२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आफ्नै क्षेत्रमा सर्वसम्मत हुन सकेनन् कोइराला

विनोद भण्डारी

विराटनगर — आसन्न संघीय निर्वाचनमा आफ्नो गुटबाट भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिएका कांग्रेस नेता शेखर कोइराला आफ्नै निर्वाचन क्षेत्र मोरङ–६ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुन सकेनन् । उनलाई संस्थापन पक्षका डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतले चुनौती दिएका छन् । 

आफ्नै क्षेत्रमा सर्वसम्मत हुन सकेनन् कोइराला

संग्रौला समानुपातिकबाट वर्तमान सांसद र रायमाझी राष्ट्रिय सभामा दलका नेता हुन् । त्यसैगरी बस्नेत पूर्वमन्त्री हुन् । पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा उनी क्षेत्रीय प्रतिनिधिमै पराजित भएका थिए । कोइराला अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका लालबाबु पण्डितसँग ६ सय ७५ मतले पराजित भएका थिए । आगामी निर्वाचनका लागि एमालेले पण्डितसहित प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरीलाई सिफारिस गरेको छ । त्यसैगरी माओवादी केन्द्रबाट हेमबहादुर कार्की र जसपाले राजेन्द्र गुप्ता र महेश्वर यादवको नाम पठाएको छ ।

मोरङ क्षेत्र नं १ मा कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बूसहित रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आचार्यको नाम सिफारिस गर्दा एमालेले वर्तमान सांसद घनश्याम खतिवडासहित पूर्वमन्त्री शिवमाया तुम्बाहाम्फेको नाम सिफारिस गरेको छ । अघिल्लो निर्वाचनमा खतिवडाले कांग्रेसका लिम्बूलाई हराएका थिए । यो क्षेत्रमा माओवादी केन्द्रले प्रेममिभक लिम्बूको नाम मात्र पठाएको छ । क्षेत्र नं २ मा एमालेले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलको एकल नाम पठाएको छ । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका मिनेन्द्र रिजालसँग हारेका थिए । कांग्रेसले रिजाल र सुजाता कोइरालाको नाम तय गरेको छ । यो क्षेत्रमा माओवादी केन्द्रले प्रदेश कमिटी सचिव गणेश उप्रेतीको एकल नाम सिफारिस गरेको छ । उनी अघिल्लो निर्वाचनमा प्रदेश सांसदका उम्मेदवार हुँदा कांग्रेसका शिवनारायण गनगाइसँग पराजित भएका थिए । यो क्षेत्रमा जसपाले प्रेमनारायण थापाको नाममा सहमति जुटाएको छ ।

क्षेत्र नं ३ मा कांग्रेस र एमाले दुवैले एक/एक उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमालेले वर्तमान सांसद भानुभक्त ढकाल र कांग्रेसले काठमाडौं र नोबेल मेडिकलका सञ्चालक सुनिल शर्माको नाम पठाएको छ । ढकाल र शर्मा २०७४ को निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । यो क्षेत्रबाट माओवादी केन्द्रले सावित्रीकुमारी काफ्ले र खेम सुन्दासको नाम सिफारिस गरेको छ । क्षेत्र नं ४ मा एमालेले केन्द्रीय सदस्य विनोद ढकालको एकल नाममा सर्वसम्मति गर्दा कांग्रेसले महेश आचार्य, महानगका पूर्वमेयर भीम पराजुली, अमृत अर्याल, गुरुराज घिमिरे र दिलीप गच्छेदारको नाम अघि सारेको छ । पराजुली, अर्याल र गच्छेदार सस्थापन पक्षका हुन् । आचार्य २०५१ देखि यो क्षेत्रबाट हरेक संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका छन् । उनी अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीसँग फराकिलो मतान्तरले हारेका थिए । यो क्षेत्रमा माओवादी केन्द्रले मोदीको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नं ५ मा एमालेले जीवन विकास संस्थाका सञ्चालक तथा सामाजिक अभियन्ता योगेन्द्र मण्डल (जोगी) को नाम तय गरेको छ । माओवादी केन्द्रले हालका सांसद शिवकुमार मण्डलको एकल नाम सिफारिस गरेको छ । मण्डलले अघिल्लो निर्वाचनमा कांग्रेसका अमृत अर्याललाई हराएका थिए । यो क्षेत्रमा कांग्रेसले अर्यालसहित हसन अन्सारीको नाम सिफारिस गरेको छ । यो क्षेत्रमा जसपाले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जिल्ला अध्यक्ष राजकुमार यादवको नाम अगाडि बढाएको छ ।

प्रकाशित : भाद्र २१, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?