१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

म्याङलुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

यी ग्राहकको न्यूनतम २० युनिटसम्मको महसुल १ लाख ३५ हजार रुपैयाँ नगरपालिकाले प्राधिकरणलाई बुझाउने
चन्द्र कार्की

तेह्रथुम — म्याङलुङ नगरपालिकाले २० युनिटसम्म खपत गर्ने नगरवासीको विद्युत् महसुल प्राधिकरणलाई तिरिदिने निर्णय गरेको छ । घरायसी प्रयोजनका लागि विद्युत् उपभोग गर्ने सबै नगरवासीको न्यूनतम महसुल नगरपालिकाले तिर्ने निर्णय गरिएको नगरप्रमुख सञ्जय तुम्बाहाङफेले बताए ।

म्याङलुङवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने

उनका अनुसार न्यूनतम महसुलसमेत बुझाउन नसक्ने नागरिकलाई लक्षित गरी यस्तो कार्यक्रम ल्याइएको हो । नगर कार्यपालिकाको बैठकले गत साउन १ देखिकै उक्त विद्युत् महसुल तिर्ने निर्णय गरेको हो । मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको महसुल नगरपालिकाले एकमुष्ट प्राधिकरणलाई भुक्तानी गर्ने विषयमा सम्झौता भइसकेको छ ।

‘न्यूनतम २० युनिट बराबरको महसुल ३० रुपैयाँ नगरपालिकाले भुक्तानी गरिदिने हो,’ नगरप्रमुख तुम्बाहाङफेले भने, ‘त्योभन्दा माथि विद्युत् युनिट खपत गर्ने ग्राहकले भने बाँकी रकम आफैं बुझाउने हो ।’ नगरपालिकाको यो निर्णयपछि न्यूनतम महसुलसमेत बुझाउन नसकेर लाइन काट्नुपर्ने अवस्थाको अन्त्य भएको विद्युत् प्राविधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख श्यामकुमार शर्माले बताए ।

उक्त नगरपालिकामा ४ हजार ५ सय विद्युत्का ग्राहक छन् । यी ग्राहकको न्यूनतम २० युनिटसम्मको महसुल १ लाख ३५ हजार रुपैयाँ नगरपालिकाले प्राधिकरणलाई बुझाउने छ । दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई यो निर्णयले ठूलो राहत पुगेको प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईले बताए ।

नगरपालिकाको यो निर्णयपछि विद्युत् प्राविधिकरणलाई समेत फाइदा पुगेको छ । समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्न घरघरै पुग्नुपर्ने समस्या प्राधिकरणका कर्मचारीलाई थियो । अब यो झन्झट हटेको केन्द्रका प्रमुख शर्माको भनाइ छ । केन्द्रका कर्मचारीको समयसमेत बचेको छ । उपभोक्तालाई घण्टौं टाढाबाट हिँडेर महसुल बुझाउन आउनुपर्ने बाध्यताको समेत अन्त्य भएको नगरप्रमुख तुम्बाहाङफेको भनाइ छ ।

नगरपालिकाभित्रका सडक बत्तीको महसुलसमेत नगरपालिकाले भुक्तानी गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । म्याङलुङ बजार र आसपासका क्षेत्रमा जडान गरिएका सडक बत्तीको मासिक ८० हजार रुपैयाँ महसुल उठ्ने गरेको छ । बजार क्षेत्रका मुख्य चोकमा १२ वटा बत्ती बालिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?