धनकुटा माओवादीले 'गठबन्धन नगर्ने'- प्रदेश १ - कान्तिपुर समाचार

धनकुटा माओवादीले 'गठबन्धन नगर्ने'

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा नेकपा माओवादी केन्द्रले अन्य दलसँग गठबन्धन नगर्ने ठहर गर्दै छुट्टै उम्मेदवारी घोषणा गरेको छ ।स्थायी कमिटी सदस्य हेमराज भण्डारीले गत स्थानीय तह चुनावमा कांग्रेसबाट धोका भएकाले संवादहीनता रहेको भन्दै जिल्लामा पार्टी एकल रूपमा चुनावमा प्रतिस्पर्धा गर्ने बताए ।


पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले चितवनमा आफ्नो उम्मेदवारी सुरक्षित गर्ने र अन्य जिल्लामा गठबन्धनको नाममा अन्य पार्टीलाई भर्‍याङ बनाउने काम गरेको भन्दै उनले तीव्र असुन्तष्टि व्यक्त गरे ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ माओवादी स्थायी कमिटी सदस्य हेमराज भण्डारीलाई उम्मेदवार घोषणा गरिएको छ । प्रतिनिधिसभामा एक मात्र क्षेत्र रहेको जिल्लामा भण्डारी सर्वसम्मत भएको पार्टीका संयोजक डिल्लीराम राईले जनाए । समानुपातिकतर्फ गायक शम्भु राईसहित धनमाया विश्वकर्मा, तिकलप्रसाद राई र प्रेम दलाहाङ उम्मेदवार सूचीमा छन् । प्रत्यक्षतर्फ प्रदेशसभा ‘क’ मा भूमिराज देवान, भरतसिंह राई, शोनाम लामा र इन्द्र खत्री उम्मेदवार छन् । प्रदेशसभा ‘ख’ का लागि नगेन्द्र गहतराज, कुसुमकुमारी श्रेष्ठ, दुर्गा कुवँर र मुक्ति बजगाई छन् ।

प्रदेशसभाका दुई क्षेत्र मध्ये ‘क’ मा ऋषिराम भण्डारी, डिल्लीराम राई, स्मीता निरौला, हेमचन्द्र राई र विष्णुमाया कन्दङ्वा र ‘ख’ तर्फ विष्णु पारघरे, युगल राई, सरिता बसाइली, दीपक आले मगर र चिरञ्जीवी राई रहेको जनाइएको छ । गठबन्धनको नाममा भूमिका विहीन हुनबाट रोक्न उम्मेदवारी दिइएको स्थायी कमिटी सदस्य भण्डारीले बताए ।

कांग्रेसकातर्फबाट प्रतिनिधिसभामा उम्मेदवार भएका सुनील थापा र एमालेका उम्मेदवार राजेन्द्र राईभन्दा विकास र दूरगामी दृष्टिकोणबाट आफूसक्षम रहेको भण्डारीको दाबी थियो ।

प्रकाशित : भाद्र २६, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

अशोक राईदेखि मदन भण्डारीसम्मले ओढेको बर्को

भूमिगत नेतालाई आश्रय दिनेहरु तत्कालीन सरकारका सुराकीले पत्तो पाउलान् भनेर हरदम सतर्क देखिन्थे । मसिनो स्वरमा आलोपालो बोल्थे । नौलो मानिस आउँदा कोड भाषा बोल्थे । ‘ए देवी भाइ हेर’ भन्दा सबै चुपचाप रहन्थे ।
रमेशचन्द्र अधिकारी

धनकुटा — वर्षौं पहिले माइतीले दिएको कालो रंगको कम्बल देख्नासाथ धनकुटा–३ पात्लेकी कमला वाग्ले पुरानो दिन झल्झली सम्झन्छिन् । चार दशकअघि तत्कालीन सरकारको आँखा छलेर सेल्टर माग्न आएका कम्युनिस्ट पार्टीका नेतालाई उनले यही कम्बल ओढाएर घरमा लुकाएकी थिइन् । 

