बीपी प्रतिष्ठानमा स्पाइन सर्जनको अभ्यास

प्रदीप मेन्याङ्बो

सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुकभरबाट भेला भएका मेरुदण्डसम्बन्धी शल्यचिकित्सकहरूले ‘क्याडभरिक’ (मानव शव) प्रयोग गरेर शनिबार दिनभर अभ्यास गरे ।

बीपी प्रतिष्ठानमा स्पाइन सर्जनको अभ्यास

एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल र प्रतिष्ठानको हाडजोर्नी विभागको संयुक्त रुपमा आयोजित एकदिने स्पाइन वर्कसप (मेरुदण्ड उपचारको कार्यशाला) मा प्रतिष्ठानमा राखिएको क्याडभरिकमध्ये चारवटामा नयाँपुस्ताका मेरुदण्डसम्बन्धी शल्यचिकित्सकहरूलाई वरिष्ठ शल्यचिकित्सकहरूले सैद्धान्तिक र व्यावहारिक अभ्यास गराएको हो । प्रतिष्ठानमा यो दोस्रो अभ्यास हो ।

प्रतिष्ठानका स्पाइन सर्जन तथा कार्यशालाका वैज्ञानिक शोधपत्रका संयोजक प्राध्यापक डा. प्रमोद बरालले भने, ‘कुनै पनि मेरुदण्डसम्बन्धी चिकित्सकले एकैचोटी बिरामीको मेरुदण्डको शल्यक्रिया गर्दा गल्ती हुनसक्ने भएकाले सैद्धान्तिक र व्यावहारिक ज्ञान एवं अभ्यासका लागि वरिष्ठ चिकित्सकहरूमार्फत कनिष्ठ चिकित्सकहरूलाई सीप सिकाउन क्याडभरिक प्रयोग गरिएको हो ।’ उनले यसरी सिक्दा मेरुदण्डको शल्यक्रिया प्रभावकारी, सफल र सुरक्षित हुने बताए ।

उनका अनुसार चार समूह बनाएर सैद्धान्तिक ज्ञान अडिटोरियम हलमा र क्याडभरिकमाथि अभ्यास प्रतिष्ठानको एनाटोमी विभागमा गरिएको थियो । कार्यशालामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर), विराटनगरको नोबल मेडिकल कलेजलगायत दर्जनभन्दा बढी मेडिकल कलेजमा एमएस अध्ययनरत चिकित्सकहरू सहभागी थिए । आयोजक कमिटीका सचिवसमेत रहेका प्रतिष्ठानका हाडजोर्नी विभागका स्पाइन सर्जन प्राध्यापक डा. पशुपति चौधरीले भने, ‘स्पाइनसम्बन्धी समस्या पहिचान र निदान गर्न मानव शवमाथि नै ‘ह्यान्ड अन ट्रेनिङ’ गरेर चिकित्सकीय ज्ञान आदान प्रदान गर्‍यौं ।’ उनका अनुसार स्पाइन सर्जरीमा आफ्नो चिकित्सकीय योग्यता र दक्षता हासिल गर्दै सीप आर्जन गरेर करियर बनाउन चाहने युवा हाडजोर्नी विशेषज्ञ तथा जुनियर रेजिडेन्ट चिकित्सकहरूलाई लक्षित गरेर धरानमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा स्पाइन विशेषज्ञ चिकित्सकहरूले दुई दर्जनभन्दा बढी कार्यपत्र प्रस्तुत गरेका थिए । प्राध्यापक डा. चौधरीले भने, ‘स्पाइन सर्जरी आफैँमा जटिल विधा हो । सडक दुर्घटनामा परी मेरुदण्डको हड्डी भाँचिनु; नसामा चोट लागेर पक्षघात हुँदा मेरुदण्डमा जटिल समस्या उत्पन्न हुने भएकाले ती समस्याको उपचार गर्न आधुनिक चिकित्सा पद्धतिको ज्ञान आदान प्रदान गर्न यस्ता अभ्यासले मद्दत गर्छ ।’

प्रतिष्ठानका पूर्वशिक्षाध्यक्षसमेत रहेका हाडजोर्नी विभागका प्रमुख प्राध्यापक डा. विक्रमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यशालाले नयाँ चिकित्कहरुलाई हौसला र सीप प्रदान गर्ने बताइएको छ । पछिल्लो समयमा स्पाइन समस्याको उपचार नेपालमै हुन थालेकाले विदेश जान नपर्ने अवस्था आएको कार्यशालामा सहभागी भएका एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपालका अध्यक्ष प्राध्यापक डा. रोहितकुमार पोखरेलले बताए ।

कार्यशालामा नेपालका वरिष्ठ स्पाइन सजर्नहरू प्राध्यापक डा. विमल पाण्डे, प्राध्यापक डा. सुरज बज्राचार्य, प्राध्यापक डा. गौरवराज ढकाल, प्राध्यापक डा. चौधरी, प्राध्यापक डा. बराल, डा. व्यापक पौडेल, डा. राजिव महर्जन, प्रा.डा. दीपक श्रेष्ठ, डा. प्रेम शाही, डा. सुवास झालगायतले स्पाइन सर्जरीबारे सैद्धान्तिक व्यावहारिक सीपको जानकारी दिएका थिए ।

प्रकाशित : आश्विन २, २०७९ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?