दुई महिनामा डुबेर १८ बालबालिकाको मृत्यु

पर्वत पोर्तेल

झापा — सोमबार, अपराह्न ४ बजे तिर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेले बाँकेटारका रेसु लिङ्देनका ७ वर्षीय छोरा विवेक स्कुलबाट घर फर्कँदै थिए । बाटो नजिकै खोल्सीको दह देखेर उनी लोभिए । कपडा खोलेर दहमा झ्वाम्मै हाम फाले । पौडी खेल्न हाम फालेका उनी दहमै डुबे । 

गत बिहीबार झापा, शिवसताक्षी नगरपालिका–९ की ११ वर्षीया एन्जिला सुन्दास र सोही स्थानका १२ वर्षका सिकुम राई नजिकैको कनकाई नहरमा पौडी खेल्न भनी घरबाट निस्किएका थिए । अबेरसम्म नफर्किए पछि प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा राति करिब ९ वजे स्थानीय सतासी खोलामा दुवैको शव फेला परेको थियो । उनीहरूको कपडा भने घटना स्थलदेखि करिब ४ किलो मिटर वरै कन्काई सिँचाई नहरको डिलमा थियो ।

पौडी खेल्न नहरमा पसेका उनीहरूको शव सताशी खोला आसपासमा भेटिएको थियो । साउन ५ मा मोरङ, पथरी–शनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा बस्ने कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहाको घर नजिकैको पैनीमा डुबेर ज्यान गयो । आँगनमा खेल्ने क्रममा घरदेखि करिब ५० मिटर पश्चिमको पैनिमा डुबदा उनको मृत्यु भएको थियो ।

वर्षायामका दुई महिनामा पूर्वका विभिन्न जिल्लामा पौडी खेल्ने क्रममा खोला र पैनीमा डुबेर १८ भन्दा वढी बालबालिकाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार खोला या पैनीमा डुब्ने १९ महिने शिशुदेखि १५ वर्षसम्मका छन् । सबभन्दा बढी मोरङका ६ बालबालिकाको डुबेर ज्यान गएको छ । झापामा ५, सुनसरीमा ४, धनकुटामा २ र ताप्लेजुङमा १ को डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कतिपय घटनामा अभिभावकको चरम लापरबाही देखिएको छ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–९ को घटनामा अभिभावकको हेलचेक्र्याइँले १९ महिने शिशुले ज्यान गुमाएको देखिन्छ । अभिभावक नभएको बेला आँगनमा खेल्दै गरेको बच्चा अचानक पैनीमा डुबेको थियो । तत्काल उद्धार गर्न पाएको भए बच्चाको ज्यान जोगाउन सकिन्थ्यो । तर, तत्काल उद्धार गर्न सकिएन । प्रहरीका अनुसार, खास गरी तराई–मधेसका जिल्लाहरूका धेरैजसो नानीबाबुको डुबेर मृत्यु भएको छ । वर्षाकै बेला र वर्षा रहे पछि जमेको दह, पैनी, नहर या खोलामा पौडी खेल्ने क्रममा अधिकांशको मृत्यु भएको छ । एक बलकको मृत्यु भने शंकास्पद पाइएको प्रहरीले जनाएको छ ।

साउन ७ मा मोरङ सुनवर्षी नगरपालिका–९ भेडुवाथानका दिलीप सुतियारका ३ वर्षका छोरा राहुलको शव घर नजिकैको पोखरीमा भेटिएको थियो । घरबाट बेपत्ता भएपछि खोजतलाशका क्रममा पोखरीमा डुबिरहेको बालकको शव भेटिएको थियो । अधिकांश घटनामा भने अभिभावकहरू सचेत नबन्दा ती बालबालिकाहरूले अनाहकमा ज्यान गुमाएको देखिन्छ । ‘अभिभावकको सानो लापरबाहीले पनि हाम्रा नानीहरूको ज्यान जान सक्छ,’ बाल अधिकारकर्मी मणिकुमार लिम्बू भन्छन्, ‘उनीहरूको रमाउन, खेल्न पाउने अधिकारप्रति सचेत बन्दै हामी सजग हुनुपर्छ ।’

प्रकाशित : भाद्र १, २०७९ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?