कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सुरु भयो बीपीमा आफ्नै फार्मेसी

प्रतिष्ठानले दुई निजी फार्मेसीबाट ५६ लाख रूपैयाँ उठाउनै बाँकी
प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबारदेखि आफ्नै फार्मेसी संचालनमा ल्याएको छ । सरकारले ०७२ मा अस्पताल फार्मेसी निर्देशिका बनाएर हरेक सरकारी अस्पतालले आफ्नो फार्मेसी संचालनमा ल्याउनुपर्ने नी ति अख्तियार गरेको थियो । तर सरकारले प्रतिष्ठानमा फार्मेसी सञ्चालनका लागि आर्थिक सहयोग नगरेपछि लामो समय प्रतिष्ठान फर्मेसीविहीन थियो । 

सुरु भयो बीपीमा आफ्नै फार्मेसी

प्रतिष्ठानको फार्मेसी नहुँदा सेवाग्राहीले बाहिर महँगोमा औषधि खरिद गर्न बाध्य थिए । अब प्रतिष्ठानको आफ्नै फार्मेसीपछि बिरामीलाई राहत हुने भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले फार्मेसी उद्घाटन गर्दै भने, ‘सरकारको निति अनुसार सर्वसाधारलाई सस्तो र सुलभ मूल्यमा औषधी बिक्री गर्ने मुख्य उद्देश्य हो । ।’ उनले पहिलैदेखि प्रतिष्ठानले आफ्नै फार्मेसी संचालनमा ल्याउन सकेको भए सेवाग्राहीलाई औषधी खरिदमा राहत र प्रतिष्ठानलाई पनि आर्थिक लाभ हुने अवस्था हुँदाहुँदै पनि विविध कारणले त्यसो हुन नसकेको बताए ।

प्रतिष्ठानका फार्मेसी विभागका इन्चार्ज लक्ष्मण महर्जनले यसपटक सरकारले सिड मनीको रुपमा २० लाख रुपैयाँ उपलव्ध गराएकाले प्रतिष्ठानकै लगानीमा टेण्डर मार्फत ४ करोड रुपैयाँको विभिन्नथरीका औषधि खरिद गरेर फार्मेसीमा स्टक गरेको बताए । उनले भने, ‘पहिलो चरणमा स्त्री तथा प्रसूति विभाग, शल्यक्रिया, इमर्जेन्सी विभाग र ओपीडीमा फार्मेसी सेवा विस्तार गरिएको छ ।’ महर्जनका अनुसार प्रतिष्ठानका चिकित्सकले कुनै पनि बिरामीलाई लेखिदिएको औषधिमध्ये ९० प्रतिशत प्रतिष्ठानकै फार्मेसीमा सस्तो र सुलभ मूल्यमा उपलब्ध हुन्छ । सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि औषधीमा १६ प्रतिशतभन्दा बढी मार्जिन राख्न नपाउने प्रावधान भएकाले प्रतिष्ठानले सस्तोमा उपलव्ध गराउने लक्ष्य राखेको उनले बताए ।

महर्जनले प्रतिष्ठानमा हाल दैनिक १० लाख रुपैयाँको औषधि खपत हुने गरेको बताए । उनका अनुसार पूर्ण एवं व्यबस्थित रुपमा प्रतिष्ठानको फार्मेसी सञ्चालन गर्न सकेमा दैनिक ९० लाख रुपैयाँको औषधि खपत गर्न सकिन्छ । ०८० सम्ममा यो लक्ष्यमा पुग्ने प्रतिष्ठानको रणनीति छ । यसअघि तत्कालीन उपकुलपति राजकुमार रौनियारले पनि प्रतिष्ठान भित्रकै दुई ठाउँमा फार्मेसी सञ्चालनमा ल्याउने प्रयास गरेका थिए । तर मेडिकल माफिया र सार्वजनिक खरिद नियमावलीका कारण आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन नसकेको भन्दै बन्द गरिएको थियो ।

अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले चाडै नै दन्तचिकित्सा महाविद्यालय (डेन्टल) अर्थोपेडिकलगायतमा पनि फार्मेसी सेवा विस्तार गर्ने बताए । उनले प्रतिष्ठानमा करिब ५ हजार प्रकारका औषधि उपलब्ध हुने बताए । प्रतिष्ठानले निर्माण गरेको करिब १३ करोड लागतको फार्मेसी भवन आगामी मंसिरमा निर्माण सम्पन्न भएर प्रतिष्ठानलाई हस्तान्तरण भएपछि व्यवस्थापन झन सहज हुने प्रसादले बताए । उनले भने, ‘बाहिर दलाल नियन्त्रण गर्न प्रतिष्ठानले उपचारका लागि भर्ना भएकालाई बेडमा नै औषधि पुर्‍याइदिने गृहकार्य पनि भइरहेको छ ।’ धरानमा वार्षिक २ अर्बको औषधिको बजार भएको जानकारहरू बताउँछन् ।