चार दशकअघि कम्युनिस्ट नेताहरूलाई ‘सेल्टर’ दिँदा प्रयोग गरिएको कम्बल देखाउँदै धनकुटा–३ पात्लेकी कमला वाग्ले, साथमा श्रीमान् गोपाल । तस्बिर : कान्तिपुर

२०३८ सालमा उनीकहाँ आश्रय लिएका थिए, सागर उपनाम राखेका मदन भण्डारी, हर्कराज उपनाम राखेका अशोक राईलगायतले । वाग्ले निवास सम्पन्न थिएन । कमलाले ऐंचोपैंचो गर्दै ढिँडो र मकैको च्याँख्ला खुवाएर नेताहरूलाई पालिन् । नेताहरू बीच–बीचमा जाने आउने गर्थे । कमला अझै सम्झन्छिन्, अशोक राई भने १४ दिनसम्म लुकेर बसेका थिए ।

लुकीलुकी क्रान्तिको कार्यभार सम्हालेकाले होला त्यो बेला कम्युनिस्ट नेताहरू मैलौधैलो नै देखिन्थे । अहिलेजस्तो घरघरमा बाथरुम थिएनन् । खुला ठाउँमा नुहाउँदा सरकारी सुराकीले देख्ने भएकाले नेतालाई नुहाउन समस्यै थियो । ‘एक जना नेताको त कपालभरि जुम्रा थियो । मैले पानी तताएर सेउलाले ढाकेर नुहाइदिएकी हुँ,’ उनी भन्छिन् । त्यतिबेला आफूले कैयौं छाक नुन–पानीले टारेर पाहुना नेतालाई ढिडो खुवाएको उनले बताइन् । तर त्यसरी आफूले राखेका नेताहरूले पछि ठूला पदमा पुगेपछि आफूहरूलाई चटक्कै बिर्सिएको उनको गुनासो छ ।

धनकुटाबाट भोजपुर जाने बाटो छेउमै घर भएकाले नेताहरू लुकाएर बास दिन सजिलो थिएन । कमलाका श्रीमान् गोपालले उनीहरूलाई लुकाउँदा आफूले कैयौं रात जाग्राम बसेर सुराकीबाट जोगाउन चियो गरेको सुनाए । २०४६ सालमा प्रजातन्त्र आयो । कमला दम्पतीले आश्रय दिई लुकाएकाहरू ठूला नेता बनेको थाहा पाए । तर नेताहरूले कहिल्यै फर्केर पनि आफूहरूलाई नसम्झेको देख्दा उनीहरूको चित्त कुँडिएको छ । गोपालसँग अर्को पनि चित्त दुखाइ छ ।

मन्त्री भएर विराटनगरमा अशोक राई आएका बेलाको प्रसंग सुनाए, ‘मन्त्री भनेर भेट्न पुगें । सुरुमा चिन्दै चिनेनन् । पछि चिनाउँदा पनि बेवास्ता गरे ।’ गोपालले मदन भण्डारी भने अरूभन्दा फरक रहेको पनि बताए । २०४७ सालमा धनकुटाको तल्लो टुँडिखेलमा आएका बेला आफूले भण्डारीसँग भेटेको र उनले ‘सेल्टर दिने कमरेड होइन ?’ भन्दै हात मिलाएको बताए । उनले भने, ‘म त खुसीले गदगद भएँ ।’

पञ्चायती शासनको विरोधमा गतिविधि गर्नेलाई निकै गाह्रो थियो । पार्टी संगठन गर्न खटिएकाहरू धेरैतिर आश्रय लिँदै लुक्दै हिँड्थे । उनीहरूको गतिविधि निगरानी गर्ने सुराकी छल्न सजिलो थिएन । कम्युनिस्ट राजनीतिमा लागेर भूमिगत भएका नेताहरूलाई सेल्टर दिएका वाग्ले दम्पतीजस्ता धनकुटावासी थुप्रै छन्, जसलाई नेताहरूले भेट्दा पनि नचिनेजस्तो गरेको गुनासो छ ।

