कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पुल निर्माण नहुँदा हुलाकी सडक सञ्चालनमा अवरोध

ठेक्का सम्झौता भएको ११ वर्ष बितिसक्दासमेत १२ मध्ये अझै ६ पुलको निर्माण अधुरै
अर्जुन राजवंशी

बिर्तामोड — तीन वर्षमा बनाइसक्नु पर्ने पुल ११ वर्षमा पनि निर्माण सम्पन्न नहुँदा झापास्थित हुलाकी राजमार्ग उपयोग विहीन बनेको छ । कालोपत्रे भए पनि ठेकेदारको लापरवाहीको सिकार बनेको पुलका कारण उक्त राजमार्ग सञ्चालनमा आउन सकेको छैन् ।

पुल निर्माण नहुँदा हुलाकी सडक सञ्चालनमा अवरोध

विशेषगरी दुई ठूला नदी कनकाई र विरिङमा पुल नबन्दा उक्त राजमार्ग सञ्चालनमा अवरोध खडा भएको हो । झापाको मेचीदेखि रतुवा नदीसम्म उक्त राजमार्गको ४८ किमी सडक खण्डमा १८ वटा पुल पर्छ । यीमध्ये १२ पुल बनेका छन् । बाँकी ६ पुल निर्माण ठेकेदारका कारण ढिलाइ भइरहेको हो । जिल्लाकै ठूलो नदी कनकाईमा पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले २०६८ जेठ ३० मा ठेक्का लगाएको थियो । २०७२ जेठमा निर्माण सम्पन्न गर्नेगरी पप्पु महादेव जेभीले ठेक्का लिएको हो । तर, ठेक्का संझौता भएको ११ वर्ष बितिसक्दा समेत पुल अधुरै छ ।

उक्त कम्पनिले पुल निर्माणको ठेक्का ३४ करोड ९ लाखमा लिएको उक्त निर्देशनालयले जनाएको छ । पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले निर्माण सकेको छैन । पछिल्लो पटक गत चैतमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई म्याद थप गरिएको थियो । तर, अहिलेसम्म ६० प्रतिशत मात्रै काम सम्पन्न भएको योजना कार्यालयका इन्जिनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।

कनकाईजस्तै अर्को ठूलो नदी बिरिङमा पनि पुल निर्माणको गतिविधि ‘क्रोनिक’ बनेको छ । ठेकेदार कम्पनी लामा–मैनाचुली जेभीको ढिलासुस्तीको सिकार बन्दा ठेक्का लागेको ११ बर्ष बितिसक्दा समेत पुल बनिसकेको छैन । उक्त निर्देशनालयले बिरिङ नदीमा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नेगरी उक्त कम्पनिसँग २०६८ असार १३ मा ठेक्का संझौता गरेको थियो । संझौताअनुसार ठेकेदार कम्पनीले २०७१ पुस १० मा निर्माण गरिसक्नुपर्ने थियो । तर, अहिलेसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको इन्जिनियर चौधरीले बताए ।

‘नियमित काम भएको भए निर्धारित समयमै पुल बनिसक्थ्यो’झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीले भने, ‘तर एक वर्षमा ३/४ महिना पनि राम्ररी काम हुँदैन । अनि, कसरी बनिन्छ पुल ?’ ६/६ महिनामा फेरिने पेटी ठेकेदारका कारण ढिलाइ भएको उनको बुझाइ छ । ‘पुल निर्माण समयमै नसकिंदा ग्रामीण क्षेत्रबासी सबैभन्दा बढी प्रभावित छौं’प्रभावित क्षेत्रबासी समेत रहेका उनले भने,‘पुल बनेको भए मेरो घरदेखि व्यवसाय गर्न राजगढ बजार पुग्न ५ किलोमिटर मात्र सडक पार गर्नुपर्छ । तर, पुल नभएकाले अहिले ४३ किलोमिटर घुमेर आइजाइ गर्नुपर्छ ।’

हुलाकी राजमार्ग अन्तर्गत भुतेनी खोलामा पनि पुल निर्माण अधुरै छ । २०७३ असारमा ठेक्का लागेको उक्त पुल २०७५ असारमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का संझौतामा उल्लेख छ । ६२ दशमलव ९ मीटर लम्बाइको पुल बनाउनका लागि लामा–बामती जेभीले ५ करोड ३० लाखमा ठेक्का लिएको हो । ‘निर्माणको काम लगभग सकिएको छ, एप्रोच रोड मात्र बनाउन बाँकी छ’ इन्जिनियर चौधरीले भने ।

जिल्लाकै पुरानो सदरमुकाम कुमरखोददेखि पश्चिमको सानोमाइ खोलामा पनि पुल निर्माणमा ठेकेदार कम्पनीले बिलम्ब गरेको छ । ५१ दशमलव २२ मीटर लम्बाइको उक्त पुल पनि २०७५ असारमै सक्नुपर्ने थियो । तर, अहिलेसम्म सम्पन्न नहुँदा हुलाकी राजमार्ग अन्तर्गतको सडकमा कालोपत्रे गर्ने कार्यमा समेत अवरोध खडा भएको छ । उक्त पुलको ठेक्का पनि लामा–बामती जेभीले ६ करोड ७५ लाखमा लिएको हो । ठेक्का रकममध्ये उक्त कम्पनीले ५ करोड ९ लाख रुपैयाँ भुक्तानी लिइसकेको उक्त निर्देशनालयले जनाएको छ ।

लामा–बामती जेभीले हुलाकी राजमार्गकै तेस्रो पुल लेहरा खोलाको पुल निर्माण पनि सकेको छैन । २०७५ असारमा सक्ने गरी ४ करोड ६४ लाखमा ठेक्का लिएको उक्त कम्पनीले सम्पन्न गर्नुपर्ने मिति भन्दा चार वर्ष बढी बितिसक्दा समेत ७५ प्रतिशत मात्रै काम गरेको छ । हुलाकी राजमार्ग निर्देशनालयले बाँकी छ वटै पुलको निर्माण कार्य सम्पन्न गर्न भन्दै अन्तिम पटक २०७८ चैत सम्मको समय थप गरेको थियो । तर, ठेकेदार कम्पनीहरूले निर्देशनालयको उक्त मितिको समेत बेवास्ता गर्दै म्याद गुजारेका छन् ।

नियमित काम नगर्ने ठेकेदार कम्पनीले पुल निर्माणमा ढिलाइ हुनुमा कोभिड–१९, स्थानीय विवाद, बन्द हड्ताल र बेमौसमी वर्षा प्रमुख कारण भएको उल्लेख गरेका छन् । उक्त राजमार्ग अन्तर्गत नै पर्ने झापा र मोरङ जोड्ने रतुवा नदीमा निर्माण सम्पन्न भए पनि पुल उपयोग विहीन छ । त्यहाँ नदीभन्दा सानो पुल निर्माण भएको छ ।

सुनसरी–मोरङ पुल आयोजनाले उक्त पुल बनाएको हो । करीब ४ सय मीटर चौडाइको नदीमा २ सय ५ मीटर लम्बाइको मात्र बनाए पछि पुल बेकामे बनेको हो । थप पुल निर्माणमा उक्त आयोजनाले वास्ता नगर्दा जिल्लाका ग्रामीण भेकका जनता रतुवा नदीमा डुंगाबाट जोखिम मोलेर वारपार गर्छन् ।

प्रकाशित : भाद्र १६, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?