प्रतिष्ठानको सुवर्ण फर्मास्युटिकल अलपत्र

प्रतिष्ठानले स्थापनाकालमै साल्ट ट्रेडिङसँगको साझेदारीमा खोलेको सुवर्ण फर्मास्युटिकल कम्पनी यतिबेला अलपत्र परेको छ । मोरङको सुन्दरहरैचामा १४ बिघा १० कठ्ठा १३ धुर जग्गा खरिद गरेर विभिन्न औषधि उपत्पादन गर्न उक्त उद्योग सञ्चालनमा ल्याउने भने पनि हाल उक्त जग्गा सदुपयोगविहीन भएको छ । अढाइ दसक अगाडि प्रतिष्ठानको करिब ४ करोड रुपैयाँ लगानी रहेको बताइएको उक्त जग्गा हाल प्रतिष्ठानकै स्वामित्वमा छ । प्रतिष्ठान आउने सेवाग्राहीका लागि चाहिने औषधि उत्पादन गर्न भनेर ०५२ मा उक्त कम्पनी सञ्चालन गर्न पूर्वाधार तयार गरिको प्रतिष्ठानसम्बन्धी जानकार डा राजेन्द्र शर्माले बताए ।

उनले भने, ‘तर प्रतिष्ठानको ड्रिम प्रोजेक्टको रुपमा लिइएको यो योजना सफल नभएपछि तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (बीपी दास)ले कमिसनको लोभमा परेर जग्गा नै बिक्री गर्ने भनेर सिनेट बैठकमा प्रस्ताव समेत राखेका थिए । तर संस्थाको जग्गा, भौतिक सम्पत्ति बिक्री गर्न हुँदैन भनेर चर्को विरोधपछि त्यो जग्गा अहिले अलपत्र परेको छ । प्रतिष्ठानले संरक्षण र सदुपयोग गर्न सकेको छैन ।’ बीपीभित्रकै आर्थिक हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरे पछि दास हाल निलम्बनमा छन् ।

बहालको बक्यौता अझै बाँकी

प्रतिष्ठानमा आफ्नै फार्मेसी नहुँदा स्थापनाकालको केही वर्षपछि रजत फर्मा भन्ने कम्पनीलाई प्रतिष्ठानभित्रै बहालमा कोठा दिएर औषधि बिक्री गर्न दिएको थियो । विराटनगरका रञ्जित अग्रवालका नाममा रहेको उक्त फर्माले मासिक भाडा तिर्ने सर्तमा उक्त औषधि पसल सञ्चालन गरेको थियो । करिब ८ वर्ष प्रतिष्ठानमा औषधि बिक्री गरे पनि निस्केर जाँदा उसको करिब १५ लाख रुपैयाँ भाडा बक्यौता छ ।

रजत फर्मापछि धरानकै चेतन अग्रवालको नाममा रहेको लाइफ केयरले पनि करिब ७ वर्ष प्रतिष्ठानभित्रै कोठा भाडामा लिएर औषधि बेच्यो । सरकारले प्रत्येक सरकारी अस्पतालको आफ्नै फार्मेसी हुनुपर्ने नीति अख्तियार गरेपछि २०७६ पुसमा लाइफ केयरले छाडेको थियो । तर उसले पनि प्रतिष्ठानको कोठा भाडामा लिएर अर्बौं रुपैयाँको औषधि बिक्री गरे पनि ४१ लाख ५० हजार रुपैयाँ बहाल शुल्क नतिरेको लेखा शाखाले जनाएको छ । बहाल शुल्क नतिर्ने पहिलेका फार्मेसी सञ्चालकहरूलाई तत्काल बहाल शुल्क तिर्न पत्र लेख्ने प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद संग्रौलाले बताए ।

स्पाइन सर्जनको अभ्यास

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुकभरबाट भेला भएका मेरुदण्डसम्बन्धी शल्यचिकित्सकले ‘क्याडभरिक’ (मानव शव) प्रयोग गरेर शनिबार दिनभर अभ्यास गरे । एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र प्रतिष्ठानको हाडजोर्नी विभागको संयुक्त रूपमा आयोजित एकदिने स्पाइन वर्कसप (मेरुदण्ड उपचारको कार्यशाला) मा प्रतिष्ठानमा राखिएको क्याडभरिक मध्ये चार वटामा नयाँपुस्ताका मेरुदण्डसम्बन्धी शल्यचिकित्सकलाई वरिष्ठ शल्यचिकित्सकले सैद्धान्तिक र व्यावहारिक अभ्यास गराएको हो । प्रतिष्ठानमा यो दोस्रो अभ्यास हो ।

प्रतिष्ठानका स्पाइन सर्जन तथा कार्यशालाका वैज्ञानिक शोधपत्रका संयोजक प्रा.डा. प्रमोद बरालले भने, ‘कुनै पनि मेरुदण्डसम्बन्धी चिकित्सकले एकैचोटि बिरामीको मेरुदण्डको शल्यक्रिया गर्दा गल्ती हुन सक्ने भएकाले सैद्धान्तिक र व्यावहारिक ज्ञान एवं अभ्यासका लागि वरिष्ठ चिकित्सकमार्फत कनिष्ठ चिकित्सकलाई सीप सिकाउन क्याडभरिक प्रयोग गरिएको हो ।’ उनले यसरी सिक्दा मेरुदण्डको शल्यक्रिया प्रभावकारी, सफल र सुरक्षित हुने बताए । कार्यशालामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर), विराटनगरको नोबल मेडिकल कलेजलगायत दर्जन बढी मेडिकल कलेजमा एमएस अध्ययनरत चिकित्सक सहभागी थिए ।

प्रकाशित : आश्विन ३, २०७९ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?