कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रअको मनमौजीले विद्यालयमा बेथिति

सरूवा भएर आएकी शिक्षिकालाई हाजिर गर्न दिइएन 
लक्ष्मी गौतम

पाँचथर — महादेव आधारभूत विद्यालय फिदिम–१४ बाट पहिलो पटक सहमति लिएर वडा–१० को सिद्धदेवी आधारभूतका लागि शिक्षिका रिता तुम्बापोले २०७८ साउन १६ मा माग गरेको सरुवा सिफारिस फिदिम नगरपालिकाले रोकिदियो ।

प्रअको मनमौजीले विद्यालयमा बेथिति

सिफारिस रोक्न सिद्धदेवीका प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले तत्कालीन मेयर ओनाहाङ नेम्वाङलाइ प्रयोग गरेको स्थायी शिक्षिका तुम्बापोको आरोप छ ।

दोस्रो पटक सरुवा सहमति, नगरपालिकाको सिफारिस, जिल्ला शिक्षा समन्वय इकाइको सरुवा स्विकृति र त्यस अघि कार्यरत विद्यालयबाट जेठ २७ मा रमाना पत्र लिएर १ असारमा पुग्दा उनलाई थाम्सुहाङले हाजिर गर्न दिएनन् । प्रक्रिया पूरा गरेर आएकी शिक्षिकाले पटकपटक अनुरोध गर्दा अटेर गरेपछि असार ९ मा भेला भएका अभिभावकले विद्यालय प्रशासनमा ताला लगाए । चर्कंदै गएको विवाद समाधान गर्नुको साटो प्रअ थाम्सुहाङले असार ११ देखि एक महिना वर्षे बिदा दिएको सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरेर सम्पर्कविहीन भए ।

आफूले घोषणा गरेको बिदाको अवधि सकिएको एक सातापछि साउन १७ मा विद्यालय पुगेका उनले स्थानीय अविभावकसँग छलफल नगरी कार्यालयमा लगाइएको ताला फोडेर विद्यालयमा पढाइ नियमित भएको घोषणा गरे । विद्यालय खुलेको ४ दिन बित्दासम्म कुल संख्याको पचास प्रतिशत पनि विद्यार्थी हाजिर हुन सकेका छैनन् । विद्यालयमा दैनिकजसो भइरहने विवाद र विभिन्न कारणले पठनपाठन प्रभावित हुन थालेपछि अविभावकले छोराछोरीलाई वरिपरिका अन्य विद्यालयमा सारेपछि विद्यार्थी संख्या आधाभन्दा धेरै घटेको शिक्षक अभिभावक बताउँछन् ।

यसअघि ९० जनासम्म अध्ययनरत यो विद्यालयमा यो शैक्षिक सत्रमा बाल विकास केन्द्रसहित ६८ जना भर्ना भए पनि ३० जनाभन्दा कम मात्र नियमित विद्यालय आउने बताइएको छ । ‘स्कुलमा अभिभावक भेला बोलाइँदैन, व्यवस्थापन समितिको बैठक बसौं भन्दा हेडसरले तपाईंहरू हुलदंगा मच्चाउन खोज्नुहुन्छ भन्दै थर्काउँछन्, बैठक नबसेको ५ वर्ष भयो, दरबन्दीमा आएकी शिक्षिकालाई पढाउन दिइँदैन अनि किन राख्नु छोराछोरी ?’ स्थानीय कुमारी जवेगूले भनिन् ।

सरुवा लिएर गएकी शिक्षिकालाई हाजिर नगराएपछि थाम्सुहाङलाई नगरपालिकामा झिकाएर सोधनी गर्दा ‘दरबन्दी नै लैजानुस्, उनलाई हाजिर गराउँदिनँ’ भन्ने जवाफ दिएर फर्केको नगरपालिकाको शिक्षा शाखा प्रमुख निर्मला दाहालले बताइन् । अर्का अभिभावक मणि थाम्सुहाङका अनुसार शैक्षिक गुणस्तर सुधार्न हेडसर थोरै पनि चिन्तित छैनन् । ‘उहाँको बदमासी अचाक्ली भयो, स्रोतसाधनको दुरुपयोग भएको छ, वर्षौंदेखि सार्वजनिक सुनुवाइ भएको छैन,’ उनले भने, ‘यस अघि काठमाडौंवासी एक शिक्षिकालाई विद्यालयमा उपस्थिति नगराई हाजिरी मिलाएर तलब खुवाइयो, यस्तो हेडसरमाथि छानबिन हुनु जरुरी छ ।’

उक्त विद्यालयबाट १४ वर्षसम्म तलब भत्ता खाएकी चन्द्रा थाम्सुहाङ नामकी शिक्षिकालाई आफूहरूले कहिल्यै स्कुलमा नदेखेको अभिभावक बताउँछन । स्थानीयका अनुसार उक्त विद्यालयमा २०७७ माघ १४ मा निर्वाचन अधिकृत भएर प्रअ थाम्सुहाङले व्यवस्थापन समितिको चुनाव गराएका थिए । उम्मेदवार बनेका दुई जनाबीच प्रतिस्पर्धा हुँदा अध्यक्षमा टीकानाथ जवेगुसहित चार सदस्य निर्वाचित भए । आफू अनुकूलका व्यक्ति निर्वाचित नभएपछि प्रअ स्वयंले समिति गठनको प्रक्रिया नपुगेको भन्दै नगरपालिकामा निवेदन दिएर खारेज गराए । य पछि विद्यालयमा पुनः समिति गठनका लागि पटकपटक ताकेता गर्दा प्रअले चासो नलिएको स्थानीयले बताए ।

‘उनले कसैलाई टेर्दैनन्, कारबाही स्वरूप उनलाई सरुवा नगर्ने हो भने विद्यालय आफैं बन्द हुन्छ,’ फिदिम–१० का वडाध्यक्ष होमराज थाम्सुहाङले भने । प्रधानाध्यापक थाम्सुहाङले आफूमाथिको आरोप असत्य भएको दाबी गर्छन् । ‘तुम्बापोले लिएर आएको सरुवाको सिफारिसमा उल्लेख भएका शिक्षा ऐनका दफा नमिलेकाले हाजिर हुन नदिएको हुँ,’ उनले भने ।

विद्यालयको लेखापरीक्षण नगराएको, अभिभावक भेला नबोलाएको र व्यवस्थापन समिति गठनमा अनिच्छा देखाएको आरोपका विषयमा भने उनी बोल्न चाहेनन् । शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङ सरुवा लिएर गएकी शिक्षिकालाई प्रधानाध्यपकले हाजिर गराउँदिन भन्न नमिल्ने बताए । विवाद समाधानका लागि नगरपालिकाका जनप्रतिनिधि एवं शिक्षा शाखाले अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?