२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निगुरो बेच्न विहारदेखि भन्टाबारी

सुम्निमा चाम्लिङ

इटहरी — सीमावर्ती भारतीय राज्य विहार भीमनगरकी आशा देवी निगुरो बेच्न दिनहुँ सुनसरीको भन्टाबारी आउँछिन् । श्रीमान्को कमाइले मात्र गुजारा धान्न धौधौ परेपछि श्रीमतीले निगुरो टिपेर बेच्न थालेकी हुन् । 

निगुरो बेच्न विहारदेखि भन्टाबारी

सवेरै गाउँका महिलासँग दुई घण्टा बसको यात्रा गरेर जंगल पुग्छन्, चार घण्टा टिप्छन् र भीमनगर हुँदै भन्टाबारी आएर मुठ्ठा बनाउँछन् । आशाका अनुसार भारतमा निगुरो कमैले खान्छन् । उनी भन्छिन्, ‘नेपालमा जति बिक्री हुँदैन । त्यहाँ निगुरेबारे खासै थाहा छैन, मजस्तै बिहे भएर उता पुगेकाले मात्र यसको स्वाद बुझेका छन् ।’

उनी दैनिक प्रतिमुठ्ठा ७ रुपैयाँको दरले सय मुठ्ठा बेच्छिन् । निगुरो बेच्न थालेपछि परिवारको खर्च धान्न सहज भएको उनी सुनाउँछिन् । भन्छिन्, ‘जंगलमा दुःख हुन्छ, तर आम्दानी पनि छ । श्रीमान्को कमाइ पर्खनुपर्दैन, छोराछोरीलाई स्कुल पढाउन निकै सजिलो भएको छ ।’ भीमनगरकै ६० वर्षीया मीनादेवीको दैनिकी पनि उस्तै छ ।

सबेरै उठ्नु, साग टिप्नु र दिउँसो भन्टाबारी आएर बिक्री गर्नु उनको दैनिकी हो । साउनदेखि असोजसम्म निगुरोको मुख्य सिजन मानिन्छ । मीनादेवीले ९ वर्षदेखि सागको व्यापार गर्दै छिन् । सिजनमा सागको कमाइबाट रोजीरोटी गर्दै आएकी छन् ।

लामो यात्रा गर्दै जंगल पुगेर साग टिप्नु सहज छैन । नेपालमा साग बेच्न पाएकोमा खुसी लागेको बताउँदै उनी भन्छिन्, ‘नेपाल बढिया छे ।’ सीमाका दुवै सुरक्षाकर्मीले सहयोग गर्दै आएको बताइन् । उनले दैनिक ३ सय रुपैयाँ कमाउँछिन् । विहार बिसनपुरकी २६ वर्षीया रीनाकुमारी गुप्ताले तीन वर्षदेखि निगुरो टिप्न थालेकी हुन् । आमाबुबाको मृत्युपछि घर चलाउने कोही भएन । एक्ली उनी घरखर्च धान्न यही पहाडी साग टिप्न थालिन् । उनको गाउँबाट जंगल जाने उनी मात्र हुन् । सागको सिजन सकिएपछि भारतमै मजदुरी गर्छिन् । निगुरोको सिजनमा मासिक १२ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । निगुरो बेच्न थालेपछि खर्च जुटाउन सजिलो भएको उनले बताइन् । पछिल्लो महिनायता भारत विहारको भीमनगर, बिसनपुरका धेरै स्थानीय नेपालमा निगुरो बेचेर गुजारा गर्दै आएका छन् । नेपालीसमेत यसमा सक्रिय हुन थालेका छन् ।

प्रकाशित : श्रावण ३०, २०७९ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?