शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि भोजपुरका तीन विद्यालय बन्द- प्रदेश १ - कान्तिपुर समाचार

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि भोजपुरका तीन विद्यालय बन्द

डम्बरसिं राई

खोटाङ — कोरोना संक्रमण देखिएपछि भोजपुरको टेम्केमैयु गाउँपालिकाका तीनवटा विद्यालय बन्द गरिएको छ । उक्त पालिकाको वडा नं. ३ अन्नपूर्णस्थित बाघधन रणदीपा राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा नं. ७ को जनोदय मावि बन्द गरिएको हो ।

बाघधन रणदीपा राई माविका पाँच विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि साउन २७ गतेसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक डम्बर राईले बताए । २७ गतेसम्म कोरोना संक्रमणको अवस्था हेरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने या बन्द लम्ब्याउने भन्नेबारे टुङ्गो लगाइने उनको भनाइ छ । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको देखियो‚’ राईले भने‚ ‘त्यसैले २७ गतेसम्मका लागि विद्यलाय बन्द गरियो ।’

उक्त वडाकै छाङछाहाङ प्राविकी एक शिक्षिका र दुई विद्यार्थीमा समेत कोरोना देखिएपछि दुई दिनका लागि विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गरिएको प्रअ लक्ष्मी घिमिरेले बताए । विद्यार्थीको अवस्था हेरेर बिदा लम्ब्याउने वा विद्यालय सञ्चालन गर्ने भन्नेबारे टुङ्गो हुने घिमिरेको भनाइ छ । उक्त विद्यालयमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउनेलगायत लक्षण देखिएका बिरामी बढेको घिमिरेले सुनाए ।

सोही पालिकाकै वडा नं. ७ कोटको जनोदय माविका प्रअसहित १३ जनामा कोरोना देखिएपछि २७ गतेसम्मकै लागि विद्यालय बन्द गरिएको छ । प्रअ अरुण चौधरीका अनुसार आफूसहित दुई शिक्षक र ११ विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो ।

उक्त पालिकाको वडा नं. ८ गोगनेमा पनि कोरोना संक्रमितको संख्या बढेको छ । बिरामीको संख्या बढेको जानकारीपछि परीक्षणको तयारी गरिएको टेम्केमैयु गाउँपालिका शिक्षा शाखा प्रमुख राजन ढकालले बताए । बालबालिकाले कोरोनाको खोप पनि नलगाएकाले समस्या पैदा हुने अवस्था आएको उनले जनाए ।

प्रकाशित : श्रावण २३, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्

हेटौंडामा ४ सवारी एकै ठाउँमा दुर्घटना

कान्तिपुर संवाददाता

हेटौंडा — पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।

ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको छ । त्यसपछि ट्रकले पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएर बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि पुनः ट्रकले रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको ट्रकलाई पनि ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा विद्यार्थी, ट्रक चालक, सहचालक, कारका चालक गरी २० जनाभन्दा बढी व्यक्ति घाइते भएको र उनीहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : श्रावण २३, २०७९ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×