कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अस्पतालमा सुत्केरी मृत्यु : छानबिन समिति गठन, मृतकको परिवारलाई १० लाख

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिममा भर्खरै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा प्रसूति गराएकी महिलाको मृत्यु भएको घटना छानबिन गर्न समिति गठन गरिएको छ । समिति संयोजकका रुपमा पाँचथर अस्पतालका निमित्त प्रमुख बरुण अग्रवाललाई तोकिएको छ ।

अस्पतालमा सुत्केरी मृत्यु : छानबिन समिति गठन, मृतकको परिवारलाई १० लाख

फिदिम नगरपालिका–६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को आइतबार बिहान निधन भएको थियो । त्यसपछि मृतकका आफन्त र अस्पताल सञ्चालकबीच बढेको असमझदारी कम गर्दै समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले घटना छानबिन गर्न समिति गठन गरेको हो ।

अस्पताल प्रशासनले मृतकको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने सहमतिसँगै आफन्तले शव बुझ्ने भएका छन् । अस्पताल प्रशासनले मृतकका आफन्तलाई किरिया खर्चस्वरुप तत्काल ५ लाख र नवजात शिशुको शिक्षादीक्षाका लागि बैंक खाता खोलेर थप पाँच लाख गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेलगत्तै शव बुझ्ने बुझाउने प्रक्रिया सुरु हुने सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार शनिबार उनले सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । साँझ शरीरमा रगतको मात्रा कम भएपछि थप रगत दिइएको थियो । त्यसपछि रक्तस्राव रोकिए पनि अचानक रक्तचाप घटेर स्वास्थ्यमा जटिलता देखिएको थियो ।

यसपछि थप उपचारका लागि तराईको सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गर्दा गर्दै उनको मृत्यु भएको श्रेष्ठको भनाइ छ । चिकित्सकहरुका अनुसार यो उपचारको क्रममा भएको लापर्बाही होइन । प्रसूतिपश्चात् अचानक हेमोग्लोबिन र रक्तचाप कम हुँदा यस्तो समस्या हुने उपचारमा संलग्न डा. शुभनारायण ठाकुरले बताए । तर परिवारजन भने अस्पताल पक्षको जवाफबाट सन्तुष्ट छैन । पारिवारिक स्रोतका अनुसार फागोले केही दिन अगाडि पाँचथर अस्पतालमा गर्भ परीक्षण गराएकी थिइन् । त्यस क्रममा चिकित्सकले बच्चाको तौल कम रहेको बताएका थिए ।

सामान्य ढंगले शिशुलाई जन्म दिएकी फागोको कसरी अचानक मृत्यु हुनसक्छ भन्दै परिवारजन एवं स्थानीय आक्रोशित छन् । अस्पताल परिसरमा आफन्त, बजारवासीको भीड छ । अप्रिय घट्ना हुनसक्ने भन्दै सुरक्षाकर्मी पनि खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २२, २०७९ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?