मधेस झरेर लेकाली जडीबुटीको व्यापार

सुम्निमा चाम्लिङ

इटहरी — दुई दशकअघिसम्म संखुवासभा भोटखोलाका शेर्पा, भोटे समुदाय जाडो छल्न बेंसीतर्फ झर्थे । गाउँ पूरै सुनसान हुन्थ्यो । कुम्लोकुटुरो, जडीबुटी बोकेर मधेस झर्नेको लर्को लाग्थ्यो । त्यही भीडमा धरानकी निमा पोङस्युवा पनि हुन्थिन् । उनी आमाआपाको साथमा बर्सेनि आइपुग्थिन् । 

मधेस झरेर लेकाली जडीबुटीको व्यापार

गाउँदेखि मधेस पुग्न १५ दिनको बाटो हिँड्नुपर्थ्यो । आठ वर्षको हुँदादेखि तराई झरेको उनी सम्झना गर्छिन् । हिउँदमा मधेसका गाउँघरमा जडीबुटी बेच्ने र कमाएको पैसाले नुनतेल, चामल, मरमसला किनेर बर्खा लागेपछि घर फर्कन्थे । अहिले समयले कोल्टे फेरेको छ । जाडो छल्न मात्र आउने उनीहरू पछिल्लो दुई दशकदेखि भने मधेसको तातो घाममा जडीबुटीको व्यापार गर्दै आएका भेटिन्छन् । निमाले धरानको देशी लाइनमा जडीबुटी व्यापार सुरु गरेको २२ वर्ष भयो । पढाइका क्रममा धरान झरेकी उनले कामको खोजीमा पुर्ख्यौली पेसा रोजेकी थिइन् । सुरुका दिनमा पढाइ खर्च जुटाउनका लागि व्यापार गरेकी थिइन् । अहिले भने यो उनको मुख्य पेसा बनेको छ । परिवारको खर्च व्यापारले धानेको छ, दुईतले पक्की घरसमेत बनाएकी छन् ।

कुनै समय उकालीओराली, डाँडाकाँडामा रमाउने उनी यतिबेला यतैको हावापानीमा भिजिसकेकी छन् । गाउँको सम्झनाले उनलाई सधैं सताउँछ तर वर्षमा तीन पटक मुस्किलले पुग्छिन् । उनका परिवार अधिकांश मधेस झरिसकेका छन् । आफन्तको माया र गाउँघरको सम्झनाले उनलाई माटोले तान्ने गर्छ । गाउँदेखि दुई घण्टा हिँडेर पुगिने वनमा जडीबुटी संकलन गरेको सम्झना ताजै छ । सुरुका दिनमा आफैं संकलन र बिक्री गर्थिन् । अचेल भने मागअनुरूप त्यहाँका व्यापारीले जडीबुटी पठाइदिन्छन् । पुरानो दिन सम्झँदै उनी भन्छिन्, ‘त्यसबेला हिलेसम्म ढाकर बोकेर झर्नुपर्थ्यो, जाडो छल्नका लागि आउँथ्यौं । जडीबुटीलाई मधेस झर्दा बेच्ने सामानका रूपमा मात्र लिन्थ्यौं । पछिल्लो समय हाम्रो समुदायले जडीबुटीलाई पेसाका रूपमा अँगालेको पाइन्छ ।’

६० वर्षीया छेसुम भोटे धरानको भानुचोकमा जडीबुटी बेच्छिन् । निमाको पुर्ख्यौली गाउँमै छेसुमको घर छ । उनको परिवार १५ वर्षअघि व्यापारका लागि यो सहरमा झरेका थिए । डेढ दशकअघि उँधौली र उँभौली यात्रा गर्दै आएकी उनी पछिल्ला वर्षमा भने धरानको बासिन्दा भएकी छन् । उनका श्रीमान् पूर्वका हटियाहरूमा जडीबुटी बेच्छन्, उनी भने धरानमै व्यापार गर्छिन् ।

