अक्षर सुधार्न प्रतियोगितात्मक कक्षा- प्रदेश १ - कान्तिपुर समाचार

अक्षर सुधार्न प्रतियोगितात्मक कक्षा

केही विद्यालयले काठमाडौंबाट प्रशिक्षक झिकाएर राम्रा अक्षर लेख्न थाले अभ्यास
लक्ष्मी गौतम

पाँचथर — जमाना यस्तो पनि थियो जतिबेला टाढा रहेका आफन्तलाई सुखदुःखका खबर पठाउन कागजका पानामा कलम वा सिसाकलमले पत्र लेख्नै पर्थ्यो । सरकारी कामकाजमा निवेदन दिन, रकम वा जग्गाको लेनदेनको कपाली तमसुक बनाउन हातले लेख्नुबाहेक अरू विकल्प थिएन ।

प्रेमीप्रेमिकाले कलात्मक ढंगबाट लेखिएका अक्षरको त झनै ठूलो महत्त्व हुन्थ्यो । सुन्दर प्रेमपत्रको चर्चा नै हुन्थ्यो । अड्डाअदालतमा नेपाली कागजमा लेखिने वादी–प्रतिवादीदेखि मान्छेको टिपचिना हुँदै व्यक्ति–व्यक्तिको लेनदेनका कपाली तमसुक लेख्न राम्रा अक्षर भएकाको खोजी हुन्थ्यो । हो, त्यही भएर स्कुल–कलेजका विद्यार्थीसँगै गाउँलेबीच अक्षर राम्रा लेख्न होडबाजी चल्थ्यो । राम्रो अक्षर लेख्नेहरू सबैका प्रिय हुन्थे । विद्यालयकालमा त अक्षरको महत्त्व धेरै हुन्छ ।

राम्रो अक्षर लेख्नेले अरूभन्दा परीक्षामा अंक धेरै पाउँछन् भने उत्तर पुस्तिका जाँच गर्ने परीक्षकलाई कलात्मक अक्षर लेखिएका कापी हेर्न जाँगर चल्छ । पछिल्लो समय प्रविधिको विकाससँगै छात्रछात्रामा पनि लेख्दै पढ्ने बानी हरायो । विद्यार्थीसँगै शिक्षकले पनि राम्रा अक्षर लेख्नलाई प्राथमिकता दिन छाडे ।

कोरोना भाइरसको संक्रमण बढेपछि गरिएका लकडाउनपछि विद्यार्थीका हातहातमा पुगेका मोबाइल र ल्यापटप जस्ता आधुनिक विद्युतीय उपकरणले लेखन सिर्जनशीलतामा ह्रास आयो । यसले लिखित परीक्षामा प्राप्त हुने नतिजामा समेत प्रत्यक्ष प्रभाव पार्ने महसुस गर्दै पाँचथरका केही विद्यालयले उपाय निकाल्दै प्रशिक्षक झिकाएर हस्तलेखन सुधार्ने अभियान चलाएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै विद्यालयहरूले काठमाडौंबाट प्रशिक्षक झिकाएर राम्रा अक्षर लेख्न अभ्यास सुरु गरेका हुन् । अभियानमा शिक्षक एवं विद्यार्थीलाई अक्षर सुधार्न तालिम दिइँदै छ । नयाँ नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी मिश्र ०७७ मा पहिलो पटक लकडाउन भएर लामो समय स्कुल नलाग्दा विद्यार्थीमा लेख्ने अभ्यास निकै पछाडि धकेलिएको अनुभव सुनाउँछन् । ‘घर बस्दा किताबकापी र कलमको ठाँउमा मोबाइल, ल्यापटप र ट्याब्लेटमा रमाउने बानी बस्यो, अनलाइन कक्षा सुरु भएपछि म्यासेन्जर, भाइबर र इमो जस्ता सामाजिक सञ्जालमार्फत च्याट गर्ने प्रविधिले लेख्ने अभ्यास झनै ओझेलमा पर्‍यो,’ उनले भने, ‘लामो समयको अन्तरालमा भौतिक कक्षा सुरु हुँदा विद्यार्थीका अक्षर बिग्रिइसकेका थिए ।’

मिश्रका अनुसार अक्षरको प्रभाव सबैखाले लिखित परीक्षासम्म पर्ने देखिएपछि कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी र शिक्षकका लागि अक्षर सुधार्ने तालिम चलाको आवश्यकता महसुस भएको हो । उक्त विद्यालयका ५ सय विद्यार्थीसँगै त्यहाँ कार्यरत ३१ शिक्षक शिक्षिकाले नेपाली र अंग्रेजीका अक्षर सुधार्ने कला सिकेका छन् । उनका अनुसार विद्यार्थीलाई मात्रै सिकाएर छोड्दा प्रभावकारी नहुने देखिएकाले शिक्षकलाई पनि अक्षर लेख्ने तरिका सिकाइएको हो । अहिले फिदिमकै विद्यावरदान इङ्लिस स्कुलले पनि शिक्षक र विद्यार्थीलाई एउटै कक्षामा राखेर अक्षर सुधार्ने कलाको प्रशिक्षण दिइरहेको छ ।