धनकुटा–३ पात्लेका कुलकेशर वाग्लेलाई २०३८ जेठ ८ सम्झनामा ताजै छ । त्यो दिन उनको घरमा कालो टोपी लगाएका अपरिचित युवक आएका थिए । उनलाई पार्टी स्रोतले हुलिया बताएर भनेको थियो– ‘सागर कमरेड आउनुहुन्छ, सुरक्षितसँग राख्नुहोला ।’ पूर्व क्षेत्रीय कमिटीको प्रशिक्षणका लागि त्यहाँ पुगेका युवक थिए, मदन भण्डारी ।

कुलशेखरका अनुसार त्यो दिन उनको घरको बुइगलमा ४० जना भेला भएका थिए । तिनीहरूले १० दिनको प्रशिक्षण लिएका थिए । उनले भण्डारीसहित त्यतिबेला प्रशिक्षणमा अमृतकुमार बोहरा, उदय बस्नेत, अशोक राई, चित्र निरौला, रमेश निरौला, कृष्ण राई, गोपाल गुरागाईं, रमेश खनाल, चन्द्रबहादुर बस्नेत, जीवप्रसाद पोखरेल, राजेश बान्तवालगायत सहभागी भएको सुनाए । मदन, अमृत, अशोक र चित्र प्रशिक्षकका रूपमा थिए । ती सबैलाई खुवाउन खाद्यान्न सहभागीले केही र केही प्रतिशत आफूले बेहोरेको उनले सुनाए ।

वाग्ले पत्नी दुर्गालाई पनि त्यो दिनको सम्झना छ । त्यतिबेला उनीहरूको नाबालक सन्तान थियो । दुर्गाले त्यो बेला नेताका लागि खाना पकाउनको व्यस्तताका कारण छोराको स्याहार गर्ने समय बिथोलिएको सम्झँदै भनिन्, ‘उहाँहरूलाई खाना र खाजाको व्यवस्था गर्न निकै समय लाग्थ्यो ।’

वाग्लेका अनुसार नेताहरू तत्कालीन सरकारका सुराकीले पत्तो पाउला भनेर हरदम सतर्क देखिन्थे । मसिनो स्वरमा आलोपालो बोल्थे । नौलो मानिस आउँदा कोड भाषा बोल्थे । ‘ए देवी भाइ हेर’ भन्दा सबै चुपचाप हुन्थे । मानिस गएपछि ‘ए देवी भाइ निदायो’ भन्ने गरिन्थ्यो । वाग्लेका अनुसार देवी नाम गरेकी उनकी बैनी थिइन् । नेताहरूले उनकै नामलाई कोड भाषा बनाएका थिए । बुइगलमा प्रशिक्षण चल्दा नेताहरूले त्यहीँभित्र टिनको भाँडो राखेर त्यसैमा पिसाब फेर्थे । किनकि बारम्बार बाहिरफेर निस्कँदा सरकारी मान्छेले देख्ने खतरा थियो । पिसाबको भाँडो राति बारीमा लगेर खन्याउँथे ।

कुलकेशरले पनि खुला परिवेशपछि आफूले आश्रय दिएका नेताहरूलाई भेट गर्दा उनीहरूले नचिनेका तितो सुनाए । केहीले भने तिथिमिति बताएर सेल्टर दिएको प्रसंग सुनाएपछि बल्ल चिनेजस्तो गरेको बताए ।

