३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीमाको हेल्थ डेस्कमा छिर्नै मान्दैनन् आगन्तुक

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमण पुन: बढेपछि भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न जोगवनी नाकामा राखिएको स्वास्थ्य हेल्थ डेस्कमा पस्न हत्तपत्त कोही पनि मान्दैनन् । त्यहाँ खटिएका स्वास्थ्यकर्मी आफैंले एक नम्बर गेटमा पुगेर आगन्तुकलाई डोर्‍याएर ल्याएर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

सीमाको हेल्थ डेस्कमा छिर्नै मान्दैनन् आगन्तुक

जोगबनीको स्वास्थ्य हेल्थ डेस्कमा असार पहिलो सातादेखि प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटा र विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मी खटिएका छन् । भारतबाट फर्कने नेपाली त झन् स्वास्थ्य परीक्षण गराउन मान्दै मान्दैनन् । स्वास्थ्कर्मी कुन्दनकुमार अमातले भने उनीहरुलाई नाकामा खटिएका सुरक्षाकर्मीको सहकार्यमा डोर्‍याएर ल्याएर एन्टीजेन परीक्षण गर्ने गरिएको छ । उनका अनुसार डोर्‍याएर ल्याउँदा अधिकांश आगन्तुक भाग्छन् ।

प्राय भारतीय नागरिक चाहिँ स्वास्थ्य परीक्षण गराउन हेल्थ डेस्क छिर्छन् । अमातले भने नेपाली नागरिक डेस्कभित्र छिरिहाले पनि आफनो यात्रा इतिहास बताउँदै बताउँदैनन् । जोगवनी नाकाबाट सार महिनामा २ हजार ८ सय १९ भारतीय र ४ सय ६ जना नेपाली नागरिक छिरेका थिए । तीमध्ये १ हजार ५ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा चार भारतीयको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरूलाई काउन्सिलिङ गरेर भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको अर्की स्वास्थ्यकर्मी लक्ष्मी साहले बताइन् ।

साउनको १६ गते सम्म यो नाकाबाट १ हजार ५ सय ८३ भारतीय र ३ सय ३२ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये १ हजार २ सय ८६ जनाको एन्टीजेन परीक्षण गर्दा ३६ जनाको पोजिटिभ रिपोर्ट आएको साहले बताइन् । त्यसमध्ये १६ भारतीय र २० नेपाली छन् । हेल्थ डेस्कले कोरोना मात्र नभएर नाकाबाट प्रवेश गर्नेको मलेरिया, एचआईभी परीक्षण गरेर क्षयरोग परीक्षणका लागि स्याम्पल संकलन पनि गर्दै आएको छ । स्वास्थ्यकर्मी अमातले भने असारमा १ सय ५१ जनाको मलेलिया, ८० जनाको एचआईभी तथा साउनमा १ सय २८ जनाको मलेरिया र ५५ जनाको एचआईभी परीक्षण गरिएको छ ।

नाकाबाट छिरेर हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराउन छिरेका जो कोहीको एन्टिजेन परीक्षण गरिन्छ । त्यसको २० मिनेटमा रिपोर्ट आउँछ । अमातले भने पोजिटिभ आउने भारतीय नागरिकलाई भारतीय सीमा सुक्षा बल (एसएसबी) लाई र नेपाली नागरिकलाई नेपाली प्रहरीलाई जिम्मा लगाएर पठाउने गरिएको छ । अमातका अनुसार डेढ महिनामा एन्टिजेन पोजिटिभ आएका २० भारतीय नागरिकलाई एसएसबीको जिम्मा लगाएर फर्काइएको छ ।

सीमा नाकामा टेन्ट टाँगेर हेल्थ डेस्क राखिएको छ । कमजोर संरचना भएका कारण हेल्थ डेस्कमा तीनपटक चोरी भइसकेको छ । स्वास्थ्यकर्मीका अनुसार डेस्कबाट तीन पटकसम्म बल्ड प्रेसर मोनिटर, मास्क, सेनिटाइजर, पंखा, पाइप र तारलगायतका वस्तु चोरी भएका छन् ।

प्रकाशित : श्रावण २०, २०७९ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?