कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

शय्या अभावमा बेन्चमै उपचार

निर्माणाधीन भवन ३ वर्षमा पनि सम्पन्न नहुँदा फिजियोथेरापी, खोपलगायत सेवा भाडाको घरमा 
दीपेन्द्र शाक्य

संखुवासभा — लगातार ज्वरो आएपछि स्यावुनका १५ वर्षीय सुनिल राई उपचारका लागि जिल्ला अस्पताल आए । तर उनले अस्पतालमा शय्या पाएनन् । चिकित्सकले भर्ना भएर उपचार गर्नुपर्छ भने पछि उनको बेन्चमा राखेर उपचार भयो । 

शय्या अभावमा बेन्चमै उपचार

सुनीललाई ज्वरो आउने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको थियो । छोरालाई अस्पतालको प्यासेजमा बेन्चमा शय्या बनाएर उपचार गरिरहेको बुबा लक्ष्मण राईले बताए । यो अस्पताल ५० शय्या क्षमताको हो । बिरामीको चाप बढेपछि राख्ने स्थानको समेत अभावमा बेन्चको शय्या बनाएर अस्पतालले प्यासेजमा उपचार गर्न थालेको हो । अस्पतालले प्यासेजमा उपचारका लागि १५ वटा शय्या राखेको छ । अस्पतालले सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको ३ वर्ष बितिसक्यो । तर ठेकेदार कम्पनीले भवन निर्माणमा ढिलाइ गर्दा भर्ना भएका बिरामीलाई बाहिरै उपचार गर्नु परिरहेको छ । ‘भवन बनाउन थालेको ३ बर्ष भयो, ठेकेदारले समयमै काम नसक्दा बिरामीलाई थप समस्या हुने गरेको छ,’ स्थानीयवासी लक्ष्मणले भने, ‘धेरै दुःख खेप्नुपरिरहेको छ ।’

रोजगारको क्रममा खाँदबारी आएका भारतीय विकास सिंहको पनि गुनासो कम थिएन । ‘बाटैभरि बेन्च जोडेर राखिएको छ, हिँड्नसमेत समस्या हुने ठाउँमा राखेर हाम्रो उपचार भइरहेको छ,’ उनले भने । सिंह पनि ज्वरो, खोकी र टाउको दुख्ने समस्याले अस्पताल भर्ना भएका हुन् । जिल्ला अस्पतालमा दैनिक ३ सय बढी सेवाग्राही आउँछन् । पर्याप्त बजेट भए पनि अस्पतालको पूर्वाधार निर्माणमा ढिलासुस्ती हुँदा घर भाडामा लिनुपरिरहेको व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए ।

‘समयमै भवन निर्माण नसकिँदा फिजियोथेरापी, खोपलगायत सेवाका लागि घर भाडामा लिएर सञ्चालन गरेका छौ,’ उनले भने, ‘भवन चाँडो निर्माणका लागि पटक–पटक आग्रह गरे पनि काम कछुवाको गतिमा छ ।’ शाक्यले भवन अभावमा बिरामीलाई भने जस्तो सेवा दिन नसकेकिएको स्वीकार गर्दै थपे, ‘निर्माणको जिम्मा पाएकाले विभिन्न बहानामा काम अधुरै छोडेर म्याद थप्ने मात्रै काम गरिरहेका छन् ।’ गत वर्ष निर्माण पूरा भइसक्नु पर्ने अस्पतालको भवन अझै अधुरै छ । नयाँ भवन निर्माण नहुँदा पूरानै संरचनामा अस्पताल सञ्चालन गरिएको छ । २८ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनको पटक–पटक सम्झौता अवधि थप भइरहेको छ । भवन निर्माणको जिम्मा विकोई स्वामीनारायण जेभीले लिएको छ ।

नयाँ भवन नहुँदा अस्पतालले भाडामा घर लिएर सेवा विस्तार गर्दा खर्च बढेको शाक्यले बताए । ठेकदारले आउँदो असारसम्मको समय मागेको जानकारी दिंदै उनले भने, ‘निर्माण व्यवसायीलाई बारम्बार ताकेता गरिरहेका छौं ।’ अस्पताल सेवाका बारेमा जनगुनासो आएपछि बिहीबार अस्पताल पुगेका पूर्वस्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले ठेक्का लागेको बर्षौं बित्दा पनि भवन निर्माण ढिलाइ हुनुमा लापरवाही देखिएको बताए । उनले अस्पताल व्यवस्थापन र प्रशासन समक्ष सम्वद्ध कम्पनिका ठेकेदारलाई निरन्तर ताकेता गर्न आग्रह गरे । गुरुङले बिरामीको अवस्था र अस्पतालका सेवाका बारेमा पनि चासो लिएका थिए । ५ वर्ष अगाडी उनी स्वास्थ्य राज्यमन्त्री हुँदा १५ शय्याको उक्त अस्पताल स्तरोन्नति गरेर ५० शय्याको बनाइएको थियो ।

प्रकाशित : भाद्र १७, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?