३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रहेनन् प्रजातन्त्र सेनानी प्रधान

विनोद भण्डारी

विराटनगर — प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानको सोमबार साँझ निधन भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि आइतबार न्यूरो अस्पताल भर्ना गरिएका प्रधानको ९२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको परिवारजनले जनाएका छन् ।

रहेनन् प्रजातन्त्र सेनानी प्रधान

२००७ सालको राणा शासनविरुद्धको आन्दोलनका सक्रिय सहभागी प्रधान पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँगै राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । उनी राणा शासनविरुद्धको सशस्त्र आन्दोलनमा पूर्वी क्षेत्रमा हतियार संकलन गर्ने लगायत जनकपुर र वीरगञ्जको आन्दोलनमा सक्रिय सहभागी योद्धमध्ये एक थिए ।

प्रजातान्त्रिक आन्दोलनको सुरुवातका क्रममा विराटनगरमा कांग्रेसका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुट मिलमा मजदुर आन्दोलन सुरु हुँदा युवाहरुलाई आन्दोलनमा जोड्ने सेतूको रुपमा प्रधानले भूमिका खेलेका थिए ।

प्रधानको अन्त्येष्टिमा परोपकार घाट हाटखोला पुगेका कांग्रेस नेता महेश आचार्यले प्रजातन्त्रका सेनानी प्रधान ७५ वर्षदेखि विराटनगरको विकास, नागरिक अधिकार र सुव्यवस्थाको पक्षमा निस्वार्थ रुपले सक्रिय रहेको भन्दै स्मरण गरे ।

गिरिजाप्रसाद निकाट रहेका प्रधानले कहिल्यै पनि पदको लोभ गरेनन् । आचार्यका अनुसार गिरिजाप्रसाद पनि उनीसँग पटकपटक राजनीति र समसामयिक विषयमा सुझाव लिने गर्थे ।

'विभिन्न संघ संस्थामा आवद्ध रहेका प्रधान जहिले पनि मुलुकको हित र कुशल शासनका बारेमा मात्र सुझाव दिनुहुन्थ्यो,' आचार्यले भने, 'उहाँले कहिल्यै पनि व्यक्तिगत लाभका लागि यसो र उसो गरिदेउ भन्नुभएन ।'

प्रधानका श्रीमती र तीन छोरी छन् । विराटनगरको आर्दश पुस्तकालय, एलिट क्लब, रोटरी क्लबका संस्थापक प्रधानले नेपाल क्षयरोग निवारण संस्था, कोसी अस्पताल, महेन्द्र मोरङ क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालयको स्थापनाका लागि अग्रणी भूमिका खेलेका थिए ।

उनलाई नजिकबाट चिन्ने छिमेकी सुदर्शनबहादुर श्रेष्ठले भने विराटनगरले निस्वार्थ, निष्ठावान र सामाजिक धरोहर गुमाएको प्रतिक्रिया दिए । विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी प्रधान मुटु तथा स्वासप्रस्वास सम्बन्धी रोगबाट ग्रसित थिए ।

उनको यसअघि ६ पटक हृदयघात भएको थियो । पुर्ख्यौली थलो काठमाडौं भएका उनी पछिल्लो समय प्रत्यक्ष राजनीतिबाट टाढा बसेर हरियाली जोगाउने र तराइ मधेशमा घट्दै गएको भूमिगत जलस्तर नियन्त्रण गर्ने अभियानमा संलग्न थिए ।

वर्षाका लागि बिरुवा रोप्ने र भूमिगत जलस्रोत बचाउने लगायत सचेतना फैलाउने अभियानमा उनी सक्रिय थिए । यसका लागि रुद्राक्ष, श्रीखण्ड, अशोक र कपुर प्रजातिका बिरुवा उनी नि:शुल्क वितरण गर्थे ।

उनको पार्थिर शरीरमा मंगलबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए भने कांग्रेस नेता महेश आचार्य र केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको झण्डा ओढाएर हाटखोलास्थित परोपकार घाटमा उनको अन्त्येष्टि गरिएको छ।

प्रकाशित : आश्विन ४, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?