मेची प्रादेशिक अस्पतालमा बेथिति

जनशक्ति अभावले सेवा प्रभावित

१०३ जनाको दरबन्दी भए पनि ४५ जना कार्यरत
अस्पतालले लिजमा दियो ८ डायलसिस मेसिन निजी क्षेत्रलाई
अर्जुन राजवंशी

बिर्तामोड — मेचीनगर नगरपालिकाकी ६३ वर्षीया देउकुमारी मगर खुट्टामा समस्या देखिएपछि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल भर्ना भइन् । चिकित्सकले दिएको सल्लाह अनुसार मगरले साउन ११ मा अस्पतालमै सीटी स्क्यान गराइन् । तर पाँच दिनसम्म रिपोर्ट नआउँदा उपचारबाट वञ्चित भएर स्वास्थ्य स्थिति गंभीर बन्यो । आफन्तजनको निरन्तरको तागेकापछि डाक्टरले हातले लेखेर उनलाई रिपोर्ट दिए । 

जनशक्ति अभावले सेवा प्रभावित

अर्का सेवाग्राही भद्रपुरका शिवराज राजभण्डारीले करिब दुई महिना अघि अस्पतालको ल्याबमा रगत दिए । ल्याब रिपोर्ट अनुसार उनको स्वास्थ्यमा समस्या देखियो । उनलाई मेची अस्पतालको रिपोर्टको मात्र विश्वास लागेन । तत्कालै भद्रपुरकै अधिकारी प्याथोलोजी र निको पोलिक्लिनिकमा गएर पुनः रगत जाँच गराए । तर मेची अस्पतालभन्दा फरक दुवै निजी ल्याबको रिपोर्ट एकै खालको आयो । रिपोर्टमा सामान्यभन्दा बढी नै भिन्नता देखिए पछि राजभण्डारीले तत्काल अस्पतालका चिकित्सक एवं प्रशासनलाई यसबारेमा जानकारी गराए ।

उक्त अस्पतालको उपचार प्रक्रियामा सेवाग्राहीको गुनासो बढेपछि अहिले सुधारका लागि स्थानीयवासी जुटेका छन् । साविक मेची अञ्चलकै ठूलो र पुरानो अस्पतालको रूपमा रहेको भद्रपुर नगरपालिकास्थित उक्त अस्पतालको सेवा प्रभावकारी बनाउन स्थानीयले सुधार समिति गठन गरी अस्पताल प्रशासन तथा सरोकारबालालाई लगातार दबाब दिइरहेका छन् ।

स्थानीय दीपक तिम्सिनाको नेतृत्वमा गठन गरिएको मेची प्रादेशिक अस्पताल सुधार समितिले विभिन्न समस्याहरूलाई ३६ वटा बुँदामा समेटेको छ । समितिले समाधानका लागि अस्पताल प्रशासन, चिकित्सक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतसँग निरन्तर छलफल एवं सुधारका लागि पहल गरिरहेको छ ।

समितिले प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएको छ । समस्या पहिचान गरी सम्बोधनका लागि एमालेले पनि प्रदेश सांसद वसन्त बानियाँको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । ५० बेड स्वीकृतिको उक्त अस्पताल २०३३ मा स्थापना भएको हो । अस्पतालमा १ सय ३ जनाको दरबन्दी भए पनि हाल ४५ मात्र कार्यरत छन् । आधाभन्दा बढी रिक्त रहेकाले दैनिक प्रदान हुने सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले बताए ।

उनका अनुसार दैनिक ९ सयसम्म स्वास्थ्य परीक्षणका लागि अस्पताल आउँछन् । ५० बेडको भए पनि अस्पतालमा हाल १ सय १० बेड सञ्चालन रहेको पोखरेलको भनाइ छ । ‘कुनै वार्ड खाली छैन, ओपीडीमा पनि सेवाग्राहीको चाप थामिनसक्नु छ,’ पोखरेलले भने, ‘दरबन्दीअनुसारको जनशक्ति नहुँदा दैनिक सेवा प्रदान गर्न निकै गाह्रो भइरहेको छ ।’

अस्पतालमा सीटी स्क्यानका लागि दैनिक १० भन्दा बढी बिरामी आउँछन् । भिडियो एक्स–रे गराउन दैनिक ६० जनाभन्दा बढी आउने गरेको अस्पतालका शाखा अधिकृत रेखनाथ दाहालले बताए । ‘भिडियो एक्सरे र सीटी स्क्यान गर्ने एक मात्र डाक्टर छन्, पाँच दिन भिडियो एक्सरे र दुई दिन मात्र सीटी स्क्यानको रिपोर्ट तयार गर्ने गरी समय निर्धारण गरिएको छ’उनले भने ।

जनशक्ति अभावमा अस्पतालले ८ डायलसिस मेसिन निजी क्षेत्रलाई लिजमा दिएको सूचना अधिकारी पोखरेलले बताए । अस्पताल ०३३ मा बनेको पुरानो जीर्ण भवनमा सञ्चालित छ । १५ वटा भेन्टिलेटर मेसिन भए पनि आईसीयूमा ठाउँ अभावमा तीनवटा मात्र जडान गरिएका छन् ।

पर्याप्त जनशक्ति र व्यवस्थित भवनको अभावमा प्रभावकारी ढंगले थप सेवा दिन नसकिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. टंकप्रसाद बाराकोटीले स्वीकारे । उनले स्थानीयले अस्पताल सुधारका लागि उठान गरेका बुँदा तर्फ अस्पतालको पनि ध्यानाकर्षण भएकाले उल्लेखित समस्याहरू सम्बोधनतर्फ काम भइरहेको दाबी गरे । ‘साथीहरूले अस्पताल परिसरमा सरसफाइ भएन भने पछि तत्काल फोहोर व्यवस्थापनको काम गरेका छौं, ल्याबले गलत रिपोर्ट दियो भन्ने सम्बन्धमा सुधार गरेर थप गल्ती नहुने गरी अघि बढेका छौं,’ मेसु बाराकोटीले भने ।

उक्त अस्पतालमा नीतिगत र बजेटको अभावमा भन्दा पनि व्यवस्थापनको कमजोरीका कारण धेरै समस्या सम्बोधन हुन नसकेको प्रदेश सांसद बानियाँले बताए । उनले व्यवस्थापनले गर्नुपर्ने नियमित र आधारभूत कामहरूसमेत हप्तौंसम्म नगर्दा जिल्लाकै गहनाको रूपमा रहेको अस्पतालबाट सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकिरहेको आरोप लगाए । ‘अस्पतालमा देखिएका समस्यामध्ये धेरैको समाधान व्यवस्थापन पक्षले ध्यान नदिँदा हुन नसकेको हो,’ उनले भने, ‘स्रोतको कुनै कमी छैन, मात्र सोचको कमीले समस्या भइरहेको छ ।’

प्रकाशित : श्रावण ३१, २०७९ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?