२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

विद्युत् विस्तारका क्रममा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी

चन्द्र कार्की

तेह्रथुम — आठराई गाउँपालिकाका ग्रामिण बस्तीमा विद्युतीकरण गर्दा ठेकेदार कम्पनीले अनियमितता गरेको भन्दै स्थानीयले अख्तियारमा उजुरी दर्ता गराएका छन् ।

विद्युत् विस्तारका क्रममा भ्रष्टचार भएको भन्दै अख्तियारमा उजुरी

ठेकेदार कम्पनीले गाउँबस्तीमै पुगेर गरेको अनियमितताबारे उपभोक्ताले भण्डाफोर अभियान सञ्चालन गर्दै कारबाहीका लागि अख्तियारमा उजुरी दर्ता गराएका हुन् । ठेकेदार कम्पतीलाई कारबाहीको माग गर्दै उपभोक्ताले संघर्ष समिति नै गठन गरेका छन् । गाउँपालिका क्षेत्रमा विद्युत् विस्तारका लागि ईश्वरी र शशिधर निर्माण सेवा प्रालिले ठेक्का पाएका थिए । जिल्लाकै दुर्गम आठराई गाउँपालिकामा ०७४ सालबाट विद्युतीकरणको काम सुुरु भएको थियो । काम सुुरु भएकै समयदेखि नै ठेकेदार कम्पनीले उपभोक्ताको श्रम शोषण गर्ने र गैरकानुनी रुपमा पैसा समेत असुल गरिरहेको संघर्ष समितिका उपाध्यक्ष तेजकुमार ईङनामको आरोप छ ।

विद्युतीकरणमा भएको अनियमितताबारे छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएको उनले बताए । विद्युत् विस्तारको जिम्मा पाएका कम्पनीका सञ्चालक, कर्मचारीहरु र विद्युत् प्राधिकरणका कर्मचारीहरु समेतको मिलेमतोमा उपभोक्तासँग नियम विपरीत रकम असुल गरेको आरोप उजुरी पत्रमा छ । संघर्ष समितिले सर्वसाधारण उपभोक्तासँग उठाएको पैसा फिर्ता गराउन लगाई दोषीलाई कारबाही गर्न समेत माग गरेको छ । निर्माण कम्पनीले विद्युत् प्राधिकरणका कर्मचारीलाई समेत संलग्न गराई मिटर बक्स वितरणमा समेत लाग्नेभन्दा बढी पैसा उपभोक्तासँग असुलेको आरोप उपभोक्ताले लगाएका छन् । विद्युत् विस्तारको कामको जिम्मा पाएका ठेकेदारले आठराई क्षेत्रका ५ सय घरधुरीबाट नियम विपरीतप्रति घरधुरी ८ हजारका दरले मिटर बक्समा मात्र ४० लाख रुपैयाँ असुल गरेको आरोप लगाएका छन् । नेपाल विद्युत् प्राधिकरण आठराई फ्युज सेवाका कर्मचारीले उपभोक्ताको घरमा मिटर बक्स जडान गर्दा समेत जडान शुल्क भन्दै बढी पैसा लिएको आरोप संघर्ष समितिको छ ।

अख्तियारमा दर्ता गराइएको उजुरी पत्रमा पोल गाड्नका लागि प्रतिपोल ८ सय र १ हजार ४ सय रुपैयाँ दिने भनेर कामदारसँग ठेकेदार कम्पनीले सम्झौता गरेको तर हालसम्म कामदारलाई एक पैसा पनि नदीएको उजुरी पत्रमा छ । आठराई गाउँपालिका १ कोयाखोलामा स्थानीयको लगानी र जनश्रमदानबाट सञ्चालनमा ल्याइएको लघुजलविद्युत् परियोजनाको तार, पोल तथा अन्य उपकरण समेत ठेकेदारले आफ्नो काममा प्रयोग गरेर व्यक्तिको निजी सम्पत्ति समेत दुरुपयोग गरेको आरोप स्थानीयको छ । ग्रामिण विद्युतीकरणको नाममा ग्रामिण क्षेत्रका सोझा जनतालाई ठेकेदार कम्पनीले झुक्याएर ठगी गरेको विषयमा जिल्ला प्रशासन, आठराई गाउँपालिका, जिल्ला समन्वय समिति, नेपाल विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्र, आठराई फ्युज सेवा संक्रान्ती, आठराई गाउँपालिकाका सात वटै वडा कार्यालय र इलाका प्रहरी कार्यालय संक्रान्ति बजार आठराईमा बोधार्थ दिएर स्थानीय नरेन्द्रकुमार फोम्बोले अख्तियारमा उजुरी दिएका छन् ।

