तेह्रथुममा एमालेबाट को-को भए सिफारिस ?

चन्द्र कार्की

तेह्रथुम — नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरको छ । म्याङलुङस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभासदस्य तर्फ  विजय सुब्बा र तेजमान कन्दङवाको नाम सिफारिस गरेको हो ।

तेह्रथुममा एमालेबाट को-को भए सिफारिस ?

सिफारिसमा परेका दुवै नेता अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् । सुब्बा प्रतिनिधिसभा सदस्य हुन् भने कन्दङवा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभा सदस्य छन् । ०४८ र ०५६ मा दुई पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका सुब्बा पछिल्लो समय जिल्लामा भन्दा काठमाडौंमै बढी बसोबास गर्छन् ।

जिल्लास्तरमा लोकप्रिय नेता कन्दङवा पार्टी अध्यक्षसमेत हुन् । पाँच वर्षअघि एमालेको जिल्ला अध्यक्ष भइसकेका नेता कन्दङवा हाल पनि दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका छन् । सुब्बा एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष हुन् ।

०६९ सालमा सुब्बा नेकपा एमाले त्यागेर सुब्बा संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । पछि ०७१ सालमा सुब्बालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यकै हैसियत दिएर एमाले फर्काएका थिए । सुव्वा यसबीचमा साझा प्रकाशनको अध्यक्ष भए । ०४२ सालमै जनप्रशासन क्याम्पस काठमाडौंमा अखिल बाट स्ववियू सभापति बनेका सुव्वा जिल्लामा एमालेका पुराना नेता हुन् ।

अध्यक्ष ओलीनिकट भएर काम गरिरहेका सुव्वाले यस पटक टिकट पाउने सम्भावना बलियो रहेको एमाले नेताहरुको भनाइ छ । एमाले त्यागेर उनी बाहिरिएपछिका केही वर्षयता उनी जिल्लाका कार्यकतामाझ नजिकिन सकेका छैनन् । जिल्लामा नबस्ने, जातीय कुरा गर्ने, जिल्लामा एमालेलाई अफ्ठ्यारो अवस्थामा पुर्‍याएर पार्टी त्यागेको, अवसरबादी जस्ता आरोप उनी माथी एमाले कार्यकर्ताले लगाउने गरेका छन् ।

दुई कार्यकाल पार्टी अध्यक्ष र जिविस पूर्वउपसभापतिसमेत भइसकेका कन्दङवाको जिल्लामा पार्टी संगठनमा बलियो पकड छ । स्थानीय स्तरमा सामाजिक काममा समेत सक्रिय कन्दङवा विकासप्रेमी नेताका रूपमा समेत चिनिन्छन् । ०७४ मा पनि कन्दङवा प्रतिनिधिसभा सदस्यका दाबेदार थिए । अन्तिम समयमा आएर उनलाई पार्टीले प्रतिनिधिसभा सदस्यको टिकट नदिएर प्रदेशसभामा उमेदवार बनाएको थियो । नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई हराउँदै उनी प्रदेशसभा सदस्यमा विजयी भए ।

सुब्बाले एमाले छाडेपछि दोस्रो ‘हेभीवेट’ नेता भवानीप्रसाद खापुङलाई एमालेले लगातार तीन पटकसम्म प्रतिनिधिसभा सदस्यमा उमेदवारको टिकट दियो । दुई पटक खापुङ विजयी भए । तर खापुङ अहिले एमालेमा छैनन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका खापुङ हालको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री छन् । एमालेको पकड मानिने जिल्लामा ०१५ र ०६४ बाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको छ ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने गठबन्धन दलका कारण एमालेले आफ्नो पुरानो पकड गुमाएको छ । जिल्लाका ६ स्थानीय तहमध्ये तीन स्थानीय तहमा मात्रै एमालेका उमेदवार विजयी भए । ०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा भने एमाले एक नगरपालिकासहित पाँच स्थानीय तहमा विजयी भएको थियो । यसैबीच एमालेले प्रदेशसभा सदस्य निर्वाचनका लागि पनि उमेदवार सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय समन्वय कमिटी (क) को बैठकले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरेको हो । प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य तथा एमाले निवर्तमान अध्यक्ष लक्ष्मण तिवारी, अनुभूतिबम नेपाली, अर्जुन ढुंगाना, किशोरचन्द्र दुलाल, कृष्ण गड्तौला र लक्ष्मी कार्कीको नाम उमेदवारका लागि सिफारिस गरेको छ । समानुपातिकतर्फ कमला दर्नाल, रेनुका भट्टराई र हिमादेवी कार्कीको नाम सिफारिस गरिएको एमाले युवा नेता प्रकास श्रेष्ठले जानकारी दिए ।

प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा एमालेले प्रत्यक्षतर्फ गोपाल दाहाल, छत्रप्रसाद रिमाल, तेजमान कन्दन्वा, नेत्र पन्धाक, बाबुराम थापा, भीमप्रसाद घिमिरे,मोहनकुमार डांगी, रामप्रसाद तिम्सिना, शिवप्रसाद ढुङाना र हरी चोङ्बाङ्ग लाई सिफारीस गरेको छ ।

समानुपातिकतर्फ उमानाथ भण्डारी, कमला सुबेदी गौतम,टंक खड्का,तारा संग्रौला, तुलसा सिलवाल, नारायण सुवेदी, प्रेमलता गौतम र राजमणि थपलियाको नाम सिफारिस भएको छ । पार्टीबाट उम्मेदवार सिफारिस भएका जिल्ला तहका अधिकांश नेताहरु टिकट आफ्नो पक्षमा ल्याउन काठमाडौंतर्फ लागेका छन् ।

प्रकाशित : भाद्र २४, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?