सप्तकोसी बाढी : विस्थापित ९० प्रतिशत बिरामी 

डिल्लीराम खतिवडा

उदयपुर — सप्तकोसी नदीले धार परिवर्तन गरी जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित बिरामी परेका छन् । सातायता विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्यामा देखा परेको हो । 

सप्तकोसी बाढी : विस्थापित ९० प्रतिशत बिरामी 

झण्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको कोसीले साउन १८ गते वेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्रका गाउँमा पसेको थियो । कोसी पसेपछि वेलका नगरपालिका ९, ८, २ र ३ नम्बर वडका भाटेपुल, सिसौली चौरी, एकता, चिलिया, दुर्गमन्दिर ,एबीसी टाप्पु बाढीको जोखिममा परेका छन् । बाढी बस्ती छिरेपछि अहिलेसम्म १ सय ९ परिवारको १ हजार ५१ जना विस्थापित भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

विस्थापितलाई कोसी जनता मावि, आधारभूत विद्यालय सातपत्रे, खसीबाख्रा संकलन केन्द्र कान्तेचौरी, बानडाँडाको रेडक्रस भवनको शिविरमा राखिएको छ । शिविरमा राखिएकामध्ये ९० प्रतिशतलाई उच्च ज्वरो, झाडापखाला र वान्ता हुने समस्या देखा परेको वेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन विशाल राईले बताए ।

उनका अनुसार बिारामी हुनेमा बालबालिका र वृद्धावृद्ध बढी छन् । उनीहरुको शिविरमै पुगेर औषधि उपचार गरिएको डाक्टर राईले बताए ।

दुइ दर्जनभन्दा बढी बिरामी अस्पताल भर्ना भएकामा अधिकांश फकिएको र अन्य उपचार हुने र आउनेक्रम जारी रहेको डाक्टर राईले बताए ।

खसीबाख्रा संकलन केन्द्र कान्तेचौरीको शिविरमा मात्रै ४ बालिकासहित १३ बालबालिका, १२ महिला र एक पुरुषलाई उच्च ज्वरो, रुघाखोकी, झाडापखाला र वाकवाकी आउने र वान्त हुने समस्या रहेका त्यहाँका पीडितले बताए ।

कोसी गाउँ पसेर २ हजार ५ सय परिवार विस्थापित हुने प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले बताएका थिए । तर, अहिले आएर विस्थापितको संख्यामा कमी आएको नगर प्रमुख अशोक कार्कीले बताए ।

प्रकाशित : श्रावण २५, २०७९ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?