१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

चुनाव केन्द्रित हुँदै दलहरू

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने सम्भावना

मोरङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि चुनावी चहलपहल सुरु भएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायतका दलहरूले चुनावी गतिविधि सुरु गरेका छन् । दलहरू अहिले सम्भावित उम्मेदवारको नाम छनोटमा जुटेका हुन् । दलहरूले वडा र टोलसम्म चुनावी भेला गर्न थालेका छन् ।

चुनाव केन्द्रित हुँदै दलहरू

कांग्रेस नेता शेखर कोइरालाले शनिबारदेखि आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ मा सुन्दरहरैंचाबाट निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सुरु गरेका छन् । कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले अहिले ‘जनताको साथमा कांग्रेस’ अभियान लिएर प्रदेशभरि चुनावी अभियान सुरु गरेको बताए । उनले सम्भावित उम्मेदवारको समेत नामावली छनोट कार्य सुरु गरेको बताए ।

यस्तै, एमालेका प्रदेश १ इन्चार्ज देवराज घिमिरेले पार्टीको केन्द्रीय कमिटीले तोकेको उम्मेदवारको मापदण्ड र छनोट कार्यविधिका आधारमा अब निर्वाचन क्षेत्रीय कमिटीले सम्भावित उम्मेदवारको नाम छनोट गर्ने कार्य सुरु भएको बताए । उनले चुनावी अभियानलाई तीव्रता दिन हरेक स्तरमा बैठक भइरहेको बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबाहुर नेम्वाङले पनि पार्टीको निर्देशनअनुसार उम्मेदवार छनोटका साथै चुनावी अभियानका लागि निर्वाचन क्षेत्रलक्षित भेला बैठक सुरु गरेको बताए । नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ अध्यक्ष बलदेव चौधरीले पार्टीको संगठन निर्माणका साथै सम्भावित उम्मेदवारको नाम छनोट गर्ने काम भइरहेको बताए । उनले पार्टी संगठन निर्माणका साथै चुनावमा जुट्न बैठक र भेला भइरहेको बताए ।

चौधरीले पार्टीले शनिबार सुनसरीको चारवटै क्षेत्रका लागि उम्मेदवारको नाम छनोट गरेको जानकारी दिए । सुनसरीको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायत चार जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटी बैठकले मुख्यमन्त्री राईका साथै लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र २ मा धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामा, क्षेत्र ३ मा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरी र क्षेत्र ४ मा केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस गरिएको छ । प्रदेशसभाका लागि समेत उम्मेदवारको नाम सिफारिस गरेको उनले बताए ।

ताप्लेजुङमा पनि दौडधुप

प्रतिनिधि र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै जाँदा उम्मेदवारीलाई लिएर रस्साकस्सी सुरु भएको छ । एमाले केन्द्रीय कमिटी सचिव योगेशकुमार भट्टराईले आफ्नो निर्वाचन क्षेत्र भएकाले आफूले टिकटको दाबी गर्नु स्वाभाविक भएको बताए ।

एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज तिलकुमार मेन्याङवोले आफ्नो पनि उम्मेदवारीमा दाबेदारी रहेको बताए । एमालेबाट प्रतिनिधिसभामा जिल्ला कमिटी अध्यक्ष भूपेन्द्र थेबे, उर्मिला थेबे, डम्बरध्वज तुम्बाहाम्फेलगायतले टिकट पाउनुपर्ने भनिरहेका छन् । कांग्रेस र माओवादीका नेतालाई गठबन्धनमा संघ या प्रदेश के पर्छ भन्ने चासो छ ।

संघमा यसअघिका दुई निर्वाचनमा पराजित निवर्तमान कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, गत चुनावका उम्मेदवार केशवप्रसाद दाहाल, प्रदेश १ का उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम, महाधिवेशन प्रतिनिधि एवं सिरिजंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीका गुरुङ, एमाले छोडेर कांग्रेस छिरेका वैदेशिक रोजगार महासंघका पूर्वअध्यक्ष बलबहादुर तामाङलगायतले पनि कांग्रेसकातर्फबाट दाबी गरेका छन् । उनीहरूको चाहना प्रत्यक्ष वा समानुपातिक जे भए पनि हुने भन्नेमा छ । प्रदेशसभा ‘ख’ मा क्षेत्रीय सभापति खगेनसिंह हाङगाम र महाधिवेशन प्रतिनिधि इन्द्र केदेममको चर्चा छ । पार्टी सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र गुरुङको चर्चा प्रदेशसभा ‘क’ को उम्मेदवारीमा पनि छ ।

