१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रहरीले धरानबाट रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । रेडपाण्डा दुर्लभ र लोपोन्मुख वन्यजन्तु भएकाले संरक्षित सूचीमा पर्छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी प्रभुप्रसाद ढकालका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले धरान १५ बाझगराको श्यामचौकबाट रेडपाण्डाको छालासहित तीनजनालाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान १६ बस्ने सुदेश विश्वकर्मा, मोरङको केराबारी गाउँपालिका– ६ बस्ने रजिस राई र मोरङकै सुन्दरहरैचा– ५ बस्ने निश्चल श्रेष्ठ रहेका छन् । संरक्षित वन्यजन्तुको छालासहित पक्राउ परेकाले तीनै जनालाई शुक्रबार जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि पठाइएको छ ।

एसपी ढकालले भने, ‘रेडपाण्डाको पूरै छाला बरामद भएको छ । प्रारम्भीक अनुसन्धान अनुसार उनीहरुले संखुवासभाबाट ल्याएको बुझिएको छ । उनीहरुले एक व्यापारीलाई ३२ लाख रुपैयाँमा बिक्री गर्ने डिल भएअनुसार धरानमा छाला ल्याएको बुझिएको छ ।’

प्रहरीका अनुसार ती व्यापारीले पनि अन्य मुलुकमा बिक्री गर्नका लागि ३२ लाख रुपैयाँमा रेडपाण्डाको छाला किन्ने डिल गरेका थिए । प्रहरीले खरिद गर्न चाहने व्यापारी र रेडपाण्डा मारेर छाला बिक्री गर्ने गिरोहको थप खोजी गरिरहेको जनाएको छ । रेडपाण्डा ताप्लेजुङ र संखुवासभाका जंगलमा मात्र सीमित मात्रामा पाइन्छ ।

प्रकाशित : श्रावण २७, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?