कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'दिप्रुङ चुइचुम्माको स्वास्थ्य कार्यक्रममा अनियमितता'

डम्बरसिं राई

खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिकामा स्वास्थ्यसम्बन्धी कार्यक्रममा अनियमितता भएको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा मातृ तथा नवजात शिशु कार्यक्रम, औषधि तथा सेनिटरी प्याड खरिद लगायतका कार्यक्रममा अनियमितता भएको औंल्याइएको छ । उक्त पालिकामा चार लाख २९ हजार बजेट कामै नगरी फर्छ्योट भएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । 

'दिप्रुङ चुइचुम्माको स्वास्थ्य कार्यक्रममा अनियमितता'

स्वास्थ्य संयोजक मुस्ताक अहमद मन्सुरीले चार लाख २९ हजार सात सय रुपैयाँको खर्चको बिल भर्पाइबेगर फर्छ्योट गरेको महालेखाले औंल्याइएको हो । मन्सुरीले छ लाख ५३ हजार पेश्की लिएकोमध्ये दुई लाख २३ हजार तीन सय रुपैयाँबराबरको मात्र कार्यक्रम गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असार २७ देखि ३० गतेसम्म नवजात शिशु कार्यक्रमसम्बन्धी समीक्षा गोष्ठी तथा नवजात शिशुलाई घरभेट कार्यक्रम गरी वडामा खटिने स्वास्थ्य कर्मचारीलाई खाना, खाजा खर्च स्टेसनरी, झोला र दैनिक भत्ता उल्लेख गरी पेश्की फर्छ्योट गरिएको छ ।

गाउँपालिकाले २०७७ असोज २३ गते यशोधा फर्माबाट सात लाख तीन सय ६० रुपैयाँको औषधि खरिद गरेकोमध्ये ५० हजार चार सय ५५ रुपैयाँको दाखिला हुन बाँकी देखाइएको छ । नौ वटा स्वास्थ्य संस्थालाई औषधि वितरण गरिएको उल्लेख गरिए पनि लेखा परीक्षण समयसम्ममा दुई संस्थाबाट मात्र औषधि पाएको प्रतिवेदनमा उल्लेख छ । कम दाखिला भएको सामग्री सम्बन्धित पक्षसँग ४९ हजार चार सय ५४ रुपैयाँ पनि असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ । स्वास्थ्य संस्थाका प्रमुखसँग मासिक तथा वार्षिक समीक्षासम्बन्धी १२ बैठकमा ९० जना सहभागी भएकामा बढी भुक्तानी भएको दुई लाख छ हजार दुई सय ४० रुपैयाँसमेत असुल गर्नु भनि उल्लेख गरेको छ ।

महालेखाले सेनिटरी प्याड खरिदमा समेत मितव्यायी नभएको औंल्याएको छ । सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क वितरण गरिने सेनिटरी प्याड खरिदमा मितव्यायिता कायम नभएको उल्लेख गरेको छ ।

अभव इन्टरप्राइजेज सातदोबाटोबाट प्रतिथान ८०.३३ रुपैयाँका दरले १५ हजार सात सय आठ थान सेनिटरी प्याड खरिद गर्दा १२ लाख ६१ हजार आठ सय २४ भुक्तानी दिइएको राष्ट्रियस्तरको समाचारपत्रमा बिक्री मूल्य प्रकाशन गरेको भन्दै एउटै आपूर्तिकर्तासँग सम्पर्क गरी सोझै खरिद गरिएको महालेखाले जनाएको छ ।

परिचित ब्रान्डको सेनिटरी प्याड खरिद नगरिएको प्रतिवेदनमा उल्लेख छ । पेश्की लिएर कार्यक्रम नभएपछि आफ्नो नाममा आएको बेरुजु आएको र त्यसबापत चार लाख ९४ हजार रुपैयाँ बुझाइसकेको र बाँकी रहेको रकम पनि छिट्टै बुझाउने मन्सुरीले बताए ।

प्रकाशित : श्रावण २०, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?