पार्टीको भागमा परे माओवादीका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री संघ या प्रदेश ‘क’ मा निर्विकल्प उम्मेदवार हुन् । उनले पार्टी छोडेर अन्यत्र गएका र गठबन्धन दलसँग पनि समन्वय गरिरहेका छन् । माओवादीबाट एमालेमा गएका संविधानसभा सदस्य सञ्चपाल मादेन बुढाक्षेत्रीले आफू जुन पदमा भए पनि उठ्ने र पुरानो घरमा फर्कन आग्रह गरिएको बताए । मादेनले पनि मनस्थिति बदलिँदै गएको तर निर्णय गरिनसकेको बताए । बुढाक्षेत्री भने संघ र प्रदेश ‘क’ पार्टीको भागमा परे आफू उम्मेदवार हुने बताउँछन् । ‘संघ या प्रदेश ‘क’ मा परे मेरो दाबी रहन्छ,’ बुढाक्षेत्रीले भने, ‘ख मा परे पार्टीको तर्फबाट अरु नै साथीहरू उम्मेदवार बन्नुहुन्छ, म उता तर्दिनँ ।’

एकीकृत समाजवादीलाई यसअघि नै जिल्ला समन्वय समिति प्रमुख दिएकाले संघ र प्रदेश कांग्रेस र माओवादीको भागमा पर्ने बुझाइ दुई पार्टीका नेताको छ । तीनमध्ये कांग्रेसको दुई र एक माओवादीको हुनेमा दुवै दलका नेता ढुक्क छन् । माओवादीका कतिपय नेताले प्रदेश ‘क’ भए हुने भन्ने चाहना राखेका छन् । माओवादीका एक नेताले भने, ‘पहाडका पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा र धनकुटा जिल्ला माओवादीको संघमा पर्ने सम्भावना कम छ, त्यसैले ताप्लेजुङ पर्न सक्छ ।’

कांग्रेस, एमाले र माओवादी तीनै दलमा दुई समूह भएकाले एकले अर्को समूहलाई नियालेर दाबी गरिरहेको नेताहरू बताउँछन् । तर आन्तरिक सहमति गरेर संघ र प्रदेशको प्रत्यक्ष तथा समानुपातिकमा मिलाए सबै नेता व्यवस्थापन हुने पनि कतिपयको बुझाइ छ । एकीकृत समाजवादीका अध्यक्ष छिरिङ लामा आफ्नो पार्टीको पनि सशक्त दाबी रहेको बताउँछन् । एसले संघका लागि हर्क याक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम अघि सारेको छ ।

प्रदेशका लागि ‘क’ मा शम्भु गौतम, सुनिता मादेन, डालकुमार गुरुङ प्रत्यक्ष र नीता कुमारी सिंवा, अमर लोहार र आरसी पोमुको नाम समानुपातिकमा सिफारिस गरेको छ । ‘ख’ मा खेमबहादुर बनेम, मञ्जु पौडेल र ठाकुरसिंह नाल्बो प्रत्यक्ष र देवीमाया नेपालीको नाम समानुपातिकमा हुनुपर्ने भनिएको छ । गठबन्धनमा आबद्धमध्ये जिल्लामा जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि छन् । जसपा जिल्ला अध्यक्ष किर्तिमान मादेन कांग्रेस र माओवादीले आफूहरूलाई नगनेको गुनासो गर्छन् ।

‘केन्द्रले पनि केही भनेको छैन र हामीले पनि चासो राखेका छैनौं,’ मादेनले भने, ‘जिल्लामा पनि गठबन्धनको बैठक नबसेकाले अब हामी बुझ्ने काम गर्छौं ।’ राप्रपाले भने केन्द्रमा एमालेसॅग समीकरण भए त्यहीअनुसारको गतिविधि गर्ने योजना बनाएको छ । नभए फुङलिङ नगरपालिका घर भई काठमाडौं बस्दै आएका राम कार्कीलाई संघको उम्मेदवार बनाउने तयारी छ । जिल्लामा राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीको प्रभुत्व छ ।

