१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बजार पाए तर मूल्य पाएनन्

बिचौलिया उस्कँदै, किसान खस्कँदै
रमेशचन्द्र अधिकारी

धनकुटा — झन्डै सय घरधुरी व्यावसायिक कृषक रहेको साँगुरीगढी गाउँपालिकास्थित डाँडाबजार आसपासको बस्ती नै वर्षौंदेखि बिचौलियाको कब्जामा छ । करिब अढाई सय रोपनी क्षेत्रफलमा उत्पादित तरकारीको लगानीअनुसारको मूल्य निर्धारण गर्न नपाएको स्थानीय कृषकको गुनासो छ । 

साँगुरीगढी–५ स्थित बिच टोलकी मनिता याखाले ३ रोपनी क्षेत्रफलमा मुला तथा काउली खेती गर्छिन् । तर खरिदेले जुन दिन बिक्री गर्न भन्छन्, त्यही दिन मात्र बारीबाट उखेलेर तयार पार्नुपर्ने उनी बताउँछिन् । तयारी मुला खरिदेले उखेल्न नदिएपछि फुलेर नोक्सानी हुने गरेको कृषक बताउँछन् । याखाका अनुसार कृषकलाई अत्यन्त न्यूनतम मूल्य दिएर उनीहरूले धरानस्थित कृषि बजारमा तीन गुना बढी नाफामा तरकारी बेच्छन् । उनी भन्छिन्, ‘प्रायः लगानी नै उठ्दैन ।’ स्थानीय मेदीमाया घिमिरेले ७ रोपनीमा लगाएको तरकारीबाट वार्षिक ४० हजार रुपैयाँ पनि हात नपर्नेर् बताउँछिन् ।

धरानबाट २८ किमि दूरीको डाँडाबजार क्षेत्रबाट बजारमा आफैंले उत्पादन लगेमा बिचौलियाले घेराबन्दी गरेर बिक्री गर्नै नसक्ने अवस्थामा पुर्‍याउने गरेको स्थानीय किसानको पीडा छ । बजारमा निर्धारण गरिएको मूल्यको ५० देखि ७५ प्रतिशत बढी नाफा राखेर बिचौलियाले खरिद गर्ने गरेको किसानको गुनासो छ । स्थानीय कृषक सीता लिम्बूका अनुसार कृषि बजारमा १ सय रुपैयाँ मूल्य रहेको तरकारी स्थानीयबाट २५ रुपैयाँ कममा खरिद गरिन्छ । ‘बजार पाइयो, तर मूल्य पाइएन’, उनी भन्छिन् । ८ रोपनीमा खेती गर्दै आएका स्थानीय राम भण्डारीले सिंगो गाउँ नै बिचौलियाको कब्जामा रहेको बताए ।

डाँडाबजारबाट खरिद गरेका अर्गानिक तरकारीलाई बिचौलियाले बजारमा महँगोमा बेच्छन् । विषादी न्यून मात्र प्रयोग हुने भए पनि त्यसको फाइदा कृषकले लिन सकेका छैनन् । स्थानीय कृषकले ९० प्रतिशत बढी कम्पोस्ट मल प्रयोग गर्छन् । ‘बाली लगाएको सुरुवाती अवस्थामा मात्र आवश्यक मात्रामा विषादी प्रयोग गर्छौं, फल लागेपछि प्रयोग गर्दैनौं,’ कृषक मानबहादुर भन्छन्, ‘हाम्रो तरकारी अर्गानिक भए पनि दलालका कारण उचित मूल्य पाउन सक्दैनौं ।’

२०५० मा भेडेटार-डाँडाबजार-राजारानी सडक बनेपछि गाउँमा विचौलिया प्रवेश गर्दै आएका थिए । अर्ग्यानिक उत्पादन बढेपछि पछिल्लो समय बिचौलियाले गाउँ नै कब्जा गर्दै आएको घिमिरेको भनाइ छ । उनी भन्छन्, ‘खरिदेको जीवन उस्कँदै छ, कृषकको खस्कँदै छ ।’

बिचौलियाले कृषकलाई महँगो मूल्यमा बीउ उपलब्ध गराउनेदेखि ऋणसमेत दिन्छन् । उनीहरूले कृषकलाई प्रभावित पारेर स्थानीय उत्पादन आफ्नो हातमा पार्ने रणनीतिमा छन् । सरकारले सहुलियत दरमा सर्वसुलभ उपलब्ध गराउन नसक्दा खरिदेको भरमा स्थानीय कृषकले तरकारीको बीउसमेत किन्न बाध्य छन् । स्थानीयका अनुसार जसले बीउ दियो, उत्पादन पनि उनैलाई नै दिनुपर्छ । सरकारले अनुदानमा उपलब्ध गराउन सक्ने बीउ बिचौलियाले दोब्बर गुनामा कृषकलाई बेच्छन् ।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले खरिदेको कब्जाबाट किसानलाई मुक्त गर्न मल बीउ वितरण र मूल्य निर्धारण गर्ने पालिकाले योजना बनाउने बताउँछन् । डेढ दशकदेखि किसानबाट तरकारी किन्दै आएका मोहन कार्कीले सिजनमा दैनिक १ हजारदेखि ५० हजार रुपैयाँसम्म नाफा हुने बताउँछन् । धरानबाट आफूसहित ३ जना यो व्यवसायमा संलग्न रहेको उनी बताउँछन् । कृषकलाई बीउदेखि ऋणसमेत दिने गरेकोले नाफा लिएर तरकारी किन्नु सामान्य रहेको उनको तर्क छ ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?