फिदिमको सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु- प्रदेश १ - कान्तिपुर समाचार

फिदिमको सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सदरमुकाम फिदिममा हालै सञ्चालनमा आएको गणेशमान सिंह सामुदायिक अस्पतालमा सुत्केरी गराइएकी महिलाको मृत्यु भएको छ । फिदिम नगरपालिका ६ की १९ वर्षीया धरिना फागो (तुम्रोक) को आइतबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

अस्पताल प्रशासनका अनुसार शनिबार बिहान ८ बजे उनले सामान्य अवस्थामा बच्चा जन्माएकी थिइन् । साँझ ९ बजे शरीरमा रगतको मात्रा कम भएपछि थप रगत दिइएको थियो । रगत दिइएपछि रक्तश्राव रोकिए पनि अचानक रक्तचाप घटेर स्वास्थमा जटिलता देखिएको थियो ।

स्वास्थ अवस्था जटिल बनेपछि थप उपचारका लागि तराइको सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गर्दा गर्दै उनको मृत्यु भएको अस्पताल सञ्चालक सन्तोष श्रेष्ठले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार फागोले केही दिनअघि पाँचथर अस्पतालमा गर्भ परीक्षण गराएकी थिइन् । त्यस क्रममा चिकित्सकले बच्चाको तौल कम रहेको बताएका थिए ।

आइतबार अपराह्नसम्म फागोको शव अस्पतालमै छ । अस्पताल परिसरमा आफन्त, बजारवासीको बाक्लो भीड छ । अप्रिय घटना हुनसक्ने भन्दै सुरक्षाकर्मी पनि खटाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फागोका आफन्त र अस्पताल प्रशासनबीच छलफल भइरहे पनि निस्कर्ष निस्किएको छैन । अस्पताल प्रशासनको चित्तबुझ्दो जवाफ र प्रतिबद्धता आए शव बुझ्ने आफन्तले जनाएका छन् ।

प्रकाशित : श्रावण २२, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्

शौचालयको खाल्डोमा हालेर शिशु हत्या आरोपमा आमासहित दुई पक्राउ

प्रतीक्षा काफ्ले

स्याङ्जा — अस्थायी शौचालयको खाल्डोमा हालेर छ महिनाकी शिशुको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल पक्राउ परेका हुन् ।

नाबालिकासहित सम्पर्कविहीन भएकी रानालाई प्रहरीले खोजतलास गर्दा शुक्रबार दिउँसो गल्याङबाट नै पक्राउ गरेको हो । कुमाललाई पनि रानाकै साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।

‘लक्ष्मी रानाले साउन १० गते छोरीलाई राति १२ बजे ट्वाइलेटको खाल्डोमा हालेकी रहेछिन्,’ डीएसपी खनालले भने, ‘छोरीको खोजतलास गर्दा सडेगलेको अवस्थामा खाल्डोमा लास भेटियो ।’ उनका अनुसार छोरीको हत्या गरेर कुमालसँग सोही दिन विवाह गरी भागेकी थिइन् ।

घरमा कोही नभएको मौका पारी छोरीसहित सम्पर्कविहीन भएको भन्दै साउन १२ गते ससुरा सूर्यबहादुर रानाले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । उनी सोही दिन पुन: विवाह गरी भागेकी थिइन् ।

लक्ष्मीका श्रीमान् मिनबहादुर राना रोजगारीको लागि तीन महिनादेखि भारत छन् । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गर्दै आएको जनाएको छ । नाबालिकाको शव प्रहरीले सूर्यबहादुरलाई नै बुझाएको खनालले बताए । आरोपित दुवै जनालाई आइतबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी १० को म्याद थप गरिएको डीएसपी खनालले जनाए ।


प्रकाशित : श्रावण २२, २०७९ १७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×