१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

शैक्षिक अनुसन्धानका लागि संघ र प्रदेशमा बिनारोकतोक सूचना संकलन गर्न दिन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — अध्ययन अनुसन्धान गरिरहेका विद्यार्थीलाई संघ र प्रदेश सरकारले समन्वय गरेर बिना रोकतोक स्वतन्त्रपूर्वक सूचना संकलन तथा अनुसन्धान गर्न पाउने व्यवस्था गर्न विद्यार्थीले माग गरेका छन् । 

शैक्षिक अनुसन्धानका लागि संघ र प्रदेशमा बिनारोकतोक सूचना संकलन गर्न दिन माग

सोअस युनिभर्सिटी अफ लण्डन (बेलायत) मा विद्यावारिधि गरिरहेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङकी जयन्त राईलगायतका विद्यार्थीले उक्त माग गरेका हुन् ।

जयन्तीले पीएचडी थेसिसमा नेपालको संघीयता विषयमा अनुसन्धान गरिरहेको र उक्त अवसरमा संघ र प्रदेश सरकारबाट विभिन्न उल्झन व्यहोर्नु परेकोले उक्त माग गरिएको बताएकी छन् ।

राईले शोधपत्रको लागि अनुसन्धान गर्न जाँदा प्रदेश १ र मधेस प्रदेश सरकारका कर्मचारीले सूचना संकलन गर्न रोक लगाइएको र कतिपय ठाउँमा प्रवेशमा नै रोक लगाइएको बताएकी छन् ।

उनले सूचना संकलन तथा अनुसन्धानको लागि सहयोग गर्न भन्दै बुधबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएकी छन् ।

यसैबीच मुख्यमन्त्री राईले अहिलेसम्म प्रदेश १ मा विद्यावारिधिका लागि कोही विद्यार्थी नआएकोले नीति नियम नबनेको बताएका छन् । उनले अब धेरै विद्यार्थी यसरी सूचना संकलन र अनुसन्धान गर्न आएमा नीतिगत व्यवस्था नै गर्ने बताए ।

उनले राईको लागि भने अनुसन्धानकर्ता भनेर एउटा प्रवेश पत्र बनाइदिने र चिठी पनि बनाइदिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, 'अब अहिलेसम्म यसरी कोही आउनु भएको थिएन । धेरै नै विद्यार्थी आउन थाल्नुभयो भने हामी अनुसन्धान गर्ने वातावरण मिलाउने व्यवस्था गर्छौं ।'

जयन्तले पत्रमा विद्यार्थीले अध्ययन अनुसन्धान गर्ने क्रममा भोगेको अवरोध, अपमान, विभेद साथै मौलिक अधिकारमा भएको सूचनाको अधिकार र ज्ञान निर्माणको प्रक्रियालाई कुण्ठित नगर्न आग्रह गरेकी छन् ।

विद्यार्थीले राखेका मागहरु :

१) अध्ययन अनुसन्धान गर्ने विद्यार्थीहरुलाई विशेष प्रवेश पासको व्यवस्था गरियोस् ।

२) प्रदेश सभा, संसदीय समिति, मन्त्रालयलगायत सरकारसाग सम्बन्धित निकायमा हुने कार्यक्रमहरु सुरक्षाको हिसाबले अति संवेदनशीलबाहेक सबैमा अवलोकन गर्ने व्यवस्था गरियोस् ।

३) प्रकाशित सामग्री, रिपोर्टहरु सहजै उपलब्ध हुने व्यवस्था गरियोस् ।

४) अनुसन्धान गर्ने विद्यार्थीलाई प्रदेशसभा बैठकमा फोटो र भिडियो खिच्न दिइयोस् ।

५) सचिव ज्यूहरुलाई सूचनाको अधिकार साथै सुरक्षा कर्मचारी र मर्यादापालकलाई सर्वसाधारणसाग शिष्ट भाषा बोल्न तथा मर्यादित व्यवहार गर्न तालिम दिने व्यवस्था गरियोस् ।

६) प्रदेशका मन्त्रालयहरु लगायत प्रदेश सरकारको मातहतमा रहेका सवै निकायहरुमा विद्यार्थीहरूका लागि इन्टर्नशिपको व्यवस्था गरियोस् । जसले गर्दा भोलिको दिनमा प्रदेश सरकार सञ्चालन गर्न राम्रा कार्यबल तयार हुनसक्छ । विद्यार्थीहरुलाई राम्रो सिक्ने, राम्रो बन्ने वातावरणको सिर्जना गरिदिनुहोस् । जसले गर्दा भोलिका दिनमा उनीहरुले राम्रोसाग राज्य सञ्चालन गर्नेछ ।

७) प्रदेश सरकारले जनताको गुनासो सुन्ने एउटा निकाय बनाइयोस् ।

प्रकाशित : आश्विन ६, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?