कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ शताब्दी पुरानो ‘चौरासे घर’

राणाशासनदेखि पञ्चायतकालसम्म अपराधीलाई थुन्नसमेत प्रयोग गरिने ऐतिहासिक यो घर जीर्ण
कुम्भराज राई

ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित १ सय ५० वर्षभन्दा पुरानो चौरासे घरको संरक्षण हुन सकेको छैन । राणाशासनदेखि पञ्चायतकालसम्म अपराधीलाई थुन्नसमेत प्रयोग गरिने ऐतिहासिक उक्त घर जीर्ण हुँदै गएको छ । यस घरलाई स्थानीयले झिँगटी घरसमेत भन्ने गर्छन् ।

डेढ शताब्दी पुरानो ‘चौरासे घर’

पहिले झिँगटी (माटोको टायल) को छाना थियो । तर त्यो छाना भत्किएपछि खरले छाइएको छ । दुई तले यो घर १९९० सालको भूकम्पमा भत्किएको अनुमान गरिन्छ । त्यसअघिसम्म यो घर तीन तलाको रहेको स्थानीय बताउँछन् । तत्कालीन शासकले वागवर्ण राईलाई ‘अमाल’ पद दिएका थिए ।

उनले भूमिकर उठाउनेदेखि त्यस क्षेत्रको शासन व्यवस्थाका केही अधिकार पाएका थिए । उनकै पालमा यो घर बनेको हुन सक्ने उनका वंशीय पनाति बताउँछन् । ‘ठ्याक्कै यही बेलामा बनेको हो भनेर त भन्ने कोही छैनन्,’ वागवर्णका वंशीय खनाति श्यामकुमार राईले भने, ‘तर वागवर्णकै पालामा बनेको हो कि भन्ने बूढापाकाको भनाइ छ ।’

वागवर्णका अघिल्लो पुस्तादेखि उनीहरूले शासन गरेका थिए, थिएनन् भन्ने यकिन छैन् । तर त्यसपछि भने उनीहरूले राई तालुकदार, जिम्मावाल जस्ता पद सम्हालेर भूमिकर संकलन गरेको कतिपय कागजात अझै सुरक्षित छन् । तत्कालीन अवस्थामा पश्चिममा सिस्नेरी, उत्तरमा ओखलढुंगा गोरुमारेभन्ज्याङ, बेतेनी, सल्लेरी, पूर्वमा मोली र दक्षिणमा दूधकोसी पारि खोटाङको केही भूभागसम्म उनीहरूले भूमिकर उठाउँथे ।

८४ गाउँको भूमिकर संकलन गर्दा ४ सय ८४ रुपैयाँ कर बुझाउनुपर्ने शर्त थियो । यदि त्योभन्दा कम कर संकलन भएमा सरकारले बकस दिएको ४० मुरी धान फल्ने खेतबाट असुल गर्ने सम्झौता केन्द्रीय सरकारसँग भएको थियो । त्यसैले ८४ गाउँको ४ सय ८४ रुपैयाँ कर संकलन गर्ने घर भएकोले सबैले चौरासे घर भन्ने गरेका हुन् । उक्त घर वागवर्णका पनाति कृष्णलाल राईको नाममा छ । उनको पनि केही वर्षअघि निधन भइसकेको छ । उनका छोराहरू पृथ्वीराज र दिनेश तराईतिर बसाइँ सरेका छन् । व्यक्तिको नाममा रहेकाले उक्त घर संरक्षण गर्न समस्या छ । यसलाई स्थानीय तह वा बाम्बुले राई समाज नामक संस्थाको नाममा ल्याएर संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ ।

‘यो उँबु क्षेत्र वल्लो किरातअन्तर्गत बाम्बुले राईहरूको उद्गम थलो हो,’ पूर्ववडाध्यक्ष मेडल राईले भने, ‘त्यसैले यस क्षेत्रको ऐतिहासिक घरको रूपमा यसलाई हेरिन्छ, यसलाई संरक्षण गर्न जरुरी छ ।’ करिब तीन आनामा बनेको घरको तल्लो तलामा मान्छे थुन्नका लागि बनाइएको भाग भत्किएको छ । सबैभन्दा पछिल्लो समय पञ्चायतको सुरुवाती अवस्थामा यहाँ चोरी गरेको आरोपमा स्थानीय झ्वाँके सार्की थुनिएका थिए । उनी नै अन्तिम थुनामा बस्ने व्यक्ति हुन् । उनका छोरा नाति अझै जीवित छन् ।

‘सरकारी वा साझा स्वामित्वमा ल्याउन सके पुरातत्त्व विभागलगायतलाई अध्ययन अनुसन्धान गर्न र पुनर्निर्माण गर्न सजिलो पनि हुन्छ,’ वडाध्यक्ष राईले भने, ‘इतिहासको संरक्षण गर्ने मात्र नभएर यो भवनलाई ऐतिहासिक पर्यटनको गन्तव्य पनि बनाउन सकिन्छ ।’ यो घर कहिले बनेको थियो भनेर थाहा पाउन भने घरको इँटा, काठ जस्ता सामग्रीको वैज्ञानिक परिक्षण गरेर मात्र टुंगो लगाउन सकिन्छ ।

प्रकाशित : श्रावण २४, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?