सुरुङ खनेर ६ घरमा चोरी

कान्तिपुर संवाददाता

विराटनगर — सीमावर्ती जहदा गाउँपालिका–७ हनुमान टोल सिर्सियाका तालु चुँडे (सन्थाल) ले आइतबार राति घरको सबै कोठाको ढोका बन्द गरेर सुते । सोमबार बिहान उठ्दा ढोकाहरू बन्द नै थिए । तर स्टोर कोठामा पुग्दा घरको गारोमा दुलो परेको देखे । उनले नगद र सुनचाँदी राखेको बाकस खुला देखे । त्यसभित्र राखेको ३० हजार रुपैयाँ र आधा तोला सुन भेटेनन् ।

सुरुङ खनेर ६ घरमा चोरी

उनी बाहिर निस्केर हल्ला गर्न थालेपछि छिमेकी भेला भए । उनको घरको दृश्य हेरेर चोरले सुरुङ खनेर चोरी गरेको सबैले ठम्याए । लगत्तै छिमेकी मालिकलाल सोरेनको घरमा पनि त्यसरी नै चोरी भएको खबर आयो । तालुले भने, ‘छिमेकका अन्य पाँच घरमा पनि सुरुङ खनेर चोरी भएको रहेछ ।’ एक महिना पहिले पनि तालुको घरमा सुरुङ खनेर चोरीको प्रयास भएको थियो । त्यसबेला सुरुङ खनेको चाल पाएर हल्ला गरेपछि चोर भागेको थियो । उनले भने, ‘यसपालि त चोरेरै छाडे छ ।’ यसअघि यही वडाका तीन घरमा सुरुङ खनेर चोरी भएको उनले बताए ।

सन्थाल समुदायमा प्रायः माटोको गारोको घर बनाउने परम्परा छ । यसरी बनाइएका ६ परम्परागत घरमा एकैरात बाहिरबाट सुरुङ खनेर भित्र पसेर चोरी गरेको स्थानीयले बताए । वडाध्यक्ष भगवान मरन्डीका अनुसार ती घरबाट चोरले नगद, गरगहना र जिन्सी सामान लगेका छन् । एकै बस्तीका तालु, मालिकलाल, मुसहरू महतो, सिक्टी महतो, शान्ति बेसार र नारायण बेसारको माटाको घरमा आइतबार राति सुरुङ खनेर चोरी भएको उनले बताए । तत्कालीन भातिगन्ज, जहदा, पोखरिया, सिसवनी, मझारे, महादेवकोल र बुधनगरका केही वडा मिलाएर कायम गरिएको यो पालिकाको करिब ८ किलोमिटर सिमाना भारतसँग जोडिएको छ । यो वडाले तरिगामा र डुमरिया नाका छोएको छ ।

‘दुई दशक पहिला यस क्षेत्रमा भारतीय मूलका डाका आई लुट र आतंक मच्चाएर जान्थे,’ वडाध्यक्ष मरन्डीले भने, ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट राखेपछि चोरीडाँकाको घटनामा न्यूनीकरण भएको थियो ।’

माटाको घर पानीले भिजेर खन्न सजिलो भएपछि चोरले मौका छोपेको प्रहरी चौकी जहदाका सहायक निरीक्षक प्रकाश कार्कीले बताए । चोरले केही नगद र गरगहना लगेको पाइएको उल्देख गर्दै कार्कीले भने, ‘दुर्व्यसनीमा लागेका केही स्थानीय युवकको संलग्नताको आशंका गरिएको र खोजी भइरहेको छ ।’

प्रकाशित : श्रावण १८, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?