विद्युत् प्राधिकरणले आठराई क्षेत्रमा राख्नका लागि खरिद गरेका ३९ वटा विद्युत् ट्रान्सफर्मरसमेत कम गुणस्तरका रहेकाले विद्युत् प्रवाह समेत राम्रो नभएको उपभोक्ताको गुनासो छ । ठेकेदारले आठराई क्षेत्रका ७ वटै वडामा विद्युत् विस्तार गर्न पोल गाढ्ने, तार टाँग्ने र ट्रान्समिटर जडान गर्ने कामको जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले भने उपभोक्ता र संघर्ष समितिका नाममा आफूहरुमाथि लगाइएको आरोप सत्य नरहेको बताएका छन् । ‘उनीहरुले लगाएको आरोपमा कुनै पनि सत्यता छैन’ ईश्वरी निर्माण सेवाका ठेकेदार देवेन्द्र अधिकारीले भने, ‘हामी आफैं आएर काम गराएका हौं, स्थानीय कसैबाट एक पैसा पनि उठाएका छैनौं ।’ स्थानीय उपभोक्तालाई काममा पनि नलगाएको र पैसा दिन पनि बाँकी नरहेको अधिकारीले बताए । अधिकारीको ईश्वरी निर्माण कम्पनीले आठराई क्षेत्रको चुहानडाँडा, छातेढुंगा र ईवामा १ करोड २० लाख रुपैयाँमा सदरमुकाम म्याङलुङबाट ढुवानी सहितको विद्युत् विस्तार गर्न सम्झौता गरेको थियो । गत माघ महिनामै काम सम्पन्न गरी आफूले विद्युत् प्राधिकरणबाट सम्पूर्ण रकम भुक्तानी लिइसकेको उनले बताए ।

त्यस्तै आठराई क्षेत्रको ह्वाकु, थोक्लुङ, संक्रान्ति बजार, चुहानडाँडा लगायतका बस्तीमा विद्युत् विस्तार गर्न शशिधर निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । २२ वटा ट्रान्सफर्मर जडानसहित तार टाङने र पोल गाड्ने कामको जिम्मा पाएको ठकेदार कम्पनीले पनि गत फागुन महिनामै काम सम्पन्न गरी १ करोड ५० लाख रुपैयाँ रकम भुक्तानी लिइसकेको छ । काम सम्पन्न भएको यति लामो समयपछि अनियमितता भयो भनेर आरोप लगाउनु गलत भएको ठेकेदार अर्जुन तिम्सिनाले बताए । ‘पाँच वर्षसम्म फिल्डमा काम गर्दा कसैले पनि आरोप नलगाउनु तर काम सम्पन्न गरेर हिँडेपछि विभिन्न खाले आरोप लगाएर अर्काको चरित्र हत्या गर्न पाइन्छ ?,’ तिम्सिनाले प्रश्न गरे । विद्युत् विस्तारका क्रममा आफूहरुले कुनै पनि प्रकारको अनियमितता नगरेको र अनुसन्धानको क्रममा दोषी पाइए जस्तोसुकै कारबाही भोग्न तयार रहेको ठेकेदार अधिकारी र तिम्सिनाको भनाइ छ ।

विद्युत् प्राधिकरण आठराई फ्युज सेवाका कर्मचारी रमेश कोइरालाले उपभोक्तालाई विद्युत्को मिटर वितरण आफूले नभई म्याङलुङमा रहेको प्राधिकरणको तेह्रथुम वितरण केन्द्रले मात्र गर्दै आएको बताए । आफूले मिटरको लागि आवश्यक कागजपत्र लिएर सिफारिस मात्र गरेको कोइरालाको भनाइ छ । उपभोक्ताले आरोप लगाएको कुनै पनि काममा आफू संलग्न नभएको कोइरालाको दाबी छ ।

यता विद्युत् प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख श्यामकुमार शर्माले आठराई क्षेत्रका उपभोक्ताले आरोप लगाएजस्तो ठेक्का सम्झौता गरेका कम्पनी र आफ्नो कार्यालयका कुनैपनि कर्मचारीले गलत काम नगरेको दाबी गरे । ‘यत्तिका लामो समय काम गर्दा कसैले आवाज नउठाउने,’ कार्यालय प्रमुख शर्माले भने, ‘काम सम्पन्न भएर भुक्तानी नै भइसकेपछि आरोप लगाएर हुन्छ ?’ गलत काम भएको रहेछ भने छानबिनका लागि आफू तयार रहेको शर्माको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?