
झापा — कचनकवल–५ पाठामारीका तीन किशोरीको शव रूखमा झुन्डिएको अवस्थामा फेला परेको घटनाको वास्तविकता अझै खुलेको छैन । शंकास्पद स्थितिमा शव भेटिएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन नसकेको हो ।
१७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना, १७ वर्षीया कल्पनाको शव सुनकोसी चिया बगाननजिकै रूखमा फेला परेको थियो । तीनै जना बगानका श्रमिक थिए । झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले घटनाको अनुसन्धान जारी नै रहेको र चाँडै वास्तविकता पत्ता लाग्ने जानकारी दिए । उनका अनुसार किशोरीहरूको पोस्टमार्टम रिपोर्ट आयो तर आंशिकमात्रै । किशोरीहरूको भिसेरा जाँचका लागि काठमाडौं पठाइएको र उक्त रिपोर्ट आएपछि मात्रै पोस्टमार्टमको पूर्ण रिपोर्ट आउने उनले जनाए । ‘भिसेरा र फरेन्सिक ल्याबको रिपोर्ट नआउन्जेलसम्म चुरो पत्ता लाग्दैन,’
भिसेराबाट किशोरीहरूले विष सेवन गरे/नगरेको पत्ता लाग्छ । फरेन्सिक ल्याबको रिपोर्टले उनीहरूले प्रयोग गरेको मोबाइलको तथ्य जाँच गर्नेछ । मोबाइलमा भारतीय नम्बर डायल भएको र उक्त व्यक्तिसँग पटक–पटक फोन सम्पर्क भएको भेटिएको छ ।