विरासत जोगाउने दाउमा एमाले

प्रतिपक्षी दल नेकपा एमाले चुनाव केन्द्रित भई गाउँ पसेको छ । प्रदेश सांसद लक्ष्मण तिवारी र तेजमान कन्दङवाको नेतृत्वमा एमाले गाउँबस्तीमा डुल्दै छ । तर परिस्थिति फरक छ । २०७४ को प्रदेश र संघको निर्वाचनताका एमालेसँग बलियो राजनीतिक एजेन्डा र मजबुत पार्टी संगठन थियो ।

जिल्लामा एमालेको माहोल राम्रो थियो । माओवादी केन्द्रसँग तालमेल गरेर प्रदेश र संघको दुवै निर्वाचनमा एमाले विजयी भयो । तर अहिले राजनीतिक ‘कोर्स’ बदलिएपछि एमाले योपटक जिल्लामा पनि एक्लिएको छ । सत्ता गठबन्धन दलले जिल्लामा एकताबद्ध भएर जाने निर्णय गरेकाले एमालेलाई आगामी निर्वाचनमा एक्लै भिड्नुपर्ने भएको छ ।

एमालेसँग यसपटक हेभिवेट मानिएका हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ छैनन् । तीनपटक संघको टिकट पाएर दुईपटक एमालेबाट चुनाव जितेका खापुङको अभाव एमालेमा खड्किएको छ । उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर स्वास्थ्य राज्यमन्त्री हुँदै मन्त्री छन् । एमाले पनि जिल्लामा हेभिवेट उम्मेदवारको खोजीमा छ । ‘खापुङभन्दा क्षमतावान् नेता एमालेमा धेरै रहेकाले जिल्लाका सबै सिटमा एमालेले चुनाव जित्छ,’ म्याङलुङ नगरपालिकाका मेयरसमेत रहेका एमाले उपाध्यक्ष सञ्जय तुम्बाहाङफेले दाबी गरे ।

खापुङ गठबन्धनको तर्फबाट संघको साझा उम्मेदवार बन्ने कसरतमा छन् । संघमा कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा निकट सीता गुरुङ र तुलसी सुब्बा टिकटको दौडधुपमा छन् । संघमा गठबन्धन दलबाट साझा उम्मेदवार दाबी गरिरहेका स्वास्थ्यमन्त्री खापुङको गठबन्धनकै कारण टिकट पाउने सम्भावना न्यून छ । आफूले अन्य दलका उम्मेदवारलाई छोड्नुपर्ने अवस्था आएमा पार्टीका जिल्ला अध्यक्ष रहेका कृष्ण चोङबाङलाई प्रदेश (क) को उम्मेदवारको टिकट दिलाउने कसरतमा खापुङ र उनको पार्टी लागेको छ ।

प्रदेश (ख) मा सत्ता गठबन्धन दलको साझा उमेदवारको रूपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईले टिकट पाउने मोटामोटी सहमती भइसकेको कांग्रेसले जनाएको छ । दुवै प्रदेश निर्वाचन क्षेत्रमा चोङबाङ र चापागाईले टिकट पाए जिल्लाको ठूलो दल कांग्रेसको उम्मेदवारी शून्य हुने भएकाले यसको फाइदा फेरि पनि एमालेलाई हुनेछ । चुनावको नतिजा आफ्नै पक्षमा आउने दाबी गर्दै एमाले नेताहरू गाउँ छिरेका छन् । एमालेमा खापुङको बहिर्गमनपछि संघको टिकटका लागि प्रदेश सांसद तिवारी र कन्दङवाको नाम चर्चामा छ । नेता विजय सुब्बाले समेत यस पटक इच्छा गरेकाले उनको पनि सम्भावना उत्तिकै रहेको एमालेले जनाएको छ ।

