२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सहयोगीसहित हत्या आरोपित राई पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित टोड्के बस्ने ६४ वर्षीया पूर्णसरी राईको हत्या गरेको आरोपमा प्रहरीले धनकुटाको सागुरीगढी गाउँपालिका– ८ ढुङ्गे बस्ने १८ वर्षीय निखिल भनिने नकुल राईलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

सहयोगीसहित हत्या आरोपित राई पक्राउ

एक्लै बस्दै आएकी पूर्णसरीलाई आफ्नै घरमा विभत्स रुपमा हत्या गरेको अवस्थमा भदौ २९ गते बिहान फेला पारिएको थियो । तत्काल उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्नका लागि १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) शाखा, संघीय प्रहरी कार्यालय धरानको विशेष टोली, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले हत्याराको खोजी गरेको थियो ।

सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार हत्या आरोपी राईलाई असोज २ गते बेलुका मोरङको विराटनगर महानगरपालिका – १५ स्थित रानी क्षेत्रको नेपाल भारत सिमानामा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । एसपी ढकालले भने, ‘आरोपी राईको बयान अनुसार मृतक राईले लगाएको सुनको गहना लुटपाट गर्ने उद्देश्यले भदौ २८ गते दिउँसो ३ बजे समयमा घाँटीमा खुकुरी प्रहारी गरी हत्या गरेको देखिएको छ ।’

प्रहरीका अनुसार वृद्धाको हत्या गरेपछि राईले शवलाई घरभित्र लगेर ढोका बन्द गरी ७ दशमलव २७० ग्रामको सुनको सिक्री लुटेर फरार भएका थिए । राईले हत्यामा प्रयोग गरेको खुकुरी पकुवा जंगलमा लुकाएर राखेको र सोही रात वराहक्षेत्र नगरपालिका–४ बाट एक स्थानीयको साइकल चोरी गरी सोही साइकलमार्फत भारतको चैनपुरमा ३ दिन लुकेका थिए । चैनपुरबाट फर्केर जोगवनी नाकामा आएर लुकिछीपी बसेको जानकारी प्राप्त भएपछि राईलाई पक्राउ गरिएको एसपी ढकालले बताए ।

प्रहरीले लुटिएको गहना लुकाउन सहयोग गर्ने भोक्राहा नर्सिङ गाउँपालिका– ६ बक्ला टोल बस्ने २० वर्षीय रन्जित कुमार साहलाई पनि पक्राउ गरेको छ । सुनको गहना साहको घरमा लुकाएर राखेको अवस्थामा बरामद गरेर साहलाई पनि असोज ३ गते पक्राउ गरिएको हो । प्रहरीका अनुसार हत्या आरोपी नकुल राई लागूऔषधका दुर्व्यसनीसमेत रहेको र घरमा एक्लै बस्दै आएकी वृद्धाले लगाएको सुनको गहन लुट्न एक सातादेखि योजना बनाएको बयान दिएका छन् । राई र साहलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?