विद्यालय हातामै धूमपान

विद्यालयले व्यवसायीसँग सुर्तीजन्य तथा मादकपदार्थ बिक्रीवितरण गर्न नपाउने गरी सम्झौता गरिएको छ, पछिल्लो समय गुनासो आएकाले विद्यालयले गम्भीरतापूर्वक लिनेछ : प्रअ
रमेशचन्द्र अधिकारी

धनकुटा — यहाँको एक विद्यालय हाताभित्रकै चमेनागृहमा खुलमखुला धूमपान बिक्रीसँगै सेवन हुने गरेको छ । बिहिबार दिउँसो धनकुटा–५ स्थित गोकुण्डेश्वर बालमन्दिर माविको हाताभित्र सञ्चालित चमेनागृहमा बर्दीधारी प्रहरीसँगै बसेका सादा पोसाकका अर्का प्रहरीले निर्बाध चुरोट तानिरहेका देखिन्थे । विद्यालयभन्दा ५० मिटर दूरीमा रहेको होटलमा समेत कक्षा सञ्चालनकै समयमा मदिरा बिक्री वितरण भइरहेको हुन्छ ।

विद्यालय हातामै धूमपान

विद्यालय परिसरभित्र व्यापारिक प्रयोजनका लागि बनाएर भाडामा दिइएका अधिकांश होटल तथा चमेना गृहमा पठनपाठन भइरहेको समयमा समेत मद्यपन तथा धूमपान निर्बाध बिक्री वितरण तथा सेवन हुने गरेको छ ।

विद्यालयले भाडामा दिँदा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने गरी सम्झौता गरिएको हुने प्रधानाध्यापक दामोदर मिश्रले बताए । तर अनुमगन अभावले बेचबिखन भइरहेको हुन सक्ने उनले बताए । ‘विद्यालयले व्यवसायीसँग सुर्तीजन्य तथा मादकपदार्थ बिक्रीवितरण गर्न नपाउने गरी सम्झौता गरेको छ,’ उनले भने, ‘पछिल्लो समय गुनासो आएकाले विद्यालयले गम्भीरतापूर्वक लिनेछ ।’ जिल्लाका अधिकांश विद्यालय आसपासका होटल तथा खाजा पसलमा यसप्रकार धूमपानजन्य वस्तु बिक्री भइरहेको हुन्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण तथा नियमन गर्न एघार वर्ष पहिले कानुन बने पनि प्रभावकारी पालना हुन सकेको छैन । विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिकस्थलमै खुला रुपमा चुरोट, खैनी, गुट्का जस्ता सुर्तीजन्य वस्तु निर्बाध बेच्ने गरिएको गुनासो चुलिएको छ । नियमन गर्ने निकायले चासो नदेखाउँदा लापरबाही बढेको स्थानीय नरेश श्रेष्ठले सुनाए । उनका अनुसार चोक, बजार र पसलमा चुरोट पिउने एवं गुटका खाने प्रशस्त भेटिने गरेको बताए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ मा सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने स्पष्ट व्यवस्था छ । १८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न/गराउन वा निःशुल्क उपलब्ध गराउन नपाइने र त्यसो गरेमा १० हजार रुपैयाँसम्म जरिवाना गराइने उल्लेख छ ।

फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्रीवितरण गर्न नपाइने, कार्यालय र सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेधको सूचना अनिवार्य टाँस गरिनुपर्ने, त्यस्ता पदार्थ बिक्री, वितरण गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने ऐनमा उल्लेख छ ।

प्रकाशित : भाद्र ११, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?