१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फिदिमको सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिममा हालै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा सुत्केरी गराइएकी महिलाको मृत्यु भएको छ । फिदिम नगरपालिका ६ की १९ वर्षीया धरिना फागो (तुम्रोक) को आइतबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

फिदिमको सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु

अस्पताल प्रशासनका अनुसार शनिबार बिहान ८ बजे उनले सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । साँझ ९ बजे शरीरमा रगतको मात्रा कम भएपछि थप रगत दिइएको थियो । रगत दिइएपछि रक्तश्राव रोकिए पनि अचानक रक्तचाप घटेर स्वास्थमा जटिलता देखिएको थियो ।

स्वास्थ अवस्था जटिल बनेपछि थप उपचारका लागि तराइको सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गर्दा गर्दै उनको मृत्यु भएको अस्पताल सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार फागोले केही दिनअघि पाँचथर अस्पतालमा गर्भ परीक्षण गराएकी थिइन् । त्यस क्रममा चिकित्सकले बच्चाको तौल कम रहेको बताएका थिए ।

आइतबार अपराह्नसम्म फागोको शव अस्पतालमै छ । अस्पताल परिसरमा आफन्त, बजारवासीको बाक्लो भीड छ । अप्रिय घटना हुनसक्ने भन्दै सुरक्षाकर्मी पनि खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फागोका आफन्त र अस्पताल प्रशासनबीच छलफल भइरहे पनि निस्कर्ष निस्किएको छैन । अस्पताल प्रशासनको चित्तबुझ्दो जवाफ र प्रतिबद्धता आए शव बुझ्ने आफन्तले जनाएका छन् ।

प्रकाशित : श्रावण २२, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?