ठूला दललाई नेता व्यवस्थापनकै चुनौती

यसपटक निकटता वा पहुँचको आधारमा नभई जित्न सक्ने सम्भावना भएको उम्मेदवारलाई टिकट दिने गरी गम्भीर विश्लेषणमा रहेको दलहरुका दाबी
कुम्भराज राई

ओखलढुंगा — जिल्लाबाट संघ र प्रदेशका लागि दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । ठूला भनिएका तीनै दलले पार्टी केन्द्रलाई आकांक्षीको सूची पठाए । त्यसमध्ये नेकपा माओवादी केन्द्रले मात्र संघमा सर्वसम्मत एक मात्र सुरेन्द्र कुमार (राम) कार्कीको नाम पठाएको छ । 

ठूला दललाई नेता व्यवस्थापनकै चुनौती

कांग्रेस र एमालेले तीन–तीनजनाको नाम संघीय चुनावका लागि सिफारिस गरेको छ । एउटा मात्र संघीय निर्वाचन क्षेत्र भएको जिल्लामा पार्टी केन्द्रले एक–एक जनालाई टिकट दिँदा नपाउने अन्य नेताको व्यवस्थापनमा सकस देखिन्छ । कांग्रेसबाट सिफारिस हुनेहरू प्रदीपकुमार सुनुवार, रामहरि खतिवडा र बालकृष्ण दाहाल छन् । सुनुवार र खतिवडा केन्द्रीय सदस्य एवं देउवा पक्षधर हुन् । खतिवडा पूर्वसंविधानसभा सदस्य हुन् । उनी २०४८ देखि पार्टीको महाधिवेशन प्रतिनिधि हुन् । सुनुवार पार्टीका दुई पटक जिल्ला सभापति भइसकेका नेता हुन् ।

देउवाले पार्टी विभाजन गरी प्रजातान्त्रिक कांग्रेस बनाएदेखिको देउवा खेमामा उभिएका सुनुवार साविकको सगरमाथा अञ्चलमा देउवा पक्षका कोही जिल्ला सभापति नहुँदा पनि एक्लै सभापति जितेका नेता हुन् । बालकृष्ण दाहाल कोइराला खेमाका नेता हुन् । यी तीनै जना संघीय सांसदका आकांक्षी छन् ।

‘पार्टी केन्द्रले संघका लागि जसलाई टिकट दिए पनि, टिकट नपाउने नेतालाई कहीँ न कहीँ व्यवस्थापन गर्नुपर्ने चूनौती छ,’ कांग्रेसका जिल्ला सचिव अजय लुईटेलले भने, ‘समानुपातिकमा राखेर वा प्रदेशसभामा मुख्यमन्त्रीको उम्मेदवार बनाउने टुंगो लगाएर भए पनि व्यवस्थापन गर्नुपर्ने चर्चा छ, तर अहिले भन्न सकिने अवस्था छैन ।’ गठबन्धन हुँदा माओवादी केन्द्रले संघमा छोडे पनि कम्तिमा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ नछोड्ने भएकोले कांग्रेसलाई टिकटको सन्तुलन मिलाउन गाह्रो देखिन्छ ।

नेकपा एमालेबाट संघीय निर्वाचनका लागि यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङ र किशोर अधिकारीको नाम अघि बढाइएको छ । त्यसमध्ये सुनुवार केन्द्रीय सदस्य तथा वर्तमान निर्वाचित सांसद हुन् । किशोर केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन् । अम्बिरबाबु वर्तमान प्रदेशसभा सांसद तथा प्रदेश सदस्य हुन् । यी तीनमध्ये अम्बिरबाबु र किशोर केपी ओली निकट मानिन्छन् ।

‘स्वभाविक रुपमा पार्टी केन्द्रलाई गाह्रो छ,’ एमालेका जिल्ला अध्यक्ष शंकर कटवालले भने, ‘तर पार्टी केन्द्रले यसपाली कसैको निकटता वा पहुँचको आधारमा नभएर स्थानीय तहको निर्वाचनलाई गम्भीर रुपमा विश्लेषण गरि जसले चुनाव जित्न सक्छ उसैलाई टिकट दिने भनेको छ, त्यसमा हामी सबै सहमत छौँ भनेर सिफारिस गरेको नेताहरूले प्रतिबद्धता जनाउनु भएको छ ।’

यसपटक एमालेले उम्मेदवारका लागि अघि सारिएका सबैको बायोडाटा, सम्पति विवरण, मतदाता परिचयपत्र, नागरिकतालगायतका कागजात समेत संकलन गरि पठाउन निर्देशन गरेको छ । त्यसका लागि सबैको कागजात संकलन भइरहेको र समानुपातिक उम्मेदवारको बन्दसूचीमा नाम समावेश गर्नुअघि नै पठाइसक्नुपर्ने समेत एमालेका जिल्ला अध्यक्ष शंकर कटवालले बताए । माओवादी केन्द्रले पनि गठबन्धन हुने वा नहुने दुवै अवस्थामा पनि संघका लागि सर्वसम्मत उम्मेदवार माओवादी केन्द्रका सचिव समेत रहेका राम कार्कीको नाम सिफारिस गरेको जनाएको छ ।

‘गठबन्धन हुँदै गर्दा भोट संख्यालाई मात्रै आधार मान्ने कुरा पक्कै हुँदैन’ माओवादीका जिल्ला अध्यक्ष निशान्त शर्माले भने, ‘त्यसैले हामीले गठबन्धन नहुँदा पनि एक्लै चुनाव लड्ने गरी सिफारिस गरेका छौं, गठबन्धन हुँदा कम्तिमा एउटा प्रदेशसभा हाम्रो हुनेमा विवाद छैन ।’

साना दलको पनि सिफारिस

गठबन्धनमा समावेश तथा साना भनिएका दलहरूले पनि आ–आफ्ना उम्मेदवार अघि सारिसकेका छन् । नेकपा एकीकृत समाजवादीले संघका लागि नेत्रप्रसाद भट्टराई, मेखबहादुर खडका र छत्रबहादुर कार्कीको नाम सिफारिस गरेको छ ।

त्यसैगरि जनता समाजवादी पार्टीले संघका लागि जुद्धबहादुर राईको नाम तय गरेको छ । रोचक चाहिँ के छ भने जसपाबाट संघमा जुद्ध राईका आफ्नै बहिनी जानुका राई र प्रदेशसभा ‘ख’ प्रत्यक्षका लागि सिफारिस भएका प्रभूराम श्रेष्ठकी श्रीमती अञ्जु श्रेष्ठको नाम समानुपातिकका लागि सिफारिस गरिएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?