लालीखर्क बतासे क्षेत्रका होमस्टे सुनसान

कान्तिपुर संवाददाता

पाँचथर — पाँचथरको लालीखर्क र बतासे क्षेत्रमा स्थापना गरिएका होमस्टे (घरबास) चीनमा फैलिएको कोरोना संक्रमणका कारणले पुनः सुनसान देखिएको छ ।

होमस्टे खोलिएको दुई महिना नबित्दै वुहान प्रान्तमा देखिएको कोरोना संक्रमणले नेपालसम्म प्रभाव पारेको व्यवसायीहरूले बताए । अघिल्लै कोरोना कहरले गति लिन नपाउँदै व्यवसाय पुनः सुस्ताएको उनीहरूले पीडा पोखे ।

होमस्टे क्षेत्र रमणीय दृश्यावलोकन र जैविक खानेकुराका लागि चर्चित छ । यहाँबाट विश्वको तेस्रो हिमाल कञ्चनजंघा र कुम्भकर्णसँगै ताप्लेजुङ, तेह्रथुम र संखुवासभासम्मका रमणीय स्थल र आधा दर्जन हिमाल देखिन्छ । यहाँ रैथाने झ्याले आलु, मकै, फापर, कोदो, जौको रोटी, रैथाने कुखुराको परिकार, खुर्पानीको जुसलगायतका परिकारले सत्कार गरिन्छ । आन्तरिक र बाह्य पयर्टकलाई बाससहितको भोजन सुविधा दिन सञ्चालनमा ल्याइएका होमस्टे भाइरस नियन्त्रणका लागि लामो समयसम्म गरिएको बन्दाबन्दीसँगै प्रवर्द्धन तथा प्रचार प्रसारको अभावले उक्सन नसकेको लालीखर्क बतासे सामुदायिक होम स्टेका अध्यक्ष टंक राईले बताए ।

लालीखर्कमा ११ र बतासेमा ६ गरी १७ घरमा सुरु गरिएको यि सामुदायिक होमस्टेहरू जिल्लाकै पहिलो हो । यहाँ २०७६ को असोज १० मा पर्यटन दिवसको अवसर पारेर सुरुवात गरिएको थियो । फिदिम बजार क्षेत्रबाट १० किलोमिटरको दूरीमा रहेका यी होमस्टेमा २०७६ असोजदेखि चैतसम्म आन्तरिक पर्यटकसँगै मेची राजमार्ग भएर ताप्लेजुङस्थित पाथिभरा देवीको दर्शन गर्न जाने यात्रु बाक्लो मात्रामा आएका थिए । २०७७ वैशाखमा लकडाउन गरिएसँगै लडखडाएको यो व्यवसाय पुनः तंग्रिन सकेको छैन ।

‘अहिले आकलझुकल मासिक १०–१२ जनासम्म आन्तरिक पर्यटक आउँछन्,’ सामुदायिक होम स्टेका सचिव चन्द्र राईले भने । यस क्षेत्रका होमस्टे स्थापना एवं प्रवर्द्धनका लागि फिदिम नगरपालिकासँगै वडा २ र ३ ले पनि सहयोग गर्दै आएको छ । आन्तरिक र बाह्य पर्यटकको स्वागतका लागि राई र लिम्बू संस्कृतिमा आधारित ढोल, च्याब्रुङ नाच देखाउने व्यवस्था रहेको व्यवसायीहरूले बताए ।

प्रकाशित : श्रावण १९, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?