आगामी निर्वाचनमा अपांगता भएकालाई पनि उम्मेदवार बनाउन माग

अर्जुन राजवंशी

बिर्तामोड — मंसिर ४ को निर्वाचनमा अपांगता भएका व्यक्तिहरूलाई पनि उम्मेदवार बनाउन माग गरिएको छ । नेत्रहीन युवा संघ नेपाल झापाले जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला पक्षसँग प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व हुनेगरी उम्मेदवार तय गर्न माग गरेको हो ।

आगामी निर्वाचनमा अपांगता भएकालाई पनि उम्मेदवार बनाउन माग

संविधानको धारा ४२, ८४ (३), ८६ (२) को (क) र १७६ (७) कार्यान्वयन गर्दै आगामी निर्वाचनमा अपांगता भएकाहरूको पनि प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले बताए । प्रदेश सभा र राष्ट्रिय सभाको गठन गर्दा अपांगता भएका व्यक्तिलाई निर्वाचित गर्नुपर्ने व्यवस्था रहे पनि अघिल्लोपटक त्यस्तो हुन नसकेकाले यसपटक प्रतिनिधित्व सुनिश्चित गर्न दबाबमुलक अभियान सुरु गरेको बताए । संघले बिहीबार बिर्तामोडमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लामा क्रियाशीलमध्ये ६ वटा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई लिखित ज्ञापनपत्रसमेत बुझाएको छ ।

‘समावेशी सिद्धान्तअन्तर्गत संसद्‌मा अपांगता भएकाहरूको पनि प्रतिनिधित्व हुनुपर्ने हो; त्यसका लागि संविधानमा स्पष्ट व्यवस्था पनि छ । तर, राजनीतिक दलहरूले अपांगता भएकाहरूलाई उम्मेदवार बनाएर संसद् पुर्‍याइरहेका छैनन् । त्यसकारण हामीले यो दबाब अभियान सुरु गरेका हौं‚’ राजवंशीले भने । उनले अपांगतामैत्री निर्वाचन प्रणाली पहुँचयुक्त बनाउन तथा अपांगता भएकाहरूको विविध समस्या सम्बोधनका लागि पनि संसद्‌मा प्रतिनिधित्व जरुरी रहेको तर्क गरे ।

साथै संघले जिल्ला निर्वाचन कार्यालयसहित राजनीतिक दल र सरोकारवाला पक्षलाई अपांगमैत्री निर्वाचन प्रणाली अपनाउन आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपाललाई लिखित ज्ञापनपत्र बुझाउँदै जिल्लामा निर्माण हुने मतदानस्थल तथा मतदान केन्द्रहरू अपांगमैत्री बनाउन उनीहरूले माग गरे ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसद्‌मा अपांगता भएकाहरूको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भए पनि अपांगता भएकाहरू राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुःखद् भएको बताए । उनले आगामी निर्वाचनमा झापामा अधिकतम मतदानस्थल अपांगतामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईंले अगामी निर्वाचनमा अपांगता भएकाहरूलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । उनले कांग्रेसको विधानमै अपांगता भएकाहरूलाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपांगता भएकाहरूको माग सम्बोधन गर्ने बताए । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्तविपरीत हुने बताए । उनले एमालेले समावेशी सिद्धान्तलाई पूर्ण रुपमा पालना गर्दै अपांगता भएकाहरूको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र ३०, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?