नवजात शिशु हत्याका दोषी ९ वर्षपछि पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नवजात शिशु हत्याका दोषी ९ वर्षपछि पक्राउ

रमेशचन्द्र अधिकारी

धनकुटा — नवजात शिशुको हत्या गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका ४ का ४३ वर्षीय प्रेमकुमार राउत रहेको प्रहरीले जनाएको छ ।

२०७० साल असार ७ गते धनकुटा नगरपालिका ५ बिहीबारे हाटको खोल्सीमा नवजात शिशुको हत्या गरेर फालेको अभियोगमा राउत अदालतबाट दोषी ठहर भएका थिए ।

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ बाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

एक महिलासँग अनैतिक सम्बन्ध राखी उनीबाट जन्मिएको बच्चाको हत्या गरेको कसुरमा उनलाई पक्राउ गरिएको अधिकारीले बताए । काठमाडौंको गौशालामा नक्कली नामबाट होटल सञ्चालन गरेर बस्दै आएका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त कसुरमा जिल्ला अदालत धनकुटाले २०७४ कात्तिक २० गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

उक्त मुद्दामा सर्वोच्च अदालतले २०७६ वैशाख १६ गते राउतमाथि जन्मकैदको अन्तिम फैसला सुनाएको थियो।

राउतलाई प्रहरीले नियन्त्रणमा लिएर पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । प्रहरीले काठमाडौंबाट पक्राउ गरी जहाज मार्फत् सोमबार धनकुटा ल्याएको थियो । उनलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । उक्त घटना भएलगत्तै पक्राउ परेकी अभियुक्त महिला भने कैद सजाय भुक्तान गरी छुटिसकेकी छन् ।

प्रकाशित : भाद्र २२, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकबाहेक सबै सेवा ठप्प 

डीबी बुढा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन् । बन्दका कारण ओपीडीका बिरामी मारमा परेका छन् ।  

भदौ २ गते बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहमा कार्यरत कर्मचारी धनबहादुर शाहीले हातपात गरेका थिए । डक्टर कुट्ने कर्मचारी शाही प्रहरी नियन्त्रणमै छन् । प्रतिष्ठान प्रशासनको कर्मचारी शाहीले छोराको टाँका नकाटेको भन्दै डक्टर साहलाई कुटेका थिए । तर पछिल्लो समयमा डा. साहले बालकको उपचार नगरेको भन्दै पिडक पक्षले नै बालअधिकारसम्बन्धी कसुरजन्य मुद्दा दर्ता गराएर अदालतले डा. साहलाई पक्राउ पुर्जी जारी गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पुन: आन्दोलनका कार्यक्रम अघि सारेका छन् ।

उनीहरुले अस्पतालभित्र सुरक्षितरुपमा उपचार गर्ने वातावरण नभएको भन्दै सेवा ठप्प गर्नु परेको बताएका छन् । डक्टर कुटिएलगत्तै सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । सीसीटीभीको दृश्यमा कर्मचारी शाहीले हात र लातले कुटेको देखिन्छ ।

डा. साह कुट्ने कर्मचारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही गर्न माग गरिएको छ । ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुनै पनि प्रकारको दुर्व्यहार गरेमा वा हातपात गरेको खण्डमा तीन वर्षसम्म कैद सजाया वा तीन लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

डा. साहलाई कुटेको फुटेजमा स्पष्टसँग देखिँदादेखिँदै उल्टै कुटाइ खाने डक्टरलाई नै पक्राउ पुर्जी जारी गर्नु बिडम्बना भएको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष डा. कमल थानीले बताए । 'जसले डयुटीमा खटिएको समयमा कुटाइ खान्छ । उसैले जेल जानु पर्ने हो भने ढुक्कसँग काम गर्ने वातावर्ण कसरी बन्छ ?,' उपाध्यक्ष डा. थानीले भने,‘यसले न्याय प्रणालीमाथि नै प्रश्नचिह्न खडा गरेको छ । ’

'इमरजेन्सीमा टाँका काट्ने गरिँदैन । अनर्गल प्रसार गरी बाल अधिकारसम्बन्धी झुटा मुद्दा दायर गरेर घटनालाई अतिरञ्जित गरिनु दोसी उम्काउने प्रपञ्चमात्रै हो,' उपाध्यक्ष थानीले भने,‘यो भयावह अवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीहरुले सहजपूर्वक काम गर्ने अवस्था छैन । ’ उनले पिडकमाथि कानुनअनुसार कारबाही गरेर पीडितलाई न्याय दिलाइनु पर्ने माग गरे ।

चिकित्सकहरुले विज्ञप्ति निकालेर भयपूर्ण वातावरणमा सेवा दिन असमर्थ रहेको जनाएका छन् । प्रहरीको अनुसन्धान तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गठन गरेको छानबिन समितिलाई सघाउन र दोषीलाई उम्कन नदिन दबाब दिने गरी शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी राखेको अवस्थामा कुटाई खाने डक्टरले नै मुद्दा खेप्नुपर्ने हो भने सेवा दिन नसकिने उपाध्यक्ष डा. थानीले चेतावनी दिए । 'दोषी उम्कन नपाउन् भनेर दैनिक एक घण्टा ओपीडी बन्दको कार्यक्रम जारी राख्नुपरेको छ । तर अब कुटाई खाएका डक्टरले नै मुद्दा खेप्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ’कर्णालीजस्तो विकट क्षेत्रमा काम गर्न आउने चिकित्सक कुटिनु पर्ने र कुनै प्रकारको कानुनी उपचार नपाई उल्टै मुद्दा खेप्नुपर्ने हो भने यस्तो ठाउँमा कसरी सेवा दिन सकिएला ?’

डक्टर कुट्ने पक्षले विद्यार्थी र महिला सडकमा उतारेको छ । डक्टर बालकको उपचार गर्न नमानेको भन्दै बाल अधिकारसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाएर कारबाही गर्नु पर्ने माग उनीहरुको छ ।

प्रकाशित : भाद्र २२, २०७९ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×