यसअघि पाँचथरकै फाल्गुनन्द र याङवरक गाउँपालिकाका २–२ तथा ताप्लेजुङको सिनाम माध्यमिक विद्यालयमा अक्षर सुधार्ने कक्षा सञ्चालन भइसकेको छ । यहाँका विद्यालयमा काठमाडौंको रेसियोसिनेसन एजुकेसनल ट्रेनिङ सेन्टरबाट आएका चार प्रशिक्षकले तालिम दिँदैछन् । प्रशिक्षक विश्वराम केसीले नेपाली अक्षर लेख्न वर्णको समूह र अंग्रेजी विषयका लागि प्याट्रन बेस वा ढाँचा आधारमा रहेर लेख्न सिकाइने बताँउछन् । यसरी सिकाउँदा ७ देखि १० दिनमा जस्तोसुकै कमजोर विद्यार्थीले पनि अक्षर सपार्ने उनको दाबी छ ।

फिदिमको नमुना माविका कक्षा १० कि छात्रा उमा राइले आकर्षक र राम्रा अक्षर लेख्न सिक्न पाउँदा आत्मविश्वास बढेको बताउँछिन् । ‘व्यवस्थित ढंगबाट कसरी लेख्ने थाहा थिएन, आफूअनुकूल जथाभावी लेख्थ्यौं, अब अंग्रेजी र नेपालीका अक्षर कसरी लेख्ने ? जानकारीसहित पर्याप्त अभ्यास गर्ने मौका पाएकाले धेरै नै सुधार भयो,’ उनले भनिन्, ‘अक्षर सुधार्ने कक्षामा सहभागी हुनु अगाडिका कापी पल्टाँउदा आफैंलाई लाज लाग्छ ।’

अंग्रेजी र नेपालीमा लेख्ने फरक–फरक नियम भए पनि यसअघि त्यसबारे आधारभूत जानकारी नपाउँदा राम्रा अक्षर लेख्न नसकेको उक्त विद्यालय कक्षा ९ का परिणाम भण्डारीले बताए ।

प्रकाशित : श्रावण १८, २०७९ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्

सुरुङ खनेर ६ घरमा चोरी

कान्तिपुर संवाददाता

विराटनगर — सीमावर्ती जहदा गाउँपालिका–७ हनुमान टोल सिर्सियाका तालु चुँडे (सन्थाल) ले आइतबार राति घरको सबै कोठाको ढोका बन्द गरेर सुते । सोमबार बिहान उठ्दा ढोकाहरू बन्द नै थिए । तर स्टोर कोठामा पुग्दा घरको गारोमा दुलो परेको देखे । उनले नगद र सुनचाँदी राखेको बाकस खुला देखे । त्यसभित्र राखेको ३० हजार रुपैयाँ र आधा तोला सुन भेटेनन् ।

उनी बाहिर निस्केर हल्ला गर्न थालेपछि छिमेकी भेला भए । उनको घरको दृश्य हेरेर चोरले सुरुङ खनेर चोरी गरेको सबैले ठम्याए । लगत्तै छिमेकी मालिकलाल सोरेनको घरमा पनि त्यसरी नै चोरी भएको खबर आयो । तालुले भने, ‘छिमेकका अन्य पाँच घरमा पनि सुरुङ खनेर चोरी भएको रहेछ ।’ एक महिना पहिले पनि तालुको घरमा सुरुङ खनेर चोरीको प्रयास भएको थियो । त्यसबेला सुरुङ खनेको चाल पाएर हल्ला गरेपछि चोर भागेको थियो । उनले भने, ‘यसपालि त चोरेरै छाडे छ ।’ यसअघि यही वडाका तीन घरमा सुरुङ खनेर चोरी भएको उनले बताए ।

सन्थाल समुदायमा प्रायः माटोको गारोको घर बनाउने परम्परा छ । यसरी बनाइएका ६ परम्परागत घरमा एकैरात बाहिरबाट सुरुङ खनेर भित्र पसेर चोरी गरेको स्थानीयले बताए । वडाध्यक्ष भगवान मरन्डीका अनुसार ती घरबाट चोरले नगद, गरगहना र जिन्सी सामान लगेका छन् । एकै बस्तीका तालु, मालिकलाल, मुसहरू महतो, सिक्टी महतो, शान्ति बेसार र नारायण बेसारको माटाको घरमा आइतबार राति सुरुङ खनेर चोरी भएको उनले बताए । तत्कालीन भातिगन्ज, जहदा, पोखरिया, सिसवनी, मझारे, महादेवकोल र बुधनगरका केही वडा मिलाएर कायम गरिएको यो पालिकाको करिब ८ किलोमिटर सिमाना भारतसँग जोडिएको छ । यो वडाले तरिगामा र डुमरिया नाका छोएको छ ।

‘दुई दशक पहिला यस क्षेत्रमा भारतीय मूलका डाका आई लुट र आतंक मच्चाएर जान्थे,’ वडाध्यक्ष मरन्डीले भने, ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोस्ट राखेपछि चोरीडाँकाको घटनामा न्यूनीकरण भएको थियो ।’

माटाको घर पानीले भिजेर खन्न सजिलो भएपछि चोरले मौका छोपेको प्रहरी चौकी जहदाका सहायक निरीक्षक प्रकाश कार्कीले बताए । चोरले केही नगद र गरगहना लगेको पाइएको उल्देख गर्दै कार्कीले भने, ‘दुर्व्यसनीमा लागेका केही स्थानीय युवकको संलग्नताको आशंका गरिएको र खोजी भइरहेको छ ।’

प्रकाशित : श्रावण १८, २०७९ ११:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×