‘हिउँदमा मधेस झरेर जडीबुटी बेच्यो, बर्खामा घर फर्किने गर्थ्यौं । पछि मात्र नानीहरू पढ्ने बेला धरान बसेको । माथि गाउँमा माविसम्म पनि पढाइ नहुने त्यसैले यतै आयौं’ निमा भन्छिन् । उनका अनुसार पछिल्लो समय व्यापार बढेको छ । श्रीमान् र उनको कमाइले घर बनाएका छन् । सन्तानलाई निजी विद्यालयमा पढाउन पुगेको छ । सुरुका दिनमा सहरको बसाइमा निकै सकस भयो । पछिल्ला दिनमा उनलाई सहर प्यारो लाग्न थालेको छ । उनी भन्छिन्, ‘हिँड्न, खान धरान राम्रो छ, पहाडमा सबै कुरा बोक्नुपर्छ । यता पैसा पनि हुन्छ, सजिलो पनि छ ।’ संखुवासभा हटिया गोलाकी फपु पोङस्युवाले जडीबुटीको व्यापार गर्न थालेको दुई दशक भयो । बाल्यकालमा आमाआपाका साथ जडीबुटी बेच्न तराई झर्ने उनले अहिले बाल्यकालमा हिँडेको पुराना डोब पछ्याउँदै मधेसलाई कर्मथलो बनाएकी छन् ।

उनले सुनसरीको इटहरी चोकको दक्षिणपट्टि व्यापार गर्न थालेको ८ वर्ष भयो । सुरुका दिनमा भने हटिया बजारहरूमा बेच्ने गर्थिन् । उनको कमाइले घर खर्च, सन्तानको पढाइ खर्च पुगेको छ । उनलाई सुरुका दिनमा गर्मीका कारण निकै अप्ठ्यारो भयो । अहिले उनलाई चिसोभन्दा गर्मी राम्रो लाग्छ ।

उनी भन्छिन्, ‘सुरुमा निकै गाह्रो भयो, बिस्तारै बानी भयो । अब त चिसो सहन सकिँदैन, बरु तातो घाम सहन सक्छु ।’ पहाडको लेकबेंसी, वनजंगलले उनलाई अझै पनि लोभ्याउँछ । उनको बुझाइमा पहाडमा जीवनयापन गर्न मुस्किल छ । ‘गाउँमा वर्षभरि काम गर्थ्यौं, ३ महिना पनि खान पुग्दैन के गर्नु ? राम्रो स्कुल छैन, अझै घर पुग्न एक दिन पूरा हिँड्नुपर्छ,’ उनी भन्छिन् । उनको पसलमा अशोकगन्ध, बिखुमा, केशर, धुप, चिरौती, पहाडको मह अत्यधिक बिक्री हुन्छ । उनको र श्रीमान्को कमाइले धरानको बगरकोटमा घरसमेत बनाएका छन् ।

२२ वर्षीया फुर्पुचिपा शेर्पाले इटहरीमा जडीबुटी बेच्न थालेको दुई वर्ष भयो । चोकको पूर्वतर्फको सडकमा छाता ओढेर बिहानदेखि साँझसम्म व्यापार राख्छिन् । संखुवासभा भोटखोलाकी उनी मोरङको बाँसबारीमा बस्छिन् ।

घर खर्च टार्न मुस्किल भएकाले उनी व्यापारको खोजीमा मधेस झेरकी हुन् । व्यापारको कमाइले घर खर्च धान्न सघाएको उल्लेख गर्दै भन्छिन्, ‘घर फर्कंदा, तेल, मसला, चामल, भाँडाकुँडा लान्छु । सबै यहींबाट पुर्‍याउँछु ।’ अन्य पेसामा ज्ञान नभएका कारण जडीबुटी व्यवसाय गर्दै आएको उनी बताउँछिन् । धरानमा २५ घरधुरीले जडीबुटीको व्यापार गर्दै आएको मानिन्छ ।

प्रकाशित : भाद्र ३, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?