धनकुटा–३ सेउलेका ६९ वर्षीय कृष्ण राईको अनुभव पनि कमला र कुलशेखर दम्पतीको भन्दा फरक छैन । उनको इलामको हालको देउमाई–२ चित्रेस्थित पुरानो घर एक समय भूमिगत नेता लुकाउने थलो थियो । कृष्ण सहिद रत्नकुमार वान्तवाका भाइ हुन् । उनले दाजुसँग मिलेर कमरेडहरू लुकाउन घरमा बङ्कर नै बनाएका थिए । दाजुभाइ दुवै पार्टीमा भूमिगत भएरै सक्रिय थिए । रत्नलाई तत्कालीन शासकले पक्राउ गरेर २०३६ चैत २७ मा गोली हानेर हत्या गरे ।

इलामका सहिद रत्नकुमार बान्तवाका भाइबुहारी कृष्ण र रतन । तस्बिर: रमेशचन्द्र अधिकारी/कान्तिपुर

बाबु गर्जमान र भाइ महेशलाई पक्राउ गरेर तीन वर्ष जेल हालियो । यो घटनापछि २०३७ सालमा उनको परिवार धनकुटा सर्‍यो । २०३६ सालमा भएको खोकु छिन्ताङ हत्याकाण्डपछि बिथोलिएको संगठन सुदृढ गर्न पार्टीले उनलाई धनकुटा खटाएको थियो । धनकुटाको उनको घर पनि कमरेडहरूको सेल्टरजस्तै थियो । जहाँ मदन भण्डारी, विनोद मैनालीलगायतका कैयौं नेताहरू बसेको उनले बताए । राजनीतिमा लागेर दुःख पाएबापत २०४९ मा धनकुटा नगरपालिका–२ को वडाध्यक्ष बने । तर उनको राजनीति त्यहाँभन्दा अघि बढेन । दाजुको हत्या भएकै कारण पछि राज्यले उनको परिवारलाई एक लाख र राजनीतिक पीडित भनेर ५० हजार दियो ।

राजनीतिमा लागेर सिंगो परिवारले सास्ती खेपे पनि २०४६ पछि खुला परिवेशमा आएका नेताले आफूहरूलाई वास्ता नगरेको गुनासो उनको छ । उनी भन्छन्, ‘आफैंले सेल्टर दिएका नेताहरूले पनि चिनेनन् ।’ पछिल्लो समय नेताहरू राजनीतिक सिद्धान्तबाट विचलित भएको देख्दा आफूलाई पीडा हुने उनले बताए । छथर जोरपाटी गाउँपालिकास्थित हात्तीखर्ककी धनमाया सिञ्जालीले पनि कैयौं कमरेडहरूलाई सेल्टर दिएकी थिइन् । उनले भूमिगत राजनीतिका बेला मदन भण्डारी, भरतमोहन अधिकारीलगायत नेतालाई आफ्नो घरमा आश्रय दिएको तर त्यस्तो दुःखको बाटो हिँडेका नेताहरूले पछि बाटो बिराएको दुःख सुनाइन् ।

सरकारको नेतृत्वमा पुगिसकेका कैयौं नेताले जिल्लामा प्रशस्तै रूपमा भूमिगत जीवन बिताएको पुराना वामपन्थी नेता गोपाल गुरागाईंले बताए । त्यसबेला फोटो खिच्न नपाइने पार्टीको कडा निर्देशनका कारण ती दिनहरू अब स्थानीयको स्मृतिमा मात्रै रहेको उनले बताए । उनले भने ‘दुःखका बेला आश्रय दिएकालाई भुल्न नहुने हो, बरु उचित सम्मान गर्नुपर्ने हो ।’

जसले आश्रय दियो उनैलाई भुल्नु स्वार्थीपन भएको अर्का कम्युनिस्ट नेता ९० वर्षीय भद्रमान घले बताउँछन् । ‘उतिबेला जोगाइदिएकै कारण अहिले ठूलो पदमा पुगेको बुझेर उनीहरूलाई सम्मान गर्नुपर्ने हो,’ घले भन्छन्, ‘कुर्सीमा पुगेपछि आफू अर्कै धर्तीबाट जन्मिएको बुझाइ हुनु कमजोर मानसिकता हो ।’

प्रकाशित : भाद्र २३, २०७९ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×