चरा संरक्षित क्षेत्रको माग

काँकडभिट्टा — चरा संरक्षणकर्मी देवेन्द्र खरेलले दुई वर्षअघि मेचीनगर–७ सतिघट्टा क्षेत्रमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारे । यो ‘ग्रिन इम्पेरियल पिजन’ नेपालमा पनि रेकर्ड हुनु दुर्लभ रहेको पक्षी संरक्षण संघ र चराविद् डा हेमसागर बरालले गरे । 

चरा संरक्षित क्षेत्रको माग

पाँच वर्ष बढी समयदेखि चराको खोज गर्दै हिँडेका खरेलले मेचीनगर क्षेत्रमै तीन किसिमका धनेश, पाँच किसिमका डांग्रे रुप्पी फेला पारेर फोटो खिचेका छन् । ‘मेचीनगर चराचुरुंगीले सम्पन्न नगर हो,’ उनले भने, ‘नगरलाई चरा पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।’ खरेलले अहिलेसम्म विभिन्न प्रजातिका करिब ४ सय चराको तस्बिर खिचिसकेका छन् । ‘नेपालमा करिब ८ सय ८७ प्रजातिका चरा पाइने रेकर्ड छ,’ उनले थपे, ‘मैले ४ सयभन्दा बढी चरा क्यामेरामा कैद गरिसकेको छु ।’

मेचीनगरमा मात्रै करिब ३ सय ३ प्रजातिका चराहरू आफूले फेला पारिसकेको दाबी खरेलको छ । मेचीनगरका मेची र निन्दा नदीको किनारका सिमसार क्षेत्र तथा इलामसँगको सिमानामा रहेको चुरे जंगल आसपासमा मात्रै ३ सय बढी प्रजातिका चराको बासस्थान रहेको उनको दाबी छ । ‘नेपालकै सबैभन्दा बढी चरा पाइने नगरपालिका हाम्रै नगरपालिका हो भन्ने लाग्छ,’ खरेलले थपे, ‘चरा संरक्षणमा नगरले चासो र चिन्ता गर्न जरुरी भइसकेको छ ।’ लामो समयदेखि चरासम्बन्धी खोज र अनुसन्धान गरिरहेका उनले ‘मेची चरा तथा वन्यजन्तु संरक्षण समाज’ नामक गैरसरकारी संस्था गठन गरेका छन् ।

खरेलले उच्च जोखिममा रहेका मेचीनगरका चरा र वन्यजन्तुहरूको संरक्षण गर्ने उद्देश्यका साथ संस्था जन्माएको जनाए । ‘मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गर्न जरुरी छ,’ उनले भने, ‘यसो गर्न सके आन्तरिक र बाह्य पर्यटकको भीड लाग्न सक्छ ।’ उनले मेचीनगरलाई चरा सिकार निषेध क्षेत्र घोषणा गर्न पनि माग गरेका छन् ।

प्रकाशित : भाद्र १६, २०७९ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?