स्थानीयको पहलमा अस्पताल

सोलुखुम्बु — सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकामा स्थानीयको पहलमा निर्मित ५० बेडको दूधकोसी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवन निर्माण गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अस्पताल भवनको उद्घाटन गरे ।

अस्पताल निर्माणका लागि गाउँपालिकाले महायज्ञ लगाएर ७ करोड रुपैयाँ उठाएको थियो । उक्त रकममा थपेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनका अनुसार अस्पताल १५ करोडमा, बहुप्राविधिक शिक्षालय ५ करोडमा र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोड लागतमा बनेको हो । ‘जिल्लामै पहिलोपटक सुविधायुक्त अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौं,’ राईले भने, ‘जनताको पहलमा करोडौंको अस्पताल बनाउन सफल भएका छौं ।’

उक्त कार्यक्रममा दाहालले स्थानीको त्याग एवं योगदानको प्रशंसा गरे । उनले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकार सम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताए । ‘संघीय निजामती ऐन र सुरक्षा ऐनहरू बनाउन बाँकी छ, संविधानको मर्मअनुरूप तल्लो तहलाई अधिकार सम्पन्न बनाउने ठूलो अभिभारा छ,’ उनले भने । उनले घुमाउरो पारामा पुनः एकपटक देशको कार्यकारी प्रमुख हुने संकेत गर्दै भने, ‘जनयुद्ध र शान्ति प्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एकपटक नेतृत्व गर्ने उत्कट चाहना छ ।’

गाउँपालिका केन्द्र मुक्लीमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले संविधानको रक्षामार्फत अब आर्थिक क्रान्तिमा होमिने बताए । माओवादीकै कारणले मुलुकमा परिवर्तन सम्भव भएको भन्दै औद्योगीकरणमार्फत समाजवादी दिशामा अगाडि बढ्ने उद्घोष गरे । ‘कृषि र उद्योगिक विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छु,’ उनले भने, ‘अब मुलुकमा रोजगारी सिर्जना हुन्छ, स्थानीय तहहरू सम्पन्न हुनेछन् र विकासले नयाँ गति लिनेछ ।’

प्रकाशित : आश्विन ४, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?