पारिबाट पढ्न वारि

विराटनगरको डीएभी स्कुलमा २०० र दिल्ली पब्लिकमा ५० भारतीय विद्यार्थी अध्ययनरत
विनोद भण्डारी

विराटनगर — सीमावर्ती क्षेत्रका धनाढ्य भारतीय अभिभावकको आकर्षण गुणस्तरीय शिक्षाका कारण विराटनगरका महँगो निजी विद्यालयमा बढ्न थालेको छ । यहाँका दिल्ली पब्लिक, डीएभी, गौतम बुद्धलगायतका बोर्डिङमा भारतीय बालबालिकाको बाक्लो उपस्थिति देखिन्छ ।

पारिबाट पढ्न वारि

यीमध्ये डीएभी र दिल्ली पब्लिक स्कुलको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) बोर्ड हो । ती दुई विद्यालयले पारिबाट आउनेको हकमा भारतीय पाठ्यक्रम पढाउँछ । यी दुई स्कुलमा सामान्य आर्थिक हैसियत भएकाले छोराछोरीलाई भर्ना गर्ने आँटसमेत गर्दैनन् । यी दुई निजी विद्यालयमा विराटनगर र आसपासका सम्पन्न एवं नवधनाढ्यका छोराछोरी मात्र पढ्छन् ।

भारत विहारको फारबिसगन्ज, जोगवनी, बथनाह र दरभंगासम्मका विद्यार्थी विराटनगरका निजी शिक्षण संस्थामा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्दैछन् । विहारको त्यस क्षेत्रमा गुणस्तरीय विद्यालय नहुँदा विद्यार्थीको आकर्षण यताको निजी विद्यालयमा बढेको सरोकारवालाको भनाइ छ । यहाँका स्कुल बस फारबिसगन्जसम्म पुगेर विद्यार्थी ओसार्छ । डीएभी स्कुलमा मात्र करिब दुई सय भारतीय विद्यार्थी अध्ययनरत छन् । प्रिन्सिपल रमेश मिश्रका अनुसार ती विद्यार्थीलाई ल्याउन–लैजान दैनिक तीन स्कुल बसको व्यवस्था छ । उनका अनुसार यो विद्यालयमा जोगवनी र आसपासका विद्यार्थी पढ्छन् ।

यहाँको दिल्ली पब्लिक बोर्डिङ स्कुलमा अहिले ५० भारतीय विद्यार्थी अध्ययनरत रहेको सञ्चालक अरुण राठीले बताए । लगानीका हिसाबले विराटनगरको यो सबैभन्दा ठूलो, महँगो र आम मान्छेको पहुँच नपुग्ने विद्यालय मानिन्छ ।

यो विद्यालयले विहारबाट पढ्न आउने विद्यार्थीका लागि दैनिक आरामदायी बस सेवाको प्रबन्ध गरेको छ । यो स्कुलमा भारतको फारबिसगन्ज र दरभंगाका विद्यार्थी बढी छन् । कोरोना कहर पहिला यो विद्यालयमा दुई सय बढी भारतीय विद्यार्थी अध्ययनरत थिए । अहिले घटेर ५० मा झरेको छ । यो विद्यालयमा औद्योगिक घराना विशाल ग्रुप, त्रिवणी समूह, मुण्दडा र राठी समूहको लगानी छ । दिल्ली पब्लिक स्कुलमा भारतीय राष्ट्रिय गान पनि बजाउने गरेको स्रोतको दाबी छ । तर स्कुल सञ्चालक राठीले त्यसलाई ठाँडै अस्विकारे । ‘सुरुवाती कालमा नेपाल र भारत दुवै मुलुकको राष्ट्रिय गान बजाउँथ्यौं, विरोधपछि भारतको राष्ट्रिय गान बजाउन छाडेको हौं,’ उनले भने ।

सीमावर्ती गौतम बुद्ध बोर्डिङ स्कुलमा पनि भारतीय बालबालिका पढ्छन् । प्रिन्सिपल केशव सुवालका अनुसार भारतीय विद्यार्थीलाई पनि नेपाली पाठ्यक्रमअनुसार नै पढाइन्छ । कोरोनाकाल पहिला एक सयभन्दा बढी भारतीय विद्यार्थी अध्ययनरत थिए । सुवालले भने, ‘अहिले आधीउधी घटेका छन् ।’ त्यसैगरी यहाँका प्लस टु र मन्टेश्वरी कक्षामा पनि भारतीय विद्यार्थीको उपस्थिति छ । जोगवनी बजारका सबै भारतीयका बालबालिका विराटनगरका मन्टेश्वरीमा भर्ना हुँदै आएको बताइएको छ । सीमा नाकाबाट विराटनगरका मन्टेश्वरीका गाडी आइजाई गरेको देखिन्छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?