१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडक बनाउँदा मासिए चौतारा

डम्बरसिं राई

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी–५ लफ्याङस्थित प्रसिद्ध ‘मेघे चौतारो’ लाई भत्काइएपछि अर्को ठाउँमा सारियो । तत्कालीन जिल्ला पञ्चायतका पूर्वउपसभापति गोकुलमान राईका कान्छा छोरा मेघबहादुर राईको निधनपछि सम्झनामा २०१० सालमा बनाइएको चौतारो ‘मेघे चौतारो’ ग्रामीण सडक निर्माण गर्दा हटाइएको हो । 

सडक बनाउँदा मासिए चौतारा

उक्त नगरपालिकाकै वडा २ सोल्मा होस्मा टोलमा पनि सडक निर्माणले एक सयभन्दा बढी चौतारा नष्ट भएका छन् । दिक्तेल–खार्मी–पाथेका सडक खन्दा चौतारो भत्किएको शिलालेखक स्थानीय ललित राईले बताए । उनका अनुसार ऐतिहासिक चौताराहरू भत्काइएको हो । उक्त ठाउँमा १८६८ देखिको चौतारो फुटाल्दा इतिहास नै समाप्त पारिएको राईको भनाइ छ । उनले भने, ‘हेर्दा सामान्य संरचना भत्काइएका जस्तो लाग्ला तर यो इतिहास नै सखाप पारिएको हो ।’

श्री साके संवत् पूर्व ३ नम्बर माझ किरात भनेर सुरु गरी तीन पुस्तासम्मको विवरण शिलालेखमा उल्लेख गरिन्छ । मृतकको नाममा चिरशान्तिको कामना गर्दै आफन्तले चौतारो बनाउने चलन छ । चौतारोसँगै वर–पीपल पनि रोप्ने चलन छ । मध्यकालीन सभ्यतादेखि नै चौतारो बनाउन थालिएको बूढापाकाहरूको भनाइ छ । ‘मृतकले जीवनभर के काम गर्‍यो, जीवनशैली र समाजका लागि गरेको योगदानको फेहरिस्त चौतारोको शिलालेखमा लेखिन्छ,’ राईले भने ।

किताब ढुंगा

चौतारोसहित शिलालेखसमेत नष्ट गरिएकाले विकासको नाममा इतिहास नामेट गर्ने गरी विनाश गरिएको राईको दाबी छ । यस्ता ऐतिहासिक सम्पदालाई जोगाएर विकास निर्माणको संरचना बनाइनुपर्नेमा उल्टै सखाप गर्ने गरिएकाले यसको जिम्मेवारी स्थानीय सरकार तथा सम्बन्धित पक्षले नै लिनुपर्ने राईको तर्क छ । आफ्नै कान्छा काका बिर्तबहादुर राईको चौतारा पनि सडक बनाउने क्रममा भत्काएपछि मन खिन्न लागेको खोटेहाङ गाउँपालिका–५ चिप्रिङका डा. विष्णु राईले बताए । यति मात्र नभएर दोस्रो विश्व युद्धमा ज्यान गुमाउनेको सम्झनामा बनाइएका अनगिन्ती चौतारासमेत फुटाइएको राईको गुनासो छ । चौतारोसँगै रोपिएका वर–पीपल पनि कटान गरिएको राईको भनाइ छ ।

गाउँका चौतारा मात्र होइन, किरातीका इतिहास, संस्कार, संस्कृतिसमेत नष्ट भएको डा. राई बताउँछन् । यसमा प्राचीन इतिहासलाई पुस्तौंपुस्तासम्म जीवन्त बनाउने माध्यम, सभ्य संस्कृति, परम्परा भएकाले संरक्षण हुनुपर्ने पोखरा युनिभर्सिटीमा मानवशास्त्र विषयमा अध्यापन गरिरहेका डा.राईको भनाइ छ ।

चौतारो मासिए सांस्कृतिक मौलिकता समाप्त हुने मुन्धुमविद् भोगीराज चाम्लिङ बताउँछन् । माझ किरात क्षेत्रमा गैरकिरातीले समेत चौतारो संस्कृतिलाई मान्ने भएकाले उनीहरूसँगको सांस्कृतिक भाइचाराको सम्बन्ध पनि सकिने चाम्लिङले बताए । उनले भने, ‘यो मासियो भने हाम्रो सबथोक सकिन्छ ।’ जनप्रतिनिधिहरूले नबुझेरै यस्ता संरचना विनाश गरेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । कानुनी रूपमै चौतारो, ठाँटी, कुवा, धारा–पँधेरो, देवी, देवताका थानको संरक्षण गर्ने उल्लेख भए पनि अघिल्लो जनप्रतिनिधिले कार्यान्वयन नगरेको राईको दाबी छ । ‘पहिलेको जनप्रतिनिधिले बुझेनन्,’ राईले भने, ‘हामीचाहिँ यस्तो कुरामा खुब होसले काम गर्छौं ।’ जिल्लाका अधिकांश ठाउँमा सडक निर्माण गर्दा सयौं चौतारा भत्काइएका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?