२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अन्तरदेशीय व्यापारमा सकस

पर्वत पोर्तेल

झापा — २९ भदौमा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मोरङको भाउन्नेमा चार भारतीय गाडीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढायो । राजस्वका अनुसार प्रक्रिया नपुर्‍याई प्रवेश गरेका कारण गाडी नियन्त्रणमा लिइएको हो । राजस्व अधिकृत तीर्थराज खनालले भने, ‘भन्सार र पटके रुट परमिट नलिई दादागिरी शैलीमा प्रवेश गरेका कारण गाडी नियन्त्रणमा लिइएको हो ।’ 

अन्तरदेशीय व्यापारमा सकस

सोही दिन पश्चिमबाट पूर्व आएका दुई भारतीय गाडी रोक्ने क्रममा सशस्त्र प्रहरीले चालकलाई दुर्व्यवहार गरेको थियो । सवारी नियन्त्रण र चालकमाथिको दुर्व्यवहारपछि भारतीय नाका पानीटंकीमा ३१ भदौको अपराह्न भारतीय चालकले नेपाली मालवाहक ट्रक र तेलका ट्र्यांकर प्रवेशमा अवरोध खडा गरे । ‘करिब ४० वटा इन्धनका ट्यांकर, अन्य मालवाहक ट्रक र कन्टेनर नाकामा रोकियो’, मेची भन्सार प्रमुख केशव ओलीले भने, ‘राजस्वको अनावश्यक गतिविधिले अन्तरसीमा व्यापारमै समस्या हुने सम्भावना बढेको छ ।’

राजस्वले पक्राउ गरेका भारतीय गाडी छाड्न झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, मेची भन्सार र प्रहरीको समन्वयमा अनुरोध गर्ने भनिए पछि भारतीय चालकले अवरोध हटाएका थिए । राजस्वले शनिबार चार वटै गाडी छाडेको थियो । लाखौंको तरकारी गाडीमै कुहिएको व्यापारी बाबुराम बस्नेतले जनाए ।

राजस्व, भन्सार र सशस्त्र प्रहरीबीच तालमेल नहुँदा अन्तर्देशीय व्यापारमै समस्या उत्पन्न हुन सुरु भएको छ । यी घटना पछि दुवै देशका व्यवसायी चिन्तित देखिएका छन् । स्थानीय व्यवसायी बाबुराम बस्नेतले भने, ‘नेपाली गाडी भारत जानै रोक्ने र भारतबाट आएकालाई पनि प्रवेशमा अवरोध पुर्‍याउने घटनाले दुई देशको व्यापार र सम्बन्ध बिग्रिने सम्भावना देखिएको छ ।’ उनले राजस्व अनुसन्धानकै अत्याचारका कारण समस्या जटिल बनेको दाबी गरे ।

मेची भन्सारका एक कर्मचारीले नकलबन्दा र तिरिङ नाकाबाट महिनादेखि कपडाको तस्करी जारी भए पनि राजस्व अनुसन्धान, सशस्त्र, नेपाल प्रहरी जस्ता निकाय मूकदर्शक बनेको आरोप लगाए । ती नाकाबाट दैनिक ५ करोड रुपैयाँ बढीको कपडा तस्करी भइरहेको छ । राजस्व अनुसन्धान, प्रदेशका दुवै प्रहरी प्रमुखलाई ‘सेटिङ’ गरेको एक कपडा कारोबारीले जानकारी दिए । ३२ असारमा पूर्वपश्चिम राजमार्गको सशस्त्र प्रहरी चेकपोस्टले ५ लाख २१ हजार भारुसहित पाँच भारतीय यात्रीलाई नियन्त्रणमा लिएपछि राजस्व नियन्त्रणको जिम्मेवारीमा रहेका यी निकायबीच टसल सुरु भएको हो ।

त्यसअघि लालीगुराँस नामको एक व्यापारिक फर्मले प्रज्ञापन पत्र नक्कली बनाएर कर छली गर्न खोजेको आशंकामा सशस्त्रले त्यही चेकपोष्टबाट तीन ट्रक नियन्त्रणमा लिएको थियो । त्यो घटनामा सशस्त्रले भन्सारले ‘सेटिङ’ मा गाडी छाडेको आरोप लगाएको थियो । तर, वास्तविकता अर्कै रहेको भन्सार प्रमुख ओलीको जिकिर छ । ओलीले भने, ‘उक्त फर्मले नक्कली प्रज्ञापनपत्र बनाएको रहेछ ।’

यतिबेला भन्सार तिरेर पश्चिमतिर हिँडेका अधिकांश गाडीप्रति राजस्व र सशस्त्र प्रहरी बलले निगरानी गर्छन् । जसका कारण मेची भन्सारको राजस्व असुलीमा प्रत्यक्ष असर पुगेको भन्सारको भनाइ छ । ‘मेची भन्सारको कारोबार लगभग शून्य नै छ भन्दा पनि हुन्छ,’ प्रमुख ओलीले भने, ‘यो नाका प्रयोग गर्न व्यापारी डराउन थालेका छन् ।’ राजस्व असुली इन्धनले थेगेको थियो । त्यसमा पनि भारतीय अवरोध सुरु भएको छ । ‘अनावश्यक सास्ती र आतंकले यो रुटबाट व्यापारीले सामान मगाउनै छाडे,’ उनले भने । उच्च अदालतको आदेशमा जोरसिमलको चेकपोस्ट हटेपछि सशस्त्रले पूर्वाग्रही बनेको आरोप भन्सारको छ ।

यो चेकपोस्टले दैनिक १० लाख रुपैयाँ असुली गर्दै आएको थियो । चेकपोस्ट हटे पछि सशस्त्रले चलाउँदै आएको ‘लाइन’ बिग्रिएको र उनीहरू तिल्मिलाएको आरोप भन्सारको छ । ‘भन्सार प्रमुखकै पहलमा चेकपोस्ट हट्यो भन्ने सशस्त्रको बुझाइले तस्करी नियन्त्रणमा समस्या भइरहेको छ, राजस्वको स्टन्टले थप समस्या उत्पन्न गरेको छ,’ उनले भने ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?