नवजात शिशु हत्याका दोषी ९ वर्षपछि पक्राउ

धनकुटा — नवजात शिशुको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४ का ४३ वर्षीय प्रेमकुमार राउत रहेको प्रहरीले जनाएको छ ।

२०७० साल असार ७ गते धनकुटा नगरपालिका ५ बिहीबारे हाटको खोल्सीमा नवजात शिशुको हत्या गरेर फालेको अभियोगमा राउत अदालतबाट दोषी ठहर भएका थिए ।
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ बाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
एक महिलासँग अनैतिक सम्बन्ध राखी उनीबाट जन्मिएको बच्चाको हत्या गरेको कसुरमा उनलाई पक्राउ गरिएको अधिकारीले बताए । काठमाडौंको गौशालामा नक्कली नामबाट होटल सञ्चालन गरेर बस्दै आएका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त कसुरमा जिल्ला अदालत धनकुटाले २०७४ कात्तिक २० गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
उक्त मुद्दामा सर्वोच्च अदालतले २०७६ वैशाख १६ गते राउतमाथि जन्मकैदको अन्तिम फैसला सुनाएको थियो।
राउतलाई प्रहरीले नियन्त्रणमा लिएर पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौंबाट पक्राउ गरी जहाज मार्फत् सोमबार धनकुटा ल्याएको थियो । उनलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । उक्त घटना भएलगत्तै पक्राउ परेकी अभियुक्त महिला भने कैद सजाय भुक्तान गरी छुटिसकेकी छन् ।
प्रकाशित : भाद्र २२, २०७९ १७:५७