२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

जिल्ला नेता केन्द्र धाउनमा व्यस्त

सिफारिसमा परेका स्थानीय नेताहरु टिकट पक्कापक्की गर्न काठमाडौंमा
डम्बरसिं राई

खोटाङ — भदौ तेस्रो सातासम्म जिल्ला नेताले भरिभराउ थियो । चोक, चिया पसल, हाटबजार जताततै राजनीतिक गफ खुब चल्थ्यो । तर अहिले भने जिल्लामा राजनीतिक गतिविधि सुनसान छ । 

नेता जति टिकटको जोहो मिलाउन काठमाडौं गएपछि जिल्लामा नेता नदेखिएका हुन् । क्षेत्रबाट टिकटका लागि सिफारिस भए पनि पार्टीका शीर्षस्थ नेताकै तजबिजमा अन्तिम निर्णय गरिने हुनाले केन्द्रमा धाउनुपर्ने बाध्यता रहेको जिल्ला नेता बताउँछन् ।

टिकटकै मेसो मिलाउन कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई आइतबार काठमाडौं लागेका छन् । प्रदेशसभाका लागि खोटाङ (ख) मा अग्रपंक्तिमा नाम रहेका उनी टिकटकै लबिइङका लागि संघीय राजधानी गएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीको भनाइ छ । प्रदेशसभा खोटाङ (ख) मा कांग्रेसले प्रत्यक्षबाट जिल्ला सभापति राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम अघि सारेको छ । प्रदेशसभा खोटाङ (क) मा प्रत्यक्षबाट सिफारिस भएका कांग्रेस पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठ पनि केन्द्रमै छन् । उनीलगायत प्रत्यक्षबाट दाबेदारहरू जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, धर्मराज पोखरेल, मनोज तिमिल्सेना, इवन राई र गोपाल सैंजूसमेत टिकटका लागि नेतालाई भेट्न गएको जोशीले बताए ।

प्रतिनिधिसभा उम्मेदवारका लागि सूचीकृत पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राई, सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, रामप्रसाद आचार्य, विष्णुराज राई, योगेन्द्र राई, शरणकुमार राई र डा. राजकुमार राईसमेत संघीय राजधानीमा छन् । समानुपातिकबाट दाबेदार सरस्वती बजिमय, शान्तिदेवी राई, दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीसमेत टिकटको चाँजोपाँजो मिलाउन संघीय राजधानीमा दौडधुप गरिरहेको जोशीले सुनाए । भदौ १६ देखि १८ सम्म भएको बैठकले टिकटका लागि नाम सिफारिस गर्नासाथ उनीहरू काठमाडौं गएका हुन् ।

नेकपा एमालेका नेताहरू पनि उतै छन् । प्रतिनिधिसभाका लागि सिफारिस भएका खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, देवान राईलगायत निर्णयकर्ता नेताहरूकामा धाइरहेको एमाले जिल्ला सचिव कुमार आचार्यको भनाइ छ । प्रतिनिधिसभाका आकांक्षी एमाले प्रमुख सचेतक तथा पोलिटब्युरो सदस्य विशाल भट्टराई र पाँचकर्ण राई भने जिल्लामै छन् । प्रदेश (क) को प्रत्यक्षमा नाम अघि बढाइएका एमाले जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश (ख) मा सिफारिस भएका एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल केन्द्रमै टिकटका लागि अन्तिम कसरत गर्दै छन् ।

माओवादी केन्द्रबाट प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अघि बढाइएका माओवादी अनुशासन आयोगका अध्यक्ष टंक राई, प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई, समिता कार्की पनि केन्द्र धाइरहेका छन् । मन्त्री राई विराटनगर फर्किसकेका छन् । नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभाका लागि एकल सिफारिस भएका प्रदेश १ सामाजिक विकासमन्त्री राजन राई पनि शनिबारदेखि काठमाडौंमा छन् । उनी पनि टिकट सुनिश्चित गर्न केन्द्रमा छन् । उनले भने, ‘यो बेला त नेतालाई भेट्नै पर्‍यो नि, होइन र ?’

प्रकाशित : भाद्र २८, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?