जोड–घटाउमा धनकुटाका दल

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति टुंगो लागेसँगै जिल्लास्थित राजनीतिक दल चुनावी जोड–घटाउमा जुटेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा मुख्य गरी गठबन्धन दल र एमाले बीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यसअघि प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले एकछत्र कब्जा जमाएको थियो । यसपटक सत्ता गठबन्धन दलहरूबीच तालमेल भएको खण्डमा एमालेलाई कडा चुनौती हुने देखिन्छ । तर गठबन्धनमा आबद्ध चार दलका लागि तीन मात्र उम्मेदवार हुनुपर्ने बाध्यता छ । आकांक्षीहरू बढी हुनु र उनीहरूले उम्मेदवारी दिनेमा अडिग रहेका कारण गठबन्धन अप्ठेरोमा पर्ने खतरा पनि देखिन्छ ।

सत्ता गठबन्धनबाट मुख्य तीन जनाले खुला रूपमै दाबेदारी अघि सारेका छन् । नेपाली कांग्रेसबाट पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको छोरासमेत रहेका सुनीलबहादुर थापाको अडान छ । तर, गठबन्धनभित्रकै माओवादी पार्टीका प्रभावशाली नेता हेमराज भण्डारी र पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङले पनि अडान राख्दै आएका छन् ।

तीनै जनाले एक मात्र सिट रहेको ठाउँमा आफ्नो दाबी राखेका कारण गठबन्धनको अवस्थाले फाइदा पुग्नेमा एमाले आशावादी देखिन्छ । कांग्रेस नेता थापाले गठबन्धनका तर्फबाट आफू निर्विकल्प उम्मेदवार रहेको बताउँछन् । अरुले दाबी राख्नु स्वाभाविक रहे पनि गठबन्धनले आफूलाई टिकट दिने र त्यसलाई सबैले स्विकार्नुको विकल्प नभएको उनको दाबी छ । ‘यसपटक पनि मेरो उम्मेदवारीको हक लाग्छ, म चुनावका लागि तयारीका साथ अघि बढिसकेको छु,’ उनले भने, ‘चुनावका बेला अरुले दाबी गर्नु सामान्य भए पनि सबैले गठबन्धनको मर्यादा र भावनाको सम्मान गर्नुपर्छ ।’

माओवादी नेता तथा स्थायी कमिटी सदस्य हेमराज भण्डारी आफूलाई पार्टीले टिकट दिनुपर्ने अडानमा छन् । उनले जहिल्यै कांग्रेस र अरु दललाई सघाएर मात्र आफ्नो राजनीतिक अघि नसर्ने भएकाले पछि नहट्ने बताउँछन् । उनले आफूले उम्मेदवार नपाए पार्टीभित्रै विद्रोह गरेर अघि बढ्ने खुलेर बताउँदै आएका छन् । ‘अब कुनै हालतमा माओवादीले कांग्रेसलाई भोट हाल्दैन,’ उनले भने, ‘०७४ मा एमालेलाई भोट हालियो, अनि यसपटक कांग्रेसलाई भोट हाले माओवादीले राजनीति गर्नुको तुक छैन ।’

टिकट नदिए स्वतन्त्रमा उम्मेदवारी दिने नेतृत्वलाई जानकारी गराएकाले उनले बताए । आफू संविधानसभा सदस्य भएको बेला गौरवशाली योजना तमोर कोरिडोर ल्याउन सफल भएको र जिल्लामा एयरपोर्ट निर्माणलगायत पर्यटकीय क्षेत्रको गतिविधिका विगतको योजनालाई पूरा गर्न जसरी पनि निर्वाचनमा उम्मेदवारी दिने उनको अडान छ । जसपाका नेता पूर्वमन्त्री चेम्जोङले भने, ‘यसअघि पनि सुनीलजीलाई सघाएको हो, सधैं उहाँलाई नै सघाउनुपर्छ भन्ने होइन, गठबन्धनबाट उम्मेदवार बन्नेमा पछाडि हट्ने कुरै छैन ।’

उनका अनुसार राजनीति गर्ने अनि चुनावमा नभिड्ने भएर बस्न सकिँदैन । ‘अब छैंटौं पटक पनि चुनाव लड्ने नै हो, मेरो आवश्यकता मतदाताले खोजी गरेका छन्,’ उनले भने । गठबन्धनले टिकट वितरणका लागि बनाएको ११ सदस्यीय कार्यदलका सदस्यसमेत रहेका उनले कांग्रेस नेता थापाको विकल्पमा आफ्नो उमेदवारी रहने स्पष्ट पारे ।

प्रकाशित : भाद्र १२, २०७९ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?