाँदा साकेला गाउँपालिकाले शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वृद्धवृद्धालाई बैंकमा आएर रकम भुक्तानी गर्न समस्या हुने भएकाले पायक पर्ने ठाउँमा शिविरमार्फत वितरण सुरु गरिएको हो ।

बिहीबार उक्त गाउँपालिका–१ बाँझेच्याडाँडाको डाँडागाउँस्थित चण्डेश्वरी प्राविमा शिविर सञ्चालन गरिएको साकेला गाउँपालिका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताए । उनका अनुसार ७५ जनालाई लाभग्राहीलाई १० लाख २५ हजार वितरण गरिएको छ ।

बुधबार पनि बाँझेच्यानडाँडास्थित वडा कार्यालयमा शिविर सञ्चालन गरिएको थियो । उक्त दिन ८२ जना लाभग्राहीलाई १२ लाख ९२ वितरण गरिएको थियो । मंगलबार उक्त पालिकाको वडा नं ५ मात्तिम विर्तामा भएको शिविरमा ९० जना लाभग्राहीलाई १३ लाख २५ हजार वितरण गरिएको चाम्लिङले सुनाए । उक्त पालिकामा वृद्धवृद्धाले नेपाल एसबीआइ बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । ‘शिविरमा गाउँपालिकाका कर्मचारी र बैंक मेनेजर अशिम इङनाम लिम्बु आफैं सहभागी भएर भुक्तानी गर्दैछौं,’ चाम्लिङले भने,‘गाउँमै भत्ता पाएपछि लाभग्राहीसमेत खुसी हुनु भएको छ ।’

यो त्रैमासिकमा उक्त पालिकाका १३ सय २० जनालाई एक करोड २३ लाख रुपैयाँ वितरण गरिने चाम्लिङको भनाइ छ । शिविर विभिन्न वडामा छ दिनसम्म सञ्चालन गरिने उनले बताए । शिविरमार्फत सामाजिक सुरक्षा वितरण गर्दा लाभग्राहीलाई सहज हुनुका साथै पारदर्शी पनि हुने गाउँपालिका अध्यक्ष रवीप्रकाश राईले बताए ।

साकेला गाउँपालिका–१ बाझेच्यानडाँडाको डाँडागाउँस्थित चण्डेश्वरी प्राविमा सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता वितरण शिविर । तस्बिर सौजन्य : साकेला गाउँपालिका

प्रकाशित : आश्विन ६, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

कोसी पहाडी करिडोरको तरकारी बालीमा क्लब रुटको प्रकोप

बारीमै कुहियो करोडौंको बन्दा
चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमसहित धनकुटा र संखुवासभाका किसानले लगाएको बेमौसमी तरकारी बालीमा क्लबरुट (गाँठे रोग) महामारीको रुपमा फैलिएको छ । रोग लागेपछि करोडौंको तरकारी बाली बारीमै कुहिएर किसानले नोक्सानी बेहोरिरहेका छन् । यी तीन जिल्लाका किसानले लगाएको बेमौसमी तरकारी बन्दा, काउली, रायोको साग, ब्रोकाउलीलगायत तरकारी बालीमा रोगको प्रकोप फैलिएको हो ।

प्रकोपका कारण कोशी पहाडी करिडोरका १५ हजारभन्दा बढी किसानले लगाएको बन्दालगायत तरकारी बाली बारीमै कुहिन थालेको छ । एक दशकयता रोगले निरन्तर आक्रमण गरिरहेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए ।

यो रोगले निरन्तर दुःख दिइरहेको गुरुङको भनाइ छ । सुरुका वर्षमा बन्दा बालीमा देखिएको यो रोगबारे नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बाली रोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । दुई वर्षसम्म नदेखिएको यो रोग त्यसयता पुन: देखापरेको लालीगुराँस नगरपालिका ७ लसुनेका किसान साजन विश्वकर्माले बताए ।

तेह्रथुमको लालिगुराँस नगरपालिका र छथर गाउँपालिका, धनकुटाको महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिका र संखुवासभाको धर्मदेवी नगरपालिकाका १५ हजारभन्दा बढी किसानले बारीमा रोपेको बन्दा रोगका कारण कुहिन थालेको छ ।

यी तिन जिल्लामा उत्पादित ताजा तरकारी भण्डारणमार्फत पूर्वी तराई हुँदै भारतीय बजारमा बिक्रीका लागि जाने गरेको छ । सुरुमा बन्दामा देखिएको यो रोगको प्रकोप फैलिएर अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगमलगायत बालीमा समेत देखिन थालेको छ ।

बन्दा, काउली फक्रिएर बजारमा पठाउने बेलामा रोगले आक्रमण गरेको चित्रेका किसान बलबहादुर अधिकारीले बताए । बजारमा निकाल्ने तयारी भएको ५ लाख रुपैयाँ बराबरको बन्दा रोगका कारण बारीमै कुहिएको लसुनेका किसान विश्वकर्माले बताए । महालक्ष्मी नगरपालिका खाप्राङका किसान होमराज रायमाझीका अनुसार रोगले बन्दा बालीमा ८५ प्रतिशतभन्दा बढी क्षति पुर्‍याएको छ ।

बन्दा, काउलीलगायत तरकारी बालीको बोटको मूल र सहायक जरामा गाँठा वा डल्ला देखिने र बिस्तारै एक प्रकारको ढुसी देखापर्ने र अन्त्यमा जरा, डाँठ हुँदै फल र पात नै कुहिने यो रोगको प्रमुख लक्षण हो । रोगको जीवाणुले बालीमा प्रवेश पाएको तीन हप्तापछि मात्र जरामा गाँठाहरू देखापर्ने कृषि विशेषज्ञहरूको भनाइ छ । दुई दशकको अवधिमा नेपालभर महामारीको रुपमा फैलिएको यो रोगको व्यवस्थापन, निदान, रोग लाग्नुको कारण, उपचार विधि, बाली चक्रप्रणालीलगायत विषयमा किसानको बारीमै पुगेर नार्कको बाली रोग विज्ञान महाशाखाले अध्ययन गरिरहे पनि अहिलेसम्म रोग निदान हुन सकेको छैन ।

यहाँको तरकारी बालीमा फैलिएको प्रकोपबारे ८ वर्षअघि कृषि अनुसन्धान केन्द्र पाख्रीबास धनकुटाले पनि अध्ययन गरेको थियो । किसानले बालीको व्यवस्थापन नगरेको; समयमा रोगको उपचार नगरेको; बिउ र मलमा ध्यान नदिएको; एकै ठाउँमा लामो समयसम्म एउटै बाली लगाएको; प्रकोप फैलिएको क्षेत्रका बिरुवा तथा मल र माटो अर्को स्थानमा ओसारपसार गरेको जस्ता कारणले यो रोग फैलिएको अध्ययनमा यहाँ संलग्न नार्कका बाली रोग विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा.रामदेवी तिमिलाले बताइन् । प्लाज्मोडिवफोरा व्रासिकी नामक ढुसीको आक्रमणबाट यो रोग तरकारी बालीमा सर्ने र माटोमा यो ढुसी वर्षौंसम्म जीवितै रहने गरेको कृषि वैज्ञानिकहरूको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले बेमौसमी तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरेको यो क्षेत्रमा महामारीको रुपमा रोगको प्रकोप फैलिएपछि बालीचक्र परिर्वतन गरी खेती गर्न किसानलाई सुझाइएको छ । ‘रोग प्रभावित क्षेत्रका किसानलाई फरक प्रकृतिको खेती गर्न भनेका छौं‚’ कृषि ज्ञान केन्द्रका प्रमुख भुवन बुढाथोकीले भने ।

प्रकाशित : आश्विन ६